arrow

डोटी र बागलुङमा मङ्गलवार रातिबाट १० दिनका लागि निषेधाज्ञा

logo
रासस,
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
lockdown-rupandehi.gif
तस्बिर : फाइल

डोटी। जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि मङ्गलवार राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ। कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले मङ्गलवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ। अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरू सिधै गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन्।

बागलुङमा आजदेखि निषेधाज्ञा
बलेवा–कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा मङ्गलवारदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेपछि निषेधाज्ञा जारी भएको हो।

समितिको निर्णय अनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ। यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए। निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन्। कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भिडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ।

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु
बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। जिल्लाको ताराखोला गाउँपालिकाका ३० बर्सिया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो। श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ