- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धनगढी एफसी पहिलो पटक नेपालमा भइरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । बुधबार बेलुकी भएको खेलमा पोखरा थण्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुग्दै प्लेअफ सुरक्षित गर्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । पोखराले एकतर्फी आक्रमण गरे पनि गोल गर्न नसक्दा हारबाट जोगिन सकेन । खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै धनगढीलाई जिताएका हुन् । डिबक्स भन्दा बाहिरबाट दर्शनले उत्कृष्ट हाफ भली गोल गरेका थिए ।
खेलमा धनगढीका कप्तान एवं गोलकिपर किरण चेम्जोङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए । उनले १० हजार प्राप्त गरे ।
यो जितपछि शीर्ष स्थानमा रहँदै धनगढी प्लेअफमा पुगेको हो ।
७ टिम सहभागी प्रतियोगिताका शीर्ष चार टिम प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टिमले क्लालिफायर खेल्नेछन् ।
जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले तेस्रो र चौथो स्थानमा रहेका टिमले इलिमिनेटर खेलेर जितेकासँग दोस्रो क्वालिफायर खेल्नेछ । फाइनल खेल जेठ १ गते हुनेछ ।
धनगढीको ५ खेलमा १० अंक भएको छ । पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
४ खेलबाट ७ अंकको विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स ७ अंकबाटै तेस्रो स्थानमा छ ।
बुटवल लुम्बिनी एफसी ५ अंकबाट चौथो स्थानमा छ ।
ललितपुर सिटी एफसी ३ अंकबाट छैटौं स्थानमा छ ।
एफसी चितवन २ अंकबाट पुछारमा छ ।