- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २७ गते सोमबार संसदबाट आफ्नो सरकारको विश्वासको मत लिँदैछन् । उनलाई विपक्षीहरुले दबाब दिएर नभई यसपालि आफैले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि ओलीले एकाएक विश्वासको मत लिन लागेपछि सशंकित हुनेहरु धेरै छन् । विशेष गरी विपक्षीहरुले ओलीले फेरि संसद विघटन गर्ने नयाँ चाल चाल्न लागेको विश्लेषणसमेत गरिरहेका छन् ।
तर प्रधानमन्त्री ओलीका विदेश सल्लाहकार डा. राजन भट्टराई भने विश्वासको मत लिन नसके प्रधानमन्त्रीले राजीनामा दिने बताउँछन् । उनले मिडियासँग भने, ‘‘प्रधानमन्त्रीले सके विश्वासको मत लिनुहुन्छ नसके राजीनामा दिनुहुन्छ’ ।
प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमै दलबलसहित गएर समर्थन मागेका छन् । यसबारेमा डा. भट्टराई भन्छन्, ‘यो संविधान हामीले मिलेर ल्याएका हौं । यसको संरक्षण गरौं भनेर सहकार्यका लागि कांग्रेस सभापतिसँग भेट्न गएका हौं । हामी राष्ट्रिय अखण्डताका विषयमा एक भएर उभिनुपर्छ भनेर कांग्रेससँग गएका हौं ।’
के भने त ओलीले देउवासँग ? भट्टराई भन्छन्, ‘प्रधानमन्त्री ज्यूले विश्वासको मत दिन सक्नुहुन्छ दिनुस् नदिए पनि मैले विश्वासको मत लिन्छु भनेर आएको हुँ भनेर भन्नुभयो ।’
उनले कांग्रेससँगको सहकार्य विश्वासको मत लिनमात्र हैन राष्ट्रिय मुद्दाहरुमा सँगसँगै जान सकिने बताए । उनले भने, ‘विश्वासको मत नपाए निर्वाचनमा जान कांग्रेस तयार हो कि हैन ? यो धारणा पनि बुझ्नु जरुरी छ । त्यो कुरा बुझ्नका लागि प्रधानमन्त्रीज्यू जानुभएको हो ।’
उनले माधव नेपाल पक्षका २७ सांसदले राजीनामा दिनेबारेमा आफूलाई विश्वास नभएको बताए । उनले भने, ‘उहाँहरुका धेरै सदस्यहरु उहाँकै पक्षमा हुनुहुन्न । उहाँका केही साथीहरु हामीसँगै संवादमा हुनुहुन्छ ।’
ओलीले विश्वासको मत लिन लागेपछि विपक्षी दलहरु एकढिक्का हुने प्रयासमा छन् । तर ओलीले विश्वासको मत लिन नसके राजीनामा दिएर फेरि अर्ली इलेक्सनमा जाने धारणा बनाएको डा. भट्टराईको भनाईबाट पनि बुझ्न सकिन्छ ।