arrow

सरकार ढाल्ने खेलकै बीचमा केपी ओली र माधव नेपालबीच खुसुक्क टेलिफोन वार्ता

माधव पक्षको 'सामूहिक आत्महत्या' को प्रसङ्गले ओली पक्षमा भूकम्प

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg
तस्बिर : फाइल

काठमाडौँ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रका स्थायी प्रतिपक्षी वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पेलेरै जाने नीति अख्तियार गरे पनि अन्ततः संवादमा जुटेका छन्। दुई साता अघि ओलीले नेता नेपालसँग भेटेरै छलफल गरेको भए पनि सार्थक परिणाम आउन नसकेपछि संवाद टुटेको थियो। तर दुई दिन अघि ओली आफैले नेता नेपाललाई फोन गरेर संवादका लागि आग्रह गरेका हुन्। उनले पार्टीको विवादलाई अहिलेको परिस्थितिमा थाती राखौँ मिलेर जाऔँ भन्दै फोन गरेका थिए।

एमाले उच्च स्रोतका अनुसार निकै दबाबमा रहेका ओलीले नेपाललाई भेट्न बालुवाटार बोलाएका थिए। तर नेपालले अहिले भेटघाट गर्नुको औचित्य छैन भन्ने जवाफ फर्काउँदै पहिला फागुन २८को निर्णय सच्याएपछि मात्रै कुराकानी तथा भेटघाट गरौँ भनेका थिए। जवाफमा ओलीले यो विषयमा भेटेरै कुराकानी गरौँ भन्दै फेरी पनि भेटघाटको प्रस्ताव राखेका थिए।

‘ओलीले फोन गर्नुभएको रहेछ तर नेपालले बालुवाटार आउँदिन र अहिले भेटघाटको औचित्य छैन भन्नुभएछ’, नेपाल निकट स्रोतले भन्यो। स्रोतका अनुसार एमाले अध्यक्ष ओलीलाई आफ्नै नेताहरूले नेपाल पक्षसँग कुराकानी गरेर विवाद मिलाउन दबाब दिएपछि ओलीले नेपाललाई फोन गरेका थिए। ओलीजीले फोन गरेर भेटौँ भनेका थिए मैले फागुन २८गते बसेको बैठकले के के निर्णय गरेको छ त्यसलाई सच्याउने र २०७५ साल जेठ २ गतेको अवस्था पार्टीको बैठक राखौँ जे जे निर्णय गर्ने हो त्यहीबाट गरौँ भनेर भनेको छु फेरी पनि भेटेरै कुराकानी गरौँ भनेका थिए फोस्रो बसाई काम छैन भने’, नेपालले आफू निकटका नेताहरूसँग भनेका थिए। दुई दिन अघि गरिएको फोन संवादपछि पुन अर्को फोन संवाद भने भएको छैन।

तर ओली पक्षले नेताहरूले नेपाल पक्षका नेताहरूसँग कुराकानी भने गरिरहेका छन्। उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा विभिन्न कोणबाट छलफल गरे पनि सार्थक परिणाम हासिल हुन सकेको छैन।

नेपाल पक्षका सांसदहरूले सांसद पदबाट सामूहिक राजीनामा दिएर ओली सरकार जसरी पनि ढाल्ने नीति लिएपछि भने बालुवाटार मा भुईँचालो गएको थियो। ओलीले निशर्त: मत दिनुपर्ने भन्दै नेपाल पक्षका सांसदहरूसँग कुराकानी अघि बढाए पनि नेपाल पक्षका सांसदहरूले सामूहिक आत्महत्याको निर्णय भैसकेको छ यसमा कुनै पनि प्रकारको कम्प्रोमाइज हुँदैन फागुन २८ नै सबैको बटम लाइन हो भनेपछि ओली पक्ष झन् बढी सशङ्कित भएको थियो।

त्यसै बेला लुम्बिनी प्रदेशमा ओली पक्षकै नेताहरूले धोका दिएपछि भने बालुवाटारमा नेपाल पक्षका नेताहरूलाई पार्टी भन्दा बाहिर राखे झन् खतरा हुने भन्दै विवाद मिलाउन पहलकदमी लिन ओलीलाई दबाब दिइएको थियो।

माधव नेपाल पक्षले ओलीलाई यही क्रममा अन्तिम धक्का दिने गरी रणनीति अख्तियार गरेको छ। बुधवार मात्रै नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा सँग सङ्घीय निर्वाचनसम्म नै सहकार्य गर्ने गरी राष्ट्रिय सभाको सांसदको उम्मेदवारमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि ओली पक्ष झन् अप्ठ्यारोमा परेको छ।

ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा उम्मेदवार बनेका छन्। तर एमालेको नेपाल पक्षले असहयोग गर्ने र आफ्नै उम्मेदवारलाई काँग्रेस, माओवादी र जसपाको एउटा पक्षको साझा उम्मेदवारको रूपमा उठाएपछि ओली पक्ष जसरी पनि नेपाल पक्षसँग संवादको चरणमा पुगेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ