arrow

स्वास्थ्य मन्त्रालयको विवादास्पद निर्णयले अस्पतालहरूमा अक्सिजन अभाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
health-ministry.jpeg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको निर्णयले अस्पतालहरूमा अक्सिजनको अभाव हुने भएको छ । शनिवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गरेका थिए ।

उक्त सूचनामा मन्त्रालयको सिफारिस बिना कुनै पनि सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री नगर्न उत्पादक कम्पनीहरू निर्देशन दिइएको छ ।

यो सूचनासँगै यसअघि निरन्तर रूपमा अक्सिजन आपूर्ति गरिरहेका अस्पतालहरूमा अक्सिजनको आपूर्ति रोकिएको छ भने, संक्रमितहरूको अवस्था गम्भीर हुँदै गएको छ ।

शनिवार मात्रै काठमाडौँको चार वटा अस्पतालहरूले अक्सिजनको अभावका कारण थप संक्रमितको उपचार गर्न नसकिने भन्दै विज्ञप्ति जारी गरेका थिए । यसमा मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल र रिसर्च सेन्टर र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पताल रहेका थिए ।

मन्त्रालयको एकतर्फी निर्णयले अस्पतालहरूलाई समस्यामा पारेको मेडिकेयर अस्पतालका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देलको भनाइ छ । दैनिक ४० देखि ५० सिलिण्डर अक्सिजन आवश्यक रहेको मेडिकेयर अस्पतालमा अहिले १५ सिलिण्डर मात्रै रहेको र संक्रमितहरूले थप अक्सिजन पाउन नसक्दा ज्यान गुमाउने अवस्था आएको उनको भनाइ छ ।

मेडिकेयर अस्पतालले बालाजु औद्योगिक क्षेत्रबाट अक्सिजन आपूर्ति गर्ने गरेको तर, आज भने उद्योगले मन्त्रालयको सिफारिसबिना अक्सिजन आपूर्ति गर्न नसकिने भनेपछि अक्सिजनको अभाव भएको उनको भनाइ छ ।

यस्तो सङ्कटको बेला पक्ष विपक्ष नभनेर सबै मिलेर काम गर्नु पर्ने अवस्थामा मन्त्रालयको निर्णयले उपत्यका सङ्कट निम्तिने उनको भनाइ छ ।मन्त्रालयले गरेको यो निर्णयका बारेमा थप बुझ्न पटक पटक हाम्रा कुराले सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । 

केही दिन यता अक्सिजनको माग बढ्दै गएपछि हुन सक्ने कालोबजारीलाई ध्यानमा राख्दै मन्त्रालयले यस्तो निर्णय गरेको भए पनि यसले अस्पतालहरूलाई सोझै समस्या उत्पन्न गराएको छ ।

अक्सिजनको आपूर्तिका लागि अस्पतालहरूले मन्त्रालयमा पत्र पठाउन पर्ने र त्यसपछि मन्त्रालयले स्वीकृति दिएपछि मात्रै सीमित मात्रामा अक्सिजन पाउने अवस्था सिर्जना भएपछि अस्पतालहरूलाई समस्या सिर्जना भएको हो ।

यद्यपि उपत्यकामा कोभिड१९ का संक्रमितको उपचार गरिरहेका सबै अस्पतालहरूलाई चाँडै नै स्वीकृति दिएर अक्सिजन आपूर्तिको व्यवस्था मन्त्रालयले मिलाउँछ भने यो निर्णयले अक्सिजनको कालोबजारीलाई रोक्न सक्ने छ । 

तर, निर्णयलाई कडाइ गरियो र केही अस्पतालमा मात्रै केन्द्रित भएर अन्य अस्पताललाई अक्सिजन दिइएन भने ठुलो सङ्कट निम्तिने सरोकारवालाहरूको भनाइ छ ।

सरकारले यस्तो निर्णय गरेपछि विभिन्न अस्पताल एवं सङ्गठनहरूले या सरकार आफैले सबै संक्रमितको उपचारको जिम्मा लिनु पर्ने या सबैलाई समान रूपमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन् ।

वैशाख २४ गते मात्रै भक्तपुरको कौशलटार स्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमितको अक्सिजन सकिएपछि मृत्यु भएको थियो ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ