arrow

स्याङ्जामा कोरोनाबाट १८ जनाको मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
syangja-coroan-death.jpg

स्याङ्जा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । वैशाखको दोस्रो साता देखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो । 

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार १३ जना पुरुष र ५ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पहिलो कोरोना संक्रमणबाट २१ ज्यान गुमाएका थिए । स्याङ्जामा दोस्रो लहरको संक्रमण सुरु भएको एक महिनामै मृतकको सङ्ख्या बढ्नुले जिल्लावासीमा त्रासको वातावरण सिर्जना भएको छ । 

११ स्थानीय तह रहेको स्याङ्जामा सबै भन्दा बढी संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा निधन भएको छ । गल्याङ्मा संक्रमितको सङ्ख्या थोरै भए पनि मृत्यु हुनेको सङ्ख्या भने अन्य पालिकाको भन्दा बढी रहेको छ भने वालिङमा संक्रमितको सङ्ख्या अन्य पालिकाको भन्दा बढी रहेको छ । वालिङमा मात्रै संक्रमितको सङ्ख्या १ सय ९४ पुगेको छ ।

 संक्रमितको सङ्ख्यामा वालिङ पछिको पुतली बजार र चापाकोट नगरपालिका रहेका छन् । जिल्लामा हाल सम्म ६ सय २८ संक्रमित सङ्ख्या पुगेको छ । ती मध्ये १६ जनाले कोरोना संक्रमण जितेर निको भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त प्रमुख विष्णु प्रसाद सुवेदीले जानकारी दिए । 

गत वर्षको भन्दा संक्रमणको दर यो पटक दोब्बर रूपले बढ्दै गएकाले सबैलाई सुरक्षित भएर घरमै बस्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । गत वर्ष ८ महिनामा करिब ९ सय संक्रमित भएको जिल्लामा यो पटक वैशाख महिनामै ६ सय २८ संक्रमितको सङ्ख्या पुग्नुले समुदायमा भयावह स्थिति हुन सक्ने आकलन स्वास्थ्य विज्ञहरूको छ । 

जिल्लामा मृत्यु भएका मध्ये १६ जनाको पोखरा र २ जनाको जिल्लामै निधन भएको छ । जिल्लामै निधन भएका संक्रमितको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ