arrow

के एल दुगड समूहको सहयोगमा दैनिक चार सय जनालाई खाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
kl-dugra-lunch.jpg

नेपालगन्ज। नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरूलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न के एल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ।

कोरोना सङ्क्रमित र उनीहरूको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो।

बाँके र यस आसपासको जिल्लाहरूबाट आएका सङ्क्रमित र तिनका कुरुवा आफन्तहरूलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवी ले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन्।

प्रत्येक दिन बिहान २ सय जना र बेलुका २ सय जना सङ्क्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको कार्यक्रमको शुभारम्भमा अशोक कोइरालाले बताए।

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटेल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानीसमेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलायौँ’ कोइरालाले भने।

सहुलियत खाना कार्यक्रममा प्रति छाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र सङ्क्रमितहरूका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ।

कार्यक्रममा दुई महिनालाई आवश्यक पर्ने खाद्यान्न के एल दुगड समूह ले सहयोग गरेको छ भने अन्य आवश्यक सामाग्री नेपालगन्जस्थित अन्य उद्योगी व्यवसायीहरूले सहयोग गरेका छन्।

सङ्क्रमित र सङ्क्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको के एल दुगड ग्रुपका प्रबन्धक प्रदीप छाजेडले बताए।

‘सङ्क्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानीय समाजसेवी तथा नेता साथीहरूले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौँ भन्यौँ’ छाजेडले भने।

बाँके र यस आसपासबाट आएका सङ्क्रमित तथा सङ्क्रमितका कुरुवाहरूले खाना, नास्ता र पानीसमेत नपाउँदा समस्या भोग्न बाध्य थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ