- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कोरोना भाइरस संक्रमणबाट बुधवार तनहुँमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चार जना पुरुष एक महिला छन् । मृत्यु हुनेमा भानु नगरपालिका वडा नं. ४ का ७१ वर्षका पुरुष रहेका छन् । जेठ २ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
यस्तै, भानु नपा १२ की ६५ वर्षकी महिलाको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको छ । वैशाख २२ गते कोरोना संक्रमण भएर उपचारकै क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसै गरी बन्दीपुर गाउँपालिका वडा नं. २ का पुरुषको भरतपुर अस्पतालमा, व्यास नगरपालिका वडा नं. १ का ४१ वर्षका युवकको चितवन मेडिकल कलेज, सुक्ला गण्डकी नगरपालिका वडा नं. ५ का ८१ वर्षका पुरुषको तनहुँकै जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताइन्छ । योसहित कोरोना संक्रमणबाट तनहुँमा मृत्यु हुनेको सङ्ख्या ४८ जना पुगेको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा तनहुँमा २१ जना महिला र ३५ जना गरी ५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै तनहुँमा कूल संक्रमितको सङ्ख्या २२ सय २४ जना पुगेको छ । तनहुँमा १६ सय २६ जना संक्रमित निको भएर ५५० जना सक्रिय अवस्थामा छन् ।