arrow

ओली–विद्या गठबन्धनलाई सधैंको निम्ति परास्त गरौं – नेविसंघ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लोकतन्त्र र संविधानको रक्षार्थ निर्णायक संघर्ष गर्न आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गठबन्धनलाई सधैंका लागि परास्त गरौं भनेको छ । 

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको अपवित्र गठबन्धनलाई परास्त गर्न आग्रह गरेका हुन् । नेविसंघले विज्ञप्तिमा भनेको छ, ‘कोरोना महामारीका कारण देश आज भयावह स्थितिबाट गुज्रिरहेको छ । दिनहुँ हजारौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन्, सयौंको संख्यामा नेपाली जनता मरिरहेका छन् ‌। सम्पूर्ण नेपाली जनता या त संक्रमित भएर या त संक्रमणको डर र त्रासले निस्सासिदै, छट्पटिदै २४ ऐ घण्टै आफ्नो घरभित्र बस्न वाध्य भएका छन् । यस्तो विकराल अवस्थामा देशको सरकार अरु सबै काम छोडी २४ सै घण्टा नेपाली जनताको जीवन रक्षाका निम्ति केन्द्रीत भएर लाग्नु पर्नेमा वर्तमान ओली सरकार कसरी सत्तामा टिकिरहने र सत्ताको आयु लम्ब्याइरहने भन्ने एक सूत्रीय अभियानमा लागि रहनु सबै नेपालीका निम्ति दुर्भाग्यपूर्ण र बिडम्वनापूर्ण छ ।’

नेविसंघले भनेको छ, ‘अझ संविधानको संरक्षक तथा राष्ट्रकै अभिभावक राष्ट्रपतिसमेत जनता बचाउने महान्् कार्यमा लाग्नुको सट्टा कुर्सी बचाउने तुच्छ कार्यमा ओलीको कारिन्दाको रुपमा लाग्नु नेपाली जनताको निम्ति लज्जा र आक्रोशको विषय हो । जनताको जीवन रक्षा गर्ने मूल दायित्वलाई चटक्कै बिर्सिदै तथा लोकतन्त्र र संविधानलाई कमजोर पार्दै ओली सत्ताको आयु लम्ब्याउन प्रधानमन्त्री र राष्ट्रपतिबाट भएका असंवैधानिक गतिविधिको नेविसंघ घोर भत्सर्ना र निन्दा गर्दछ ‌‌।’ 

अगाडि विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत लिन असफल भएमा वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति राष्ट्रपतिले आह्वान गर्नु पर्नेमा सो नगरी प्रधानमन्त्रीको इशारामा उपधारा ५ बमोजिमको सरकार गठनको आह्वान गर्नु ठाडै असंवैधानिक छ । बहालवाला प्रधानमन्त्रीले राजीनामा नदिइ वा पदमुक्त नभइ, प्रधानमन्त्रीबाट अनुरोध भइ आएकोले भनी २४ घण्टाकोसमेत समय नदिइ नयाँ सरकार गठनको आह्वान गर्ने घटनाक्रम भित्रको षडयन्त्रलाई अब हामीले परास्त गर्नै पर्छ ‌।’

अन्त्यमा नेविसंघले आह्वान गर्दै भनेको छ, ‘अब हामी अल्मलिन पर्ने समय छैन । कुरा प्रस्ट छ – आफू प्रधानमन्त्री बनेकै मितिदेखि लोकतन्त्र र संविधान कमजोर बनाउन लागेका केपी ओली अब संसद भंग गर्दै संविधान पनि फाल्न उद्धत छन् । आफ्नो सत्ताको आयु लम्व्याउन जे सुकै गर्ने ओलीको कदममा आँखा चिम्लेर साथ दिने कारिन्दाको रुपमा राष्ट्रपति प्रस्तुत भएकी छिन् । त्यसैले लोकतन्त्र र संविधानको रक्षार्थ फेरि निर्णायक संघर्षको घडी आएको छ । जस्तो सुकै संघर्षको लागि तयार अवस्थामा रहन देश भरिका युवा विद्यार्थी साथीहरुमा आह्वान गर्दछु । आउनोस्, लोकतन्त्र र संविधानको रक्षार्थ ओली विद्या गठवन्धनलाई सधैँको निम्ति परास्त गरौं ।’

नेविसंघका महामन्त्री दीपक भट्टराईले संविधान र लोकतन्त्रको रक्षार्थ सम्पूर्ण लोकतन्त्रवादी एक जुट हुन अब ढिलो गर्नु नहुने बताए । भट्टराईले भने,'यो महामारीमा सरकारले थप सङ्कटलाई निमन्त्रणा गरिरहेको छ र महामहिम राष्ट्रपति केबल केपी ओलीको आदेश पालक मात्र बनिन् संविधानको संरक्षण गरिनन्। संविधान र लोकतन्त्र को रक्षार्थ सम्पूर्ण लोकतन्त्रवादी एक जुट हुन अब ढिलो गर्नु हुँदैन ।' 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ