arrow

सुआरेजले एट्लेटिकोलाई दिलाए ला लिगाको उपाधि, रियाल मड्रिड दोस्रो र बार्सिलोना तेस्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
athletico-madrid-winner-202.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियाल भल्लाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भल्लाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भल्लाडोलिडका ओस्कार प्लानोले एक गोल फर्काए ।

घरेलु मैदानमा शुरुआती अग्रता जोगाउन नसकेपछि भल्लाडोलिड पराजित भयो । ओस्कारले खेलको १८ औं मिनेटमा गोल गरे । कोरेयाले ५७ औं मिनेटमा गोल फर्काए । ६७ औं मिनेटमा सुआरेजले गोल गर्दै जिताए । 

एट्लेटिकोले सात वर्षमा पहिलो उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।

एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड दोस्रो भएको छ । अन्तिम खेलमा भिल्लारियललाई घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गर्दै रियाल मड्रिडले दोस्रो स्थान हासिल गरेको हो । अन्तिम खेलमा एट्लेटिको पराजित भएको भए उपाधि रियाल मड्रिडको पोल्टामा जाने थियो । 

लियोनल मेस्सीको बार्सिलोना तेस्रो भएको छ । लिगको अन्तिम खेलमा आइबरलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना तेस्रो भएको हो । एन्टोइने ग्रेजम्यानले बार्सिलोनालाई ८१ औं मिनेटमा गोल दिलाए । 

अंक तालिका 
एट्लेटिको मड्रिडले ८६ अंकसहित उपाधि जित्दा दोस्रो भएको रियाल मड्रिडले ८४ अंक जोड्यो । तेस्रो भएको बार्सिलोनाले ७९ अंक जोड्यो । 

अन्तिम खेल खेल्न बाँकी छँदै सेभिया ७४ अंकसहित चौथो स्थानमा सुरक्षित छ । रियाल सोसिडाड ६२ अंकसहित पाँचौं हुँदै युरोपा लिगामा छानिएको छ । शीर्ष चारमा रहने टिमले च्याम्पियन्स लिग खेल्न पाउँछन् । 

हुएस्का, रियाल भल्लाडोलिड र आइबर रेलिगेशनमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ