- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ र ७ जेठमा लिएका निर्णयले देशलाई संवैधानिक लोकतन्त्रको विपरीत दिशातिर धकेलिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा टाँसिइरहने मनसायले खेलिएका केही छलछाम, जालझेल र तिनलाई आपत्कालमा जस्तो मध्यरातमा सदर गर्दै छाप लगाइदिने राष्ट्रपतिको भूमिकाका कारण संसद् विघटन मात्र भएको छैन, बरु लोकतन्त्रमाथि जघन्य हस्तक्षेपसमेत भएको छ ।
बेला बखतमा राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको बलात्कार गरेका छन् । पछिल्लो मध्यरातमा गरिएको यो असंवैधानिक कदमले राष्ट्रपति जस्तो अभिभावकीय संस्थाको गरिमा माथि लात हानेको छ । गत २७ वैशाखमा प्रतिनिधिसभाका सदस्यको बहुमतले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास छैन भनिसकेपछि यसलाई संसदीय राजनीतिको सहज खेलका रूपमा लिनुपर्थ्यो तर, उनले संविधानका धारालाई नै अवज्ञा गर्ने दुस्साहस गरे ।
संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वाभाविक रूपमा विश्वासको मत लिने र देशलाई नेतृत्व दिने वैधानिक बाटो अख्तियार गर्नुपर्ने थियो । तर, शपथ लिएको एक साता नबित्दै उनले म विश्वासको मत लिन सक्दिनँ भनेर राष्ट्रपतिलाई लेखेर दिए, तर राजीनामा दिन आवश्यक ठानेनन् । विश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो, तर विधिको शासनलाई उनले सिधै चुनौती दिए । विश्वासको मत लिन नसक्ने गरी आत्मसमर्पण गरी सकेपछि नैतिक आधार सबै गुमाई सकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः अवैधानिक प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने दुस्साहसस गरे र संविधानको हठात् बलात्कार गरिन ।
केही दिनयताका घटना र तिनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले गरेका झेली खेलले देशको लोकतन्त्र र राष्ट्रिय एकतामा गम्भीर आघात पुर्याएको छ ।
संविधानले परिकल्पना नगरेको बाटोबाट धारा ७६ को ५ अनुसार सरकार गठनको आह्वान गर्न भन्दै राष्ट्रपतिलाई अवैधानिक सिफारिस गरे । त्यसलाई वैधानिक बाटोबाट आउनुपर्ने भनेर फिर्ता गर्नुको साटो राष्ट्रपतिले हतार हतार सदर गरी नयाँ सरकार गठनका लागि अत्यन्त अपर्याप्त समयसहित उर्दी जारी गरिन् । यता प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफूलाई सदनले समर्थन गर्ने कुनै सम्भावना नभएकाले अब अरूलाई बाटो छोडेको भन्दै देशवासीलाई सुनाइरहे । लगत्तै अर्को दलको समर्थन आफूलाई छ भन्दै राष्ट्रपतिकहाँ पुगे ।
राष्ट्रपतिले पनि प्रतिनिधिसभाका कायम सदस्यको स्पष्ट बहुमत खुल्ने हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्न पुगेका शेरबहादुर देउवाको प्रस्ताव परीक्षण नै नगरी संसद्मा विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै खारेज गरिदिइन र रातारात असंवैधानिक रूपमा मन्त्रिपरिषद्ले संसद् विघटन गर्न गरेको सिफारिस सदर गरिदिइन् । केही दिनयताका घटना र तिनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले गरेका झेली खेलले देशको लोकतन्त्र र राष्ट्रिय एकतामा गम्भीर आघात पुर्याएको छ ।
संसदीय प्रक्रियाबाटै जाँदा पनि निर्वाचन हुन सक्थ्यो, कार्यवाहक प्रधानमन्त्रीका रूपमा ओलीले नै नयाँ निर्वाचन गराउन सक्थे । कमसेकम संसद्बाट वैकल्पिक सरकार गठन गर्न सम्भव छ कि छैन भन्ने पाटोको परीक्षण हुनपर्थ्यो। कुनै पनि प्रधानमन्त्री या मन्त्रिपरिषद् या राष्ट्रपतिलाई वैकल्पिक सरकार गठनको सम्भावना रहे–नरहेको विषयमा फैसला गर्ने अधिकार संविधानले दिएको छैन । वैकल्पिक सरकार गठनका लागि संविधानले गरेका व्यवस्थाअनुसार सबै संसदीय प्रक्रिया सकिएको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन्छ र नयाँ निर्वाचनको बाटो खुल्छ । तर, राष्ट्रपति विद्या देवी भण्डारीले उनै प्रधानमन्त्रीले रोजेको तानाशाही र कु पथ नै रोज्नु भयो ।
प्रधानमन्त्री ओलीले अहिले जुन बाटो हिँड्न खोजेका छन्, त्यसले नेपालले लोकतान्त्रिक आन्दोलनका माध्यमबाट विगत ७० वर्षमा आर्जन गरेका उपलब्धि खोस्न खोजेको देखिन्छ । उनले निर्वाचन सहज र स्वतन्त्र वातावरणमा हुन दिनेछैनन् भन्ने पनि अहिलेसम्मका क्रियाकलापले पुष्टि गर्छन् । जब कोही दुई घण्टा आफ्नो भनाइमा टिक्दैन, झेली कुरा गर्छ, अहिले एक थोक र एक छिनमा अर्को तर्क गर्छ, संविधान, वैधानिक संस्थाहरू भत्काउँदै हिँड्छ, उसले आफू पराजित हुने निश्चित भएको निर्वाचन गर्छ भनेर विश्वास गर्न सकिन्न । राजनीतिक दल र नागरिक समाजसमेतको पहिलो काम लोकतन्त्रलाई बचाउनु नै हुनुपर्छ । चुनाव त्यसपछि लडे पनि हुन्छ ।
कोरोनाले आतङ्कित बनेको बेला कत्ति पनि सादासयता, संवेदनशीलता नराखीकनै कोरोना पार लगाउनु पर्ने बेलामा झन् उल्टै नागरिकलाई चिढाउने र विचकाउने काम गरेको छ । यति मात्र होइन राजनीतिक अस्थिरताले नागरिकलाई अभिभावकीय भूमिका नै नभएको महसुस भएको छ । यो बेला झनै राजनीतिमा परिपक्वता देखाएर अभिभावकत्व गर्नुपर्ने बेलामा ओली पथको भरण पोषण गर्ने, तानाशाही प्रवृत्तिलाई प्रशय दिने निन्दनीय र गैर लोकतान्त्रिक चरित्र उदागिंत भएको छ ।
प्रधानमन्त्री ओली विश्वासको मत लिन नसक्ने गरी गरिएको आत्मसमर्पण पछि मात्र विपक्षी दल बहुमत सांसदहरूको हस्ताक्षर गरी वैधानिक प्रक्रिया भित्र रहेर सरकार बनाउने दाबी गर्दा उल्टै ओलीको पनि १५३ सङ्ख्या देखाई दुवैको दाबी नपुग्ने झेली गरेर सरकार बन्न नसक्ने विज्ञप्ति निकाले र मध्यरातमा संविधानको घाटी निमोठियो । राष्ट्रपतिको भूमिका व्यक्ति होइन संस्था हो । राष्ट्रपति कुनै दलको होइन । राष्ट्रपति दल भन्दा माथि हो । कुनै दललाई प्रशय र कुनैलाई दललाई निस्तेज गर्ने यो ऐतिहासिक कलङ्कित कार्यबाहेक केही संज्ञा दिन सकिन्न ।
दुइटै झेलीहरूले नागरिक माथिको अपमान र संविधानको बर्खिलापले तानाशाही संज्ञा दिएको छ । बेलायतमा लिखित संविधान छैन तथापि केही जटिलता आए विगतका नजिरहरूको अध्ययन गरिन्छ र सङ्कट मोचन गर्दै देश र जनताका हितमा निर्णय सदर गरिन्छ । तर, यहाँ राष्ट्रपतिको बबन्डर हेर्ने हो भने संविधान माथिको षडयन्त्र मात्र देखिन्छ । संविधानलाई परिष्कृत गर्ने परिमार्जन गर्दै संविधानलाई चिरायु बनाउँदै स्थिरता रोज्नुको सट्टा अस्थिरता र आम नागरिक अपमान मात्र गरेको छ । यसले नेपालको राजनीति थप अन्यौलता, सङ्कट र अँध्यारो गुफातिर धकेलिएको छ ।
यी अनेक झेली अभ्यासले एउटा बाल हटको चरित्रलाई अव यो अवैधानिक र असंवैधानिक कदमका विरुद्ध प्रतिपक्ष दल लगायत संविधानको रक्षार्थ संविधान विद्, आम नागरिक लगायत पार्टी संरचनाले यो अवैधानिक प्रक्रियालाई रोक्न कानुनी र राजनैतिक लगाम लाउनु बाहेकको विकल्प छैन । ओलीले न संविधान परिष्कृत र परिमार्जन गर्न सक्छन्, न जनताको स्वास्थ्य सुरक्षा गर्न सक्छन्, न निर्वाचन गराउन सक्छन् । उनको यो तानाशाही मनोवृत्तिलाई लगाम लगाएर आगामी देशको सुमार्गमा लाग्नु अन्य राजनैतिक दलहरूको जिम्मेवारी देखिन्छ ।
(लेखक नेपाल तरुण दल बैतडीका जिल्ला उपाध्यक्ष हुन । )