- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न. १२ मा एक युवक माथि कुटपिट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष मनकुमार राईको समूहले फिदिम १२ का मन बहादुर न्यौपाने लाई निर्घात कुटपिट भएको हो । डेरी बजारमा ढुङ्गा हानेको भन्दै राईको समूहले न्यौपानेलाई कुटपिट गरेको मन बहादुरका दाइ लाल बहादुर न्यौपाने बताए ।
कुटपिटबाट गम्भीर घाइते भएका न्यौपानेको फिदिम स्थित पाथीभरा अस्पतालमा उपचार सम्भव नभएपछि झापाको कञ्चनजङ्घा अस्पताल लगिएको परिवारजनले जनाएका छन् ।
‘बजारबाट घर फर्कने क्रममा विना कारण लाठी र ढुङ्गाले एक्कासी आक्रमण गरेको न्यौपाने बताए । घटनाको बारेमा स्थानीयले जानकारी गराउँदा उल्टै प्रहरीले मन बहादुरलाई नै कुटपिट गरेको दाइ लाल बहादुर न्यौपाने बताए ।
उक्त घटनाको विषयमा प्रहरीलाई खबर गर्दा प्रहरीले समेत चासो नदिएको घाइतेका दाइ लालबहादुर न्यौपानेले बताए । घटनाको विषयमा पीडित पक्षले समेत जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएका छन् ।
बिना कारण आफ्नो कार्यकर्ता कुटिएको भन्दै नेपाली काँग्रेस फिदिम नगरपालिका १२ वडा समितिले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । दोषीलाई कारबाही गर्न स्थानीय सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको फिदिम १२ का काँग्रेस वडा सचिव सुन्दर आचार्यले बताए ।
यस्तै घटना बारेमा नेकपा फिदिम १२ का वडा अध्यक्ष मन कुमार राईले भने मन बहादुर लगायतका केही युवाहरूले बजारमा ढुङ्गा हानेपछि बजारवासीले मन बहादुरलाई पक्राउ गरी अस्थायी प्रहरी चौकी नाँगिनलाई बुझाएको बताए । मन बहादुरलाई आफूहरुले कुटपिट नगरेको उनले बताए ।
यता यस विषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले मन बहादुर न्यौपाने लगायतका युवाहरूले मादक पदार्थ सेवन गरी बजारमा ढुङ्गा हानेको हुँदा उनलाई नियन्त्रणमा मात्रै गरेको तर प्रहरीले कुटपिट नगरेको बताए ।