arrow

कहिले दुख्ला शासकको मुटु

logo
महेश दत्त भट्ट,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
mahesh-bhatta-article.jpg

बैतडी । “भरिया दाइले बिसाउने भारी”... एल्बम भरिया दाइँमा स्वर दिनु हुने चर्चित लोक गायक मिठो स्वरका धनी विष्णु खत्री र बिमा कुमारी दुराको स्वरमा “भरिया दाइको” एल्बमबाट  पैँचो लिएर दिइएको शीर्षकले भरिया दाइले बिसाउने भारी, सुन माया डाडैको चौतारीले मन गल्दै गरेको गीतको हृदयस्पर्शी भाव मनमा आएपछि यो भावमा म पंतिकारले कलम अघि सारेको हुँ । यो गीतको छायाकंनमा जसरी सत्यघट्नामा आधारित कहालीलाग्दो तस्बिरहरू राखिएका छन् । त्यसै गरी शब्द संयोजनमा सत्य घट्नामा आधारित रहेर मजदुरका  पीडा झल्किने गरी प्रस्तुति गरिएको छ ।
 
छायांकनमा नाम्लोको सहारामा जीवन धानी रहेका भारी बोक्दै गरेका तस्बिर, निस्किरहेको पसिना, हातमा लौरो टेक्दै कम्मरमा फेटो कसेर भारी बोक्दै वृद्ध मानिस लड्दै गरेका तस्बिर, अगाडि घोडामा हिडीरहेका मालिक र पछाडि लहरै भारी बोकी रहेका मजदुरका तस्बिर, थकान मेट्न चौतारीको बसाइ लगायत अभाव झल्किने तस्बिर कैद गरिएका छन् ।  

शब्द संयोजनमा धनी र गरिब बिचको खाडल, मालिक र दास,  गरी बलाई सडक पेटी र मालिकलाई महल, बुढेसकालको साहारा रसी र नाम्लो,  धनी साहुका छोराछोरी विद्यालय जानु र गरी बलाई  के लाउने के खाने पिर हुनु, जीवनभरि मरिमरी काम गर्दा पनि कहिले दिन नफिर्ने, ऋण माथि ऋण नै लागिरहने, साहुको धम्की, सधैँ तेल, डिजेल र पेट्रोलको भाउ बढिरहने तर मजदुरको  पसिना र परिश्रमको भाउ नबढ्ने, लौरी सँग दुःख बिसाउनु, मानिस भएर जन्मे पनि गधाको जस्तो जुनी बिताउनु, कोही सर्वहारा भएर जीवनभरि दुःख पाउने र कोही देश लुट्ने, समानता र अधिकारको लागि सबैले जाग्नुपर्ने पर्ने जस्ता सत्य घट्नामा आधारित देखेका तस्बिर र सुनेका भावनाहरू, मुटु गलिरहेका, थाकेका मजदुर, गरिब र किसानहरूको कहालीलाग्दो कथा  र रन्थनिएको सरकारका बारे केही अंश अघि सारेको छु । 

हाम्रो मन, मुटु दुख्यो तर शासकको मन मुटु कहिल्यै दुखेन । संविधानमा समाजवाद र समानताका शब्दहरू लेखिए, नेताहरूका भाषणहरूले मजदुर किसानका शब्दहरू समेटिए, निर्वाचनमा घोषणा पत्रमा सबै लिपिबद्ध भए र व्यवहारमा लागु भएन । चाहे राणा, चाहे पञ्चायत र राजतन्त्र, चाहे गणतन्त्र जो सुकै आए पनि मजदुरको कहालीलाग्दो जीवन कहिल्यै फेरिएन । कुनै यस्तो शासकको अर्जुन दृष्टि पर्न सकेन जसले मजदुर, किसान र गरिबलाई हेर्न सकोस् ।  जनताको मुटु जलेको देख्दा पनि शासकको मुटु नजलेपछि जनताको पीडा, दुःख र मुटुको जलाइले केही अर्थ राख्दो रहेनछ । 
पैतलामा काँडा भिज्दा,  भारी बिसाई रोए
निको पार्ने पैसा छैन, रोग ब्यथा छोए  ।
“जिउ ढाक्ने वस्त्रै छैन, भोक शोक के कुरा
यस्तै छ नि भरियाको जिन्दगी हजुर ।।


पसिना दाना बगाएर पनि जसोतसो  बिहान बेलुकीको छाकको जोहो गरिरहेका आम मजदुर, किसान, गरिब मानिसहरूको झन् अहिले बिचल्ली भएको छ । कोरोना महामारीका कारण सबैको रोजगारी खोसिएको छ । सबैभन्दा बढी प्रभावित यिनै दैनिक ज्यालादारी गर्ने मानिसहरू छन् । निषेधाज्ञा भएपछि सबै मजदुरहरूको रोजगारी खोसियो । रोजगारी खोसिएसँगै चुल्हो पनि बल्न छोड्यो । अरू समयमा पनि राम्रो सँग बल्न नसकेको चुल्हो अहिले झन् सास्ती खेप्नु परेको छ ।  कोही रोगसँग लडिरहेका छन्, कोही भोक सँग लडिरहेका छन् भने कोही शोकमा डुबिरहेका छन्  । कसैलै रोगसँग लड्न नसकेर अकालमा मृत्यु वरण गरेका छन्, केही सरकार र राज्य प्रणालीको असफलताका कारण अस्पतालमा सामान्य बेड पनि नपाएर या अक्सिजन र भेन्टिलेटर नपाएर दिन नआउँदै मृत्यु व्यहोर्न बाध्य पारिएकाहरू छन् । तिनका आफन्तका केही पिर निजी छन्, परिवारका या निकटका आफन्त गुमाउँदा मुटु भक्कानिएर निस्कन नसकेको पीडा । यी सबै प्रकारका दुखदायी चित्रहरूले सबैको मुटु दुख्यो तर अझै पनि शासकको मुटु दुख्न सकेन । 

झन् उल्टै डिलमा उभिएर नागरिकलाई चिढाउने र विचकाउने गरी–कोही भोकले मर्दैन, कोही स्वास्थ्य उपचार नपाएर मर्दैन सबै व्यवस्था गरेर बसेका छौँ भन्दै झ्याली बजाउदैछन । प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूबाट बेसार र अम्बाको पातले कोरोना फाल्न सकिने हचुवाका अभिव्यक्ति दिँदै आवश्यक पूर्व तयारीमा फिटिक्कै ध्यान नदिँदा नआएको कालबाट आफन्तको ज्यान जानु । सबैभन्दा बढी पीडा नै यही छ कि नेपाल सरकारले उपचारात्मक उपायहरू अवलम्बन नगर्दा नै यो अवस्था आएको हो ।   

आरम्भदेखि नै प्रधानमन्त्रीले विज्ञानले प्रमाणित नगरेका उडन्ते कुरा गर्नमा जोड दिए । बेसार पानी र अम्बाको पातको रसले कुला गर्ने गफ दिएरै उनले दुनियाँलाई उल्लु बनाउने प्रयास गरिरहे । जब कि उनले वडा र पालिका स्तरका अस्पतालको क्षमता वृद्धि गर्ने, दरबन्दी थप्ने, चिकित्सक र अन्य स्वास्थ्यकर्मी पठाउने, औषधिजन्य उपकरण पठाउने तथा स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक पूर्व तयारी अपनाउन आवश्यक आर्थिक सहयोग पठाउने काम तदारुकतासाथ गर्नुपर्ने थियो । परीक्षणको दायरा बढाउने, सङ्क्रमितसँग सम्पर्कमा आएकालाई खोजेर परीक्षण गराउने, सङ्क्रमितलाई संस्थागत आइसोलेसनको व्यवस्था गर्ने र सङ्क्रमणको जुन चक्र छ, त्यसलाई तोड्ने उपायहरू स्थानीय तह र समुदाय स्तरमै गर्न सकिने व्यवस्था मिलाउनु थियो । प्रधानमन्त्री ओलीले नागरिक जीवनसङ खेलबाड गर्दै भएको बजेटलाई भ्यु टावर, सिटिहला र मठमन्दिर बनाउन खर्चने र शिलान्यास मात्र गर्ने तर स्वास्थ्य सामाग्री, उपकरण र खोपका लागि कमण्डलु बोकेर छिमेकी राष्ट्रहरू सँग भिक्षा मागी रहेको छ । नागरिकको  स्वास्थ्य सुरक्षाको ग्यारेन्टी त गर्न सकेनन् सँगसँगै अन्तर्राष्ट्रिय रङ्गमञ्चमा भोका नाङ्गा र  हात थापिरहेका मैला र धुलाम्मे नेपाली तस्बिरहरूलाई समेत रोक्न सकेनन् । तन्नम राष्ट्रको सुचीमा उभ्याइ छाडे । 

आम नागरिकले अहिले सम्म भ्याक्सिन पाएको छैन । स्वास्थ्यमा कुनै पनि पूर्व तयारी गरी नबस्ने, चाल्नुपर्ने कदमहरू नचाल्ने, रोजगारी गुमेकाहरूको लागि राहतका प्रबन्ध नगर्ने । बजेट भाषणमा ३६५ दिनमा १०० दिन खाऊ, वाकी २६५ दिन भोक भोकै मर भन्ने सरकारको बजेट आशयले पुष्टि गरेको छ । पटक–पटक कसैले भोको रहनुपर्दैन भन्दै चर्को उखान वाचन गर्ने प्रधानमन्त्रीले अहिलेको यो कोरोनाका कहरका बेला पनि बजेटमा राहत र भोकमरी प्याकेज नल्याउनुले प्रधानमन्त्री भोकसँग पनि चिढ्ने रहेछन्  भन्ने प्रमाणित भएको छ । यस्ता  उटपट्याङ शासकले न त रोग देख्यो, न त भोक देख्यो देख्यो त केवल आसेपासे र चापलुसे झक्तहरुको मुहार देख्यो । न त देश देख्यो न संविधानवाद देख्यो । देख्यो त केवल कुर्सी  । 

स्वास्थ्य सेवामा पूर्व तयारी गर्न नसक्नुको कारण लामो समयसम्म निषेधाज्ञा झेल्नु परेको छ ।  निषेधाज्ञाको मार सबैलाई परेको छ । देशको अर्थतन्त्र धराशायी भएको छ । प्रत्येक नेपाली नागरिकको शिरमा ठुलो ऋण लागेको छ । सबै उद्योग कलकारखाना, साना तथा मझौला उद्योगहरू, व्यापार व्यवसायहरू बन्द भएर चौपट भएका छन् । यसले सबैभन्दा प्रत्यक्ष प्रभाव दैनिक ज्यालादारी गर्ने गरिबहरू माथि नै परेको छ । हरेक प्रकोपहरूको प्रत्यक्ष मार खेप्नु पर्ने गरिब मदजुरहरुका लागि  बजेट भाषणहरूमा कुनै पनि प्याकेज नआउनुले सरकारको सर्वहाराको नारा तुहिएको छ । यो महाव्याधि बिच पनि मजदुर वर्गका लागि राहत प्याकेज नल्याउनुले यो सरकारले गरिबलाई चिन्दैन, जान्दैन र सुन्दैन भन्ने प्रमाणित भएको छ । 

कहिल्यै सम्म बोक्नु, अनि यति ठुलो बोझ
उठ जुट नरनारी, समानता खोज
भरिया दाइले बिसाउने भारी ...

गरिबको मुटु दुख्यो तर शासकलाई मुटु दुखेन । भरिया दाइको मुटु दुख्यो तर सरकारलाई  दुखेन । भरिया दाइलाई  चिन्ने, जान्ने र सुन्ने सरकारको आवश्यकता भएको छ । चेतना भया । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ