arrow

प्रेरणाको खानी ठूलो बा !

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ माघ ११ मंगलबार
rajendra-panthi-article-18.jpg

मान्छे जन्मनु र मर्नु सत्य हो भन्ने थाहा हुँदा हुँदै पनि यो मनले मान्दो रहेनछ । मलाई पटक्कै विश्वास छैन ठूलो बा बित्नु भयो भनेर । तर पनि उहाँ बित्नुभयो र एकवर्ष पनि बिते । अकस्मात एउटा डरलाग्दो रोगले उहाँलाई आक्रमण गर्यो । धेरै प्रयत्न गर्दा पनि उहाँलाई बचाउन सकिएन । उहाँ यो संसारमा हुनुहुन्न तर पनि उहाँको ए ! राजु, भन्ने स्वर मेरो कानमा अझैसम्म पनि गुन्जिरहेको बेला बेलामा सुनिरहन्छु । सपनामा त प्रायः सधैं नै भेट्छु। 

ठूलो बालाई  गुमाउँदा उहाँले दिएको जीवन दर्शनको एउटा विशाल पाठशाला भने जीवित नै छ । जुन कुरा विश्वको कुनै विश्वविद्यालयमा पाइँदैन । उहाँमा सामाजिक प्रेरणाको  श्रोत अत्यधिक थियो । ठूलो बा साहसी, मेहनती, सहयोगी हुनुहुन्थ्यो । उहाँको कृषिकर्म र आत्मबल धेरै ग्रहणयोग्य थियो । उहाँ कृषि वैज्ञानिक नै हुनुहुन्थ्यो । मैले उहाँबाट सिकेको भनेको जीवनमा बाँच्ने कला हो । जीवनका प्रायः दिनहरू कृषिकर्म मै समर्पित गर्नुभयो । 

जीवन अस्थिर र अस्थायी हो । तैपनि आशावादी भएर बाँच्नुपर्छ र बाँचुन्जेल कर्म नै मूख्य आधार बनाइ बाँच्नुपर्छ भन्ने सोचाइ ठूलो बामा थियो ।

ठूलो बुबा होइन ठूलो बा भन्दा उहाँ खुशी हुनुहुन्थ्यो। ठूलो बा भन्दा उहाँको प्रतिक्रिया हइ ! आउँथ्यो । त्यसमा यति मिठास थियो म शब्दबाट ब्याख्या गर्न सक्दिन । उहाँको सामीप्यबाट जीवनोपयोगी, व्यावहारिक, नैतिक, आर्थिक, धार्मिक आदि थुप्रै शिक्षाहरू ग्रहण गर्ने मौका मलाई मिल्यो । उहाँको अत्यन्तै प्रेरणा भनेको जे पनि गर्न सकिन्छ, हिम्मत र आँट हुनुपर्छ किन सकिदैन ? भन्ने हो । उहाँ अत्यन्तै साहसी हुनुहुन्थ्यो ।

म तुलनात्मक अल्छि मान्छे हुँ । उहाँको प्रेरणा वा हौसलाबाट जाँगरिलो बनेर गरेका कामका धेरै उदाहरण छन् । मान्छेको जीवनलाई गतिशील बनाउन हौसलाको ठूलो भूमिका हुँदो रहेछ । सायद उहाँबाट हौसला नमिलेको भए आफूमा आँट आउने थिएन । केही व्यवहारिक र दैनिक कार्य गर्न उहाँले हौसला दिनुहुन्थ्यो । म कक्षा ५–६ पढ्दा अथवा ११–१२ वर्षको उमेरदेखिका उहाँसँगका सामीप्यका धेरै कुराहरू सम्झन्छु । सायद उहाँको कान्छो छोरा र मेरो उमेर उस्तै उस्तै भएर होला अलि बढी नजिक हुन पाएँ । 

हुनत सम्बन्धको दृष्टिकोणले ठूलो बाको बुबा र मेरो हजुर बुबा दुइ भाइ हुनुहुन्थ्यो । चाहे गुल्मी भनभने खहरेखोला वा  कपिलवस्तु तौलिहवामा पनि घर पनि टाढा होइन, नजिकै थियो । ठूला बा बेलुका जति ढिलो सुते पनि बिहान ४ बजे उठ्नु हुन्थ्यो । कुनै दिन उहाँमा अल्छिपना देखिएन ।

ठूलो बाको पहाड, तराई र अन्त्यमा काठमाडौंमा उहाँको जीवन व्यतित भयो । उहाँको गुल्मीको भनभने खहरासल्लाको दैनिकी भनेको कृषिकर्म नै हो र घरमा प्रशस्त गाई भैंसी पाल्नु हुन्थ्यो । उहाँमा कसरी कुन बाली कहिले लगाउने सबै ज्ञान थियो। धेरैजसो समय कृषिमा नै बिताउनु हुन्थ्यो । उहाँको घरमा सबै कुरा पाइन्थ्यो । उहाँलाई घरभित्रको सम्पूर्ण कामको सहायता धर्मपत्नीबाट स्वाभाविकै रुपमा हुन्थ्यो ।

उहाँ गुल्मीमै छँदै पनि एउटा सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । विद्यालय, बाटो, पुल, कुलो, खानेपानी निर्माणमा उहाँको योगदान रहेको छ । सामाजिक काम भनेपछि घरमा जस्तोसुकै समस्या भएपनि ठूलो बाको उपस्थिति हुन्थ्यो । तौलिहवा बसाइँसराइ गरेपछि पनि उहाँ सामाजिक कार्यमा सक्रिय रहनु हुन्थ्यो । तौलिहवा क्याम्पस टोलको बाटो पिच गर्नमा उहाँको योगदान रहेको छ ।

कृषि नै बाँच्ने पहिलो आधार हो । कृषक अन्नदाता हो । भगवान नै हो । भगवानको रुप नै हो । हामी बाँच्नको लागि कृषकबाट धेरै कुरा सिक्नुपर्छ । कृषकको जीवनपद्धति र कृषिकर्म गर्ने तरिकालाई अनुशरण गर्नुपर्छ । ठूलो बा पनि कृषिमा रमाउने र कृषिलाई मुख्य पेशा बनाएर आफ्नो जीवन बिताउनु भएको हुनाले उहाँका कृषिकर्म तरीकालाई अनुशरण गरिनुपर्छ । 

ठूलो बा बोलक्कड हुनुहुन्थ्यो । बिहान आफ्नो घरायसी काम सकेपछि आफ्नो गाउँ टोलमा, छरछिमेकी कहाँ गएर नयाँ हालचाल बुझ्नुहुन्थ्यो । कसैलाई केही गार्‍हो साँघुरो पर्यो भने के सहयोग चाहिन्छ, आफूले सकेमा आफैं र नसकेमा छिमेकीलाई भनी सहयोग गर्नुहुन्थ्यो । तराई आएपछि पनि घर वरिपरि तरकारी र फलफूल रमितै हेर्न लायक गराउनु हुन्थ्यो। उहाँ कृषि कर्ममा अति नै समर्पित हुनुहुन्थ्यो। बाटोमा हिँड्दा बच्चादेखि वृद्धसम्म सबैलाई बोलाउनुहुन्थ्यो । हालखबर सोध्नुहुन्थ्यो । उहाँमा हँसिलो स्वभाव थियो ।

संसारमा मान्छे जन्मन्छ अनि मर्छ। यो शाश्वत सत्य हो । भाग्य जे छ त्यो बेहोर्नु पर्दोरहेछ । आज नै ठूलो बालाई हामीले गुमाउनु पर्ला भन्ने थिएन तर विधिको विधान उहाँलाई रोगले बाँच्न दिएन । असामयिक निधनले हामी परिवार आफ्नो मान्यजन गुमाउन पर्दा मर्माहत र भाव विह्वल हुनुपरेको छ । आँखाबाट आँसु  झार्न जबर्जस्त बन्द गर्न खोज्यो मन मुटु गाँठो परी भक्कानो पर्दो रहेछ । एक वर्ष  बितिसक्दा पनि झल्झल्ती आँखा अगाडि उहाँलाई नै देखिन्छ । खै कसरी बिर्सन सकिन्छ र । अहँ सकिएको छैन र बिर्सन सकिँदैन ।

हुन त अब ठूलो बाको भौतिक शरीरलाई जति रोए पनि पाउन सकिँदैन । अब त उहाँको योगदान र उहाँले दिएका थुप्रै जीवनोपयोगी र  व्यवहारोपयोगी कुराहरूलाई अनुशरण गर्नुपर्छ । उहाँले आँटेका बाँकी काम छन् भने पूरा गर्नुपर्छ । मान्छे हो, उसमा सबै राम्रा गुण नहुन सक्छन्, राम्रा गुणको प्रशंसा गर्दै जानुपर्छ । अवगुण चर्चा गर्नु नै परेन । केवल मनन गर्दा भइहाल्छ ।

ठूलो बालाई सम्झने पहिलो पक्ष भनेको उहाँको कृषिकर्म पद्धति र सामाजिकता नै हो । आज संसारमा मान्छे किन यस्तो दौडधुप गरेको छ । त्यही बाँच्नलाई । शरीर पाल्नलाई । वास्तवमा मान्छे बाँच्नलाई चाहिने प्रमुख चिज भनेको त अन्न त हो । मान्छेले अन्न उत्पादन गर्ने कृषि पेशालाई सम्मान गर्नुपर्छ ।

कृषि नै बाँच्ने पहिलो आधार हो । कृषक अन्नदाता हो । भगवान नै हो । भगवानको रुप नै हो । हामी बाँच्नको लागि कृषकबाट धेरै कुरा सिक्नुपर्छ । कृषकको जीवनपद्धति र कृषिकर्म गर्ने तरिकालाई अनुशरण गर्नुपर्छ । ठूलो बा पनि कृषिमा रमाउने र कृषिलाई मुख्य पेशा बनाएर आफ्नो जीवन बिताउनु भएको हुनाले उहाँका कृषिकर्म तरीकालाई अनुशरण गरिनुपर्छ । 

हरेक बालीनाली लगाउँदा उहाँले यति मिहिनेत तरीका पारेर मलजल, गोडमेल, औषधिउपचार गर्नुहुन्थ्यो कि आज भनिने बालीविज्ञ वा  कृषिवैज्ञानिक भन्दा कम  हुनुहुन्थेन । ठूलो बाको वास्तविक नाम गोपालप्रसाद पन्थी हो। उहाँलाई शोभाखर भनेर पनि चिनिथ्यो । उहाँको जन्म बि.सं.२००६ बैशाख १२ गते भएको थियो भने उहाँको निधन २०७७ माघ २३ गते भएको थियो ।

यसरी ठूलो बा गुरुदत्तको खनाति, बिष्णुभक्तको पनाति, टीकारामको नाति र जीवनाथको जेठो छोरा हुनुहुथ्यो । ठूलो बाको जन्म गुल्मी जिल्ला अन्तर्गत मदाने गाउँपालिका वडा नं. ७ भनभने गैराखर्क खहरेखोलामा भएको थियो । उहाँ भारद्वाज गोत्रीय पन्थी वंशको सन्तति हो । गुल्मीको गैराखर्के पन्थी परिवारमा ठूलो बाको छोटो वंशविस्तार  यस्तो रहेको देखिन्छ ।

भारद्वाज गोत्रमा  परगे पाध्याय पन्थी  गुल्मीको वाग्लाबाट बसाइँसराइ गरी गुल्मीकै धुर्कोटमा आएका रहेछन् । उनका चार भाइ छोरामध्ये रामदासका सन्तान गैराखर्कमा आएर बसेछ्न् । रामदासका छोरा मेघराज, मेघराजका छोरा बामदेव र बामदेवका छोराहरू रामानन्द र परमानन्द रहेछन् । रामानन्दका सन्तान गैराखर्के हुन् भने परमानन्दका सन्तान बर्दबासे रहेछन् ।

रामानन्दका छोरा जगन्नाथ, जगन्नाथका छोरा ऋषिकेश, ऋषिकेशका छोरा दुल्लभकुमार पाध्याय पन्थी रहेछन् । दुल्लभ कुमारका चार छोरामध्ये जेठा अल्पायुमै बितेछन् भने माहिलो गुरुदत्त, साँहिलो नामदेव र कान्छो कृष्णानन्द रहेछन् ।

गुरुदत्तको सन्तान गुल्मी  भनभने गैराखर्कमा खहरेखोले नामबाट  परिचित भएका थिए । अहिले गुरुदत्तका सन्तान बसाइँसराइ गरी बुटवल, काठमाडौं र दाङमा बसोबास गरेका छन् । ठूलो बा गुरुदत्तको खनाति, विष्णुभक्तको पनाति,  टीकारामको नाति र जीवनाथको जेठो छोरा हुनुहुथ्यो । उहाँकी पत्नी उमादेवी, दुई छोराहरू तीर्थराज र रमेश हुनुहुन्छ । 

ठूलो बाको औपचारिक शिक्षा कक्षा आठसम्म भएको थियो । उहाँले कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित रत्नराज्यलक्ष्मी विद्यालयबाट औपचारिक शिक्षा लिनुभएको थियो । उहाँको प्रारम्भिक शिक्षा भने तत्कालीन समयमा गुरुकुल शिक्षा पद्धतिअनुसार त्यसबेलाका गुल्मी पश्चिमका प्रख्यात गुरुकुल शिक्षक पण्डित केशवराज पौडेलबाट भएको थियो । आफ्नै घरमा रहेको गुरुकुल शिक्षाबाट रुद्री र चण्डिजस्ता पूर्वीय साहित्यको अध्ययन गर्नुभएको थियो । ठूलो बाको आठ वर्षको उमेरमा ब्रतबन्ध भएको थियो ।

दश वर्षको उमेरमा प्यूठान जिल्ला चुँधाराका भक्तिराम पोखरेलकी छोरी उमादेवीसँग विवाह भएको थियो । ठूलो बाले  केही छोटो  समय नेपाल सरकारको जागिर पनि खानुभएको थियो । उहाँले २०२६–२७ सालमा तौलिहवाको नापी कार्यालय र २०३१–३२ सालमा कोहलपुर–सुर्खेत राजमार्ग निर्माण हुँदा सुपरभाइजर भइ सेवा गर्नुभएको थियो । उहाँले २०३३ देखि भने घर व्यवहार सम्हालेर बस्नुभएको थियो । 

ठूलो बा गुल्मीको भन्भनेबाट कपिलवस्तुको तौलिहवा बसाइसराइपछि सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा रहेको मन्दिरमा लामो समयसम्म पूजापाठ पनि गर्नुभएको थियो । यही क्रममा उहाँले तौलिहवामा जजमानी काम पनि गर्नुहुन्थ्यो । बिहान सबेरै उठ्ने, पूजापाठ गर्ने, मन्दिर जाने जस्ता कार्य दैनिकजसो गर्नुहुन्थ्यो । उहाँको जीवनशैली कर्मपरक, अध्यात्मपरक र सामाजिक दायित्वबोध थियो । उहाँमा जीवनको अन्तिम समयसम्म पनि आलस्यता थिएन । उहाँमा राजनैतिक चेतना पनि प्रवल नै रहेको थियो ।

घर परिवारका अधिकांश सदस्य कम्युनिष्टप्रति आस्था हुँदा पनि ठूलो बामा नेपाली कांग्रेसप्रति आस्था थियो । तर घरपरिवारमा विद्रोह नै गरी आफ्नो फरक विचार रहेको भनेर भिन्न मत राखेको पाइएन र कम्युनिष्टप्रति मौन समर्थन पनि थिएन ।

आज ठूलो बा बितेको वर्ष दिन भएछ (तिथिअनुसार माघ ११ गते र मितिअनुसार माघ २३ गते) । मेरो मनले भने पत्याउन सकेको छैन । सायद उहाँलाई अन्तिम समय मैले भेट्न नपाएर हुन सक्छ । मनमा होइन न कि जस्तो लागिरहेछ । प्रायः हरेक दिन सपनामा अर्ति र उपदेशका स्वरहरू सुनिरहेको हुन्छु । जेहोस् यस संसारमा उहाँको भौतिक शरीर नरहे तापनि उहाँको जीवनदर्शन र प्रेरणाका वाणीहरू सधैभरि बाँचिरहेकै हुनेछन् । 

राजु ! भन्दा सुनिएको त्यो माया, मिठास, स्नेह,आशीर्वाद र प्रेरणा कहिल्यै भुल्ने छैन । अन्त्यमा, यस संसारबाट  कहिल्यै नफर्किने गरी स्वर्गलोक जानुभएका यस्तो बहुआयामिक व्यक्तित्व मेरो प्रेरणाको खानी पूज्यनीय ठूलो बालाई अरू के पो  दिन र भन्न सकिन्छ र। उही आँसु र हार्दिक श्रद्धाञ्जली । अनि मन मुटु गाँठो पारी बलिन्द्र आँसुसहित शिर निहुराइ हार्दिक श्रद्धाञ्जली । अनि फेरि उही श्रद्धाञ्जली। (लेखक हाल अमेरिकाको भर्जिनियामा बस्छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ