arrow

घरघरमा रोग

साठी परीक्षणमा ४३ लाई संक्रमण, लक्षण भएकाले पनि मान्दैनन् कोरोना परीक्षण गराउन 

logo
दयाराम पण्डित, 
प्रकाशित २०७८ जेठ २३ आइतबार
nurse1623252382.jpg

बाजुरा । बाजुरामा पछिल्लो समयमा अधिकारीहरुले कोरोना भाइरस संक्रमणका बिरामी घटिरहेको भनिरहेको बेला गाउँमा बिरामी देखिन थालेका छन् । ज्वरो आउने, टाउको दुख्ने बिरामले जिल्लाका नौवटा पालिकाका कुनै गाउँ खाली छैनन् ।

गौमुल गाउँपालिका दहकोट स्वास्थ्य चौकीका इन्चार्ज धर्म खत्रीले भने, ‘टाउको दुख्ने, ज्वरो आउने, पसिना आउने, कमजोर महसुस हुने, जिउ काँप्ने, आँखा रातो हुने, दुख्ने पोल्ने, हातखुट्टाको मसल दुख्ने, पखाला लाग्ने, ढाड दुख्ने यस्तै यस्तै छन् ।’

‘एकै घरका तीन चार जना ज्वरोका बिरामीले थला परेका छन् । तर, कोराना पुष्ीि होला कि भन्ने डरले  स्वास्थ्य चौकीमा चेकजाँच नै गर्न आउँदैनन्’, इन्चार्ज खत्रीले भने । 
 
जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पनि गाउँगाउँमा बिरामी छन् । धेरै कमजसोले कोरोना परीक्षण गराउन आउँछन् । ‘परीक्षण गरेका प्रायःको कोरोनाको लक्षण देखिन्छ । गाउँबाट कोराना परीक्षण गर्न आउँदै आउँदैनन्’, हिमाली गाउँपालिकाकी स्वास्थ्य अधिकृत प्रेमकला मल्लले भनिन्, ‘घर–घर गएर स्वास्थ्य परीक्षण गर्ने हो भने ज्वरोका बिरामी कुनै घर खाली रहने छैनन् ।’

बडिमालिका नगरपालिका–७ सिराडीकी सुशिला वि.कलाई दुई साताअघि ज्वरोले निकै सतायो । उनी उठ्न नसक्ने गरी थला परिन् । ज्वरो आएपछि उनी भित्रभित्रै डराइन् । कतै कोरोना भाइरसले संक्रमण पो गर्यो कि ? आफूलाई कोरोना भाइरसको संक्रमण देखाउने डरले नजिकै स्वास्थ्य चौकी भएपनि सुशिला जचाउन गइनन् । बरु दिनानुदिन बढिरहेको ज्वरोसंगै प्रतिस्पर्धा गर्न थालिन् । केही दिनको ज्वरो लगायतका बिराम संगैको लडाईपछि विस्तारै तग्रिन थालिन् । 
   
उनलाई ज्वरो आएको एक सातापछि उनकी बहिनी निर्मला विकलाई पनि अत्यधिक ज्वरोले च्याप्यो । सुशिला बिस्तारै तग्रिदै गइन् तर उनकी बहिनी निर्मला भने दिनप्रतिदिन थला पर्दै गइन् । निर्मलाले पनि सुशिलाको जस्तै कोरोना भाइरसको संक्रमण देखिने डरले चेकजाँच गराइनन् बरु घरमै बसेर अत्यधिक मात्रामा देखिएको ज्वरोसंग लडिन् ।

केही समयपछि वडा नं ७ को सिराडी गाउँनै ज्वरोले प्रभावित भएको वडा नं ७ का रामबहादुर विकले बताए । गाउँ नै प्रभावित भएको खबरपछि वडा नं ७ वडा कार्यालयको समन्वयमा चुथी स्वास्थ्य चौकीका चिकित्सकहरुले घर–घरमै गएर परीक्षणसँगै स्वास्थ्य परामर्श र स्वास्थ्य सामग्री प्रदान गरेको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । 

त्यस्तै बुढीगंगा नगरपालिकाका केही बस्तीहरुमा पनि परीक्षणको डरले संक्रमण बढ्न थालेको नगरप्रमुख दिपक विक्रम शाहले बताए । उनले बुढीगंगा नगरपालिका वडा नं १ को अम्कोटमा पनि परीक्षणको डरले नै संक्रमण फैलिएको बताए ।

बाजुराका अधिकांश बस्तीमा कोरोना संक्रमण फैलिने कारण परीक्षणको डर नै भएको चिकित्सकहरु बताउँछन् । अहिले पनि गाउँघरमा ज्वरोका बिरामी बढिरहेकाले खासगरी बुढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा चिकित्सकहरुले घर–घरमै गएर परीक्षणसहित परामर्श गरिरहेको र अन्य पालिकाका स्वास्थ्य शाखालाई पनि चिकित्सकहरुलाई परीक्षणको लागि घर–घरमै पठाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरिरहेको कार्यालय प्रमुख दयकृष्ण पन्तले बताए । 

कोरोना संक्रमण देखिने डरले गाउँमा चेकजाँच नगर्ने र चेकजाँच पनि सावधानी नहुने भएकाले संक्रमण बढी फैलिएको चिकित्सकहरुको अनुमान छ ।

बाजुरामा जिल्लामा संक्रमित हुनेको संख्या फेरि बुद्धि हुन थालेको छ । स्वास्थ्य कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार ६० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुरा प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार बाजुरा जिल्लामा शनिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय १६ जना पुगिसकेको प्रमुख पन्तले बताए । 

त्यस्तै २४ घण्टा पछि ४ जनाले कोरोना जितेर घर फर्किएसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ जना पुगिसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङमा रहेको छ ।

हालसम्म बाजुरामा संक्रिय संक्रमितको संख्या २ सय ३७ जना पुगेको छ भने २ सय २९ जना होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म कोरोनाकै कारण जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ