arrow

सेनामा अब चार कमाण्ड, पृतना खारेज हुँदै

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ २३ आइतबार
army-headquater.jpg

काठमाडौं । नेपाली सेना आगामी आर्थिक वर्षदेखि अर्थात् साउनदेखि ‘थ्री प्लस वान’ संरचनामा जाने भएको छ । सात प्रदेश र काठमाडौंमा रहेको एक पृतना गरी आठ पृतनालाई खारेज गर्दै सेना साउनबाट कमाण्ड संरचनामा जाने भएको हो । 

नेपाली सेनाले नयाँ संरचनामा आफूलाई रूपान्तरण गर्दा ‘थ्री प्लस वान’ मोडालिटीमा देशभरमा चार वटा कमाण्ड राख्ने भएको हो । यसरी रहने कमाण्ड भूगोलका आधारमा तीन नदीका आधारमा र एक उपत्यका गरी चार वटा रहनेछन् । 

आइतबार प्रधानसेनापति पूणर्चन्द्र थापाले आफ्नो कार्यकालका एक हजार दिन पुगेको अवसरमा सो बारे जानकारी दिएका हुन् । उनका अनुसार कोशी, गण्डकी र कर्णाली नदीका आधारमा तीन कमाण्ड र काठमाडौंमा एक कमाण्ड रहने छ । सेनाले यो प्रणालीलाई ‘थ्री प्लस वान’ कमाण्ड भनेको हो । 

उपत्यकामा भने रणनीतिक महत्त्वको आधारमा उपत्यका कमान्ड हुनेछ । मन्त्रिपरिषद्ले गत फागुनमा सेनाको नयाँ संरचना कार्यान्वयनका लागि स्वीकृति दिएको थियो ।

हाल सैनिक मुख्यालयपछि सात प्रदेशमा सात पृतना र उपत्यकामा एउटा पृतना गरी आठ पृतना छन् । अब नयाँ प्रणालीमा गएसँगै सबै पृतना खारेज हुनेछन् । हाल पृतनाको नेतृत्व दुई तारे जर्नेल (उपरथी) ले गर्दै आएका छन् भने अब बन्ने चार कमाण्डको नेतृत्व पनि सोही पदको नेतृत्वबाट नै हुने छ । 

प्रधानसेनापति थापाले यो अवधारणा व्यापक छलफल र परामर्शपछि कार्यान्वयनमा लैजान लागिएको जानकारी दिए । 

‘सेनालाई थ्री प्लस वान अवधारणामा लैजानका लागि व्यापक छलफल र परामर्श भएको छ, संविधानको भावना अनुरूप यो अवधारण ल्याइएको छ, यसले सेनालाई नयाँ रणनीतिसहित अघि बढ्न सहयोग गर्ने अपेक्षा छ,‘प्रधानसेनापति थापाले आइतबार संचारकर्मीहरुसँगको अन्तरक्रियामा भने । 

अब प्रदेश सरकारसँगको समन्वयको दायित्व सम्बन्धित प्रदेशमा पर्ने वाहिनीहरूले गर्ने छन् । हाल सेनाको १८ वटा बाहिनी छ । ती वाहिनी भने अब चार वटै कमान्डअन्तर्गत रहनेछन् । वाहिनीको नेतृत्व एकतारे जर्नेल (सहायक रथी) ले गर्नेछन् । हाल प्रदेश सरकारसँगको समन्वय पृतना हेडक्वार्टर गर्दै आइरहेको छ । 

कमाण्ड संरचनाले सैनिक स्रोत, साधनको सन्तुलित तैनाथी र द्रुत परिचालनका लागि सहयोग पुग्नेछ । साथै, प्रकोप व्यवस्थापन, वन्यजन्तु आरक्षणको सुरक्षा, विकास निर्माण तथा खोज तथा उद्धारका लागि फौज परिचालन पनि छिटो छरितो हुने अपेक्षा सेनाले लिएको छ ।

यो अवधारणामा गएपछि जंगीअड्डाले सम्पूर्ण अपरेशनल जिम्मेवारी कमाण्डमा हस्तान्तरण गर्ने छ भने त्यहाँबाट सीधै बाहिनी हुँदै गण र गुल्म परिचालन हुनेछन् । कमाण्ड संरचना बनिसकेपछि जंगीअड्डा राष्ट्रिय महत्त्वका रणनीतिक विषयमा केन्द्रित हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ