- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथर समाजले जिल्लाका ७ वटा स्थानीय तहमा एक –एक थान अक्सिजन कन्स्ट्रेटर सहितका स्वास्थ्य सामग्री वितरण गरेको छ ।
मङ्गलवार पाँचथर अस्पताल परिसरमा आयोजित कार्यक्रममा गाँउपालिकाहरुलाई अक्सिजन कन्स्ट्रेटर, २–२ थान अक्सिमिटर सहित एन्टिजेन किट, पिपिई र मास्क लगायतका सामग्री वितरण गरेको हो ।
विभिन्न दातासँग सहयोग लिएर खरिद गरिएका १३ लाख २६ हजार ६ सय ५० रुपैयाँ मूल्यका ती सामग्री समाजका सचिव भूमिका नेम्वाङ र कार्यक्रम संयोजक निर्मल रिजालले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ र प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले पाँचथर समाजलाई धन्यवाद व्यक्त गरे ।
समाजले यसअघि पाँचथर घर भएर काठमाडौँ बसोबास गर्ने ३६ परिवारलाई राहत दिइसकेको रिजालले बताए ।
स्वास्थ्य सामग्री खरिदका लागि समाजले सञ्चालन गरेको अभियानमा हालसम्म १८ लाख १७ हजार हजार १ सय ५ रुपैयाँ सङ्कलन भइसकेको समाजका कार्यवाहक अध्यक्ष सुरेन्द्र तिम्सिनाको भनाइ छ ।
सामग्री हस्तान्तरण गर्दै सचिव नेम्वाङले जिल्लामा केही हदसम्म राहत पुगोस् भन्ने उद्देश्यले अभियान चलाइएको भन्दै सहयोगी महानुभावलाई धन्यवाद दिए ।
कोरोना महामारी बाट बच्न सकियोस् भन्ने उद्देश्यले नै यो अभियान थालिएको सचिव नेम्बाङको भनाई छ । विगत देखि नै सामाजिक क्षेत्रमा क्रियाशील रहेको पाँचथर समाजले जिल्लामा कोरोना सङ्क्रमितहरूलाई लक्षित गरेर स्थानीय तहहरूलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको कार्यक्रम संयोजक रिजालले बताए ।