arrow

वेल्स नकआउट नजिक, बेलले जिताएको खेलमा आफैले राखे खराब रेकर्ड  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
euro-2020-gareth-bale-wales.jpg

काठमाडौं । वेल्स १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिन नजिक पुगेको छ । समूह ए को सबैभन्दा कमजोर आँकिएको टिम टर्कीमाथि जित निकाल्दै वेल्स नकआउट नजिक पुगेको हो । 

बुधबार राति भएको खेलमा वेल्स टर्कीलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको हो । बाकु ओलम्पिक स्टेडियममा वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे ।

४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाए । उनले कप्तान ग्यारेथ बेलको पासमा गोल गरेका हुन् । 

इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २–० को जित दिलाए । रोबर्ट्सले पनि बेलको पासमा नै  गोल गरेका हुन् । 

कप्तानी प्रदर्शन गरेर प्लेयर अफ द म्याच चुनिए पनि उनी ६१ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने सकेनन् । बेलको पेनाल्टी पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो । 

खराब रेकर्ड राख्ने क्रममा बेल युरोकपमा पोस्टको फ्रेम भन्दा बाहिर पेनाल्टी प्रहार गर्ने दोस्रो खेलाडीको रेकर्ड राखेका छन् । 

यसअघि स्पेनका राउलले सन् २००० को युरोकपमा फ्रान्सविरुद्ध फ्रेम भन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए ।

यस जितसँगै समूह ए को वेल्स २ खेलमा ४ अंक जोडेर राउन्ड अफ सिक्सटिनका लागि बलियो दावेदारी दिएको छ । वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

इटाली लगातार दुई जितसहित राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ । टर्कीले इटालीसँग ३–० को हार बेहोरेको थियो । 

स्वीट्जरल्याण्ड इटालीसँग ३–० ले पराजित हुँदै तेस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा वेल्सले बलियो इटालीसँग खेल्नेछ । तर स्वीट्जरल्याण्ड र टर्कीबीचको खेल पनि महत्वपूर्ण हुनेछ । टर्की विजयी हुँदा स्वतः वेल्स हार्दा पनि अर्को चरणमा पुग्नेछ । खेल बराबरी हुँदा पनि वेल्स अर्को चरणमा पुग्नेछ । त्यस्तै स्वीट्जरल्याण्डले साँघुरो जित निकाल्दा पनि वेल्स राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । 

यदि स्वीट्जरल्याण्डले फराकिलो जित निकालेर वेल्स पछि परे पनि तेस्रो स्थान हासिल गर्ने ६ मध्ये उत्कृष्ट ४ टिम पनि राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले वेल्सको सम्भावना बढी नै रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ