- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय लिजेन्ड धावक मिल्खा सिंहको निधन भएको छ । ९१ वर्षीय सिंहको कोरोनाका कारण निधन भएको हो । कोरोनाले थला पारेपछि उनको भारतको चण्डीगढस्थित एक अस्पतालमा उपचार भइरहेको थियो ।
तर पछिल्ला केही दिन कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई अस्पतालमा उपचार गराइराखिएको थियो । तर शुक्रबार राति उनले दम तोडे । उनकी पत्नी निर्मल कौरको कोरोनाकै कारण निधन भएको थियो । कौर भारतीय भलिबल टिमकी पूर्व कप्तानसमेत थिइन् । निर्मलको निधन भएको पाँच दिनपछि मिल्खाले पनि दम तोडेका हुन् । उनी गत मे २० देखि पीजीआईएमईआर अस्पतालमा भर्ना भएका थिए ।
मिल्खा एसियायाली खेलकुद र कमनवेल्थ खेलकुदका एकमात्र दक्षिण एसियाली स्वर्णपदक विजेता हुन् । उनले सन् १९५८ मा जापानको टोकियोमा भएको एसियाली खेलकुदमा २ सय मिटर र ४ सय मिटरको दौडमा स्वर्ण जितेका थिए ।
त्यस्तै उनले सन् १९६२ को इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा स्वर्णपदक जितेका थिए । उनको निधनले सिंगो भारत स्तब्ध भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनको शनिबार अन्तिम संस्कार गरिएको छ । उनलाई भारतको सर्वश्रेष्ठ सम्मान पद्मश्रीबाट विभूषित गरिएको थियो ।
फ्लाइङ्ग सिख
उनी सबैभन्दा चर्चित भारतीय एथलेट थिए । उनले ‘फ्लाइङ्ग सिख’ को नामबाट चर्चित भए । त्यसको कारण उनले खुलाएका छन् । उनले सन् २०१६ मा इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा उनले यो घटना सन् १९६० को भएको बताएका थिए ।
उनी त्यो बेला पाकिस्तानमा भएको ‘इन्डो–पाक स्पोर्टस् मिटमा सहभागी भएका थिए । खासमा उनी जान चाहँदैनथिए । भारत–पाकिस्तानबीचको विभाजन आलै भएकाले गर्दा धेरै भारतीय पाकिस्तान नगए पनि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएपछि उनी पाकिस्तान गएका थिए ।
यसको पनि कारण थियो । मिल्खा सिंहको जन्म सन् १९२९ नोभेम्बर २० मा गोविन्दपुरा (हाल पाकिस्तान) मा किसान परिवारमा भएको थियो । एक सिख परिवारमा जन्मिएका मिल्खालाई खेल र देशप्रति लगाब थियो ।
खेलमा लगाब भएकै कारण उनी विभाजनका समयमा भारतमा भागेर आए र भारतीय सेनामा सामेल भए । उनी तेस्रो प्रयासमा सेनामा भर्ती भएका थिए ।
मिल्खा आफ्नो पूर्व घर जान चाहँदैनथिए । छोडेको घरमा किन जाने भन्ने नै थियो । तर नेहरुले उनको मन पगाले र त्यसकै कारण भारतीय झण्डा बोेकेर पाकिस्तान गए । उनी भारतीय टिमको नेतृत्व गर्दै पाकिस्तान गएका थिए ।
उनका प्रतिद्धन्द्धी पाकिस्तानी अब्दुल खलिक थिए । खलिक २०० मिटर दौडमा सबैभन्दा तीव्र गतिका धावक थिए ।
६० हजार दर्शकको अगाडि मिल्खालाई दौडन गाह्रै थियो । तर खलिकभन्दा मिल्खा अब्बल देखिए । मिल्खाले सो दौड जित्ने बित्तिकै पदक वितरण कार्यक्रममा तत्कालीन पाकिस्तानी राष्ट्रपति अयुब खानले उनलाई ‘फ्लाइङ्ग सिख’ को उपमा दिएका थिए ।
त्यसपछि उनी फ्लाइङ्ग सिख भए । उनले पाँच पटक एसियाली खेलकुदमा स्वर्णपदक जितेका थिए ।