काँग्रेसद्वारा लालबन्दी नगरपालिकाको नगर सभा बहिष्कार
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
629
Shares
सर्लाही । नेपाली काँग्रेसले सर्लाहीको लालबन्दी नगरपालिकाको बिहिवार आयोजित छैटौँ नगर सभा बहिष्कार गरेको छ । जनताका माग र आवश्यकता सम्बोधन गर्नुको साटो मेयर केन्द्रित बजेट ल्याइएको आरोप लगाउँदै काँग्रेसले नगर सभा बहिष्कार गरेको हो ।
काँग्रेस लालबन्दी नगर समितिले पत्रकार सम्मेलन गरेरै नगर सभा बहिष्कारको घोषणा गरेको हो । काँग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले समुदायको आवश्यकता भन्दा पनि व्यक्तिले कसरी पैसा बचत गर्न सक्छ ?, आफ्ना कार्यकर्ताले कसरी नाफा कमाउन सक्छन् ? भन्नेतर्फ केन्द्रित रहेर बजेट ल्याइएकोमा आफूहरूको आपत्ति रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा सभापति आचार्यले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरको कुनै पनि किसिमको हरहिसाब, महालेखाको बेरुजु र पेस्की हिसाब सार्वजनिक नगर्नुले शङ्का उब्जाएको बताएका छन् ।
पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा कोरोना महामारीमा भएको खर्च तथा अनुदान सहयोग आदिको पारदर्शी पूर्ण सार्वजनिक गर्न, आफैले निर्माण गरेको नियम विपरीत कार्यकर्ता एवं आफ्ना निकटका विचार समूह र आस्थाका व्यक्ति तथा संस्थालाई कृषि, बीउ बिजन, विषादी एवं मल खादको बिक्री अनुमति तत्कालै खारेज गरी नियम अनुसार बिक्री वितरणको व्यवस्था मिलाउन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिब जनतासँग मेयर, लक्षित वर्गसँग उपमेयर आदि कार्यक्रमको उपलब्धि र औचित्यसहित भएको खर्च र आम्दानी सार्वजनिक गर्न काँग्रेसले माग गरेको छ ।
शिक्षा, स्वास्थ्य, नागरिकको जीवन रक्षा, जीविकोपार्जन, स्थानीय सरकारसँगको सहज पहुँच तर्फ ध्यान केन्द्रित गर्न र चुनाव केन्द्रित नभई आवश्यकता केन्द्रित बजेट निर्माण गर्न, स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गरी जनहितकारी समन्वयात्मक एवं सार्वजनिक महत्त्वको कार्यमा ध्यान दिन पनि काँग्रेस नगर समितिले नगरपालिकालाई आग्रह गरेको छ ।
यसै गरी, सँगै सुरु गरिएको छिमेकी नगरपालिकाको भवन निर्माण भएर प्रयोगमा आइसके पनि लालबन्दी नगरपालिकाको भने हालसम्म भवन निर्माण नहुनु आश्चर्यजनक रहेको भन्दै यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि काँग्रेसले पत्रकार सम्मेलन मार्फत माग गरेको छ ।
पत्रकार सम्मेलनमा पूर्व मन्त्री एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रमोद बराल, नगर प्रमुखका प्रत्याशी द्वय कुवेर आचार्य र इन्द्र योञ्जन, नगर सभापति आचार्य, काँग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरू वडा नं. ९ का गोपालप्रसाद घिमिरे, वडा नं. १० का टोपबहादुर श्रेष्ठ, वडा नं. १७ का नवराज अधिकारी लगायत पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको थियो ।
यता लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले नेपाली काँग्रेसले विज्ञप्ति निकालेर राखेका धेरैजसो माग नीति तथा कार्यक्रममा समेटिएको दाबी गरेका छन् । उनले नगरको ६० प्रतिशत बजेट वडामा पठाएर ४० प्रतिशत मात्रै नगरले राखेकाले बजेटलाई मेयर केन्द्रित भन्न नमिल्ने बताएका छन् । लालबन्दी नगरपालिकाले नगर सभामा १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।