- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । हिमाली गाउँपालिका वडा नं एक बामकी पुष्पकला रोकाया उमेरले १५की भइन् । उनले पिठ्युँमा दुधे बालक बोकेकी छिन् । झट्ट हेर्दा उनी कुनै अर्कैको बच्चा डुलाउँदै गरेकी जस्तो देखिन्थिन् । हिन्दु परम्परा अनुसार बिहेवारि नगरी महिलाको सिउँदोमा सिन्दूर विरलैको देखिन्छ । तर, पुष्पकलाको विवाहको पहिचान त्यही सिउँदाको सिन्दूर र पिठ्युँको तोते बालकले दिएको छ ।
हामीले सोध्यौँ तः बहिनी यो बच्चा तिम्रै हो ? पुष्पकलाले प्रश्नको सटिक जवाफ दिइन् अरूको भए बोक्दी हुँ? उल्टै प्रति प्रश्न गरिन् । तिम्रो उमेर कति भयो ? १५ वर्ष । तेह्र वर्षमै छुई(मिन्स) भएँ । “सात कक्षा पढ्दै थियौँ गाउँकै इष्टमित्रको केटासँग फोनमा कुरा हुँदा हुँदा लभ पर्यो बिहे भयो उनले भनिन् । ” पढ्ने लेख्ने उमेरमा आमा बन्नु भयो छ ,पश्चात्ताप छैन ? “पश्चात्ताप मानेर के गर्नु ?हाम्रो गाउँको चलन नै यस्तै छ उनले भनिन् । मैले मात्र हो र ! सानो उमेरमा बिहे गरेको ? गाउँमा प्राय सबैको १५-१६ वर्षको उमेर विवाह भइसक्छ उनले थपिन् ।
त्यसै गरी विछ्याँकी देव कन्या भण्डारी पनि १८ वर्ष पुगेकी छैनन् । उनले पिठ्युँमा करिब एक वर्षको बच्चा बोकेकी छिन् , गर्भिणी पनि देखिन्छन् । बालविवाह त्यसमा पनि अपरिपक्व उमेरमा बर्सेनि बच्चा पाउनुको कम्ती सास्ती छैन उनलाई । बाममा ५६ घर परिवार छन्, यहाँ कसैका पनि छाउगोठ छैनन् महिला घरकै कोठामा बस्छन् । तर बालविवाह त घरघरमा छन् स्थानीय सुरलाल रोकायाले भने । यहाँ १५ वर्ष नपुग्दै विवाह गरिहाल्छन् । मागी विवाह भन्दा भागी विवाह (फकाएर भगाउने )बढी हुन्छन् रोकायाको कथन छ ।
“मलाई बिहे गरेको याद छैन , हामी गर्भमै हुँदा बुवाले ज्वाइँ खोज्ने परम्परा छ । १०-१२ वर्षको उमेरमै बिहे गरिदिन्छन् । कतिखेर पढ्ने लेख्ने ! मोवायल फोन सेभ गरी माग्न अरूलाई गुहार्नु पर्छ । सानो उमेरमा बा–आमाले बिहेगरि दिए । २५ वर्षको उमेरमा पाँच बच्चा पाएँ । आजकाल आँग खस्ने पेट दुख्ने विरामले थला परेकी छु ” लम्पाटाकि ३२ बर्सिया लक्ष्मी गुरुङले दुखेसो गरिन् ।
यी त बाजुराको एक गाउँका प्रतिनिधिमूलक घटना मात्र हुन् । बाजुराका गाउँ गाउँमा यस्ता सयौँ उदाहरण छन् । बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार बडिमालिक नगरपालिकामा यो वर्ष मात्र ४४९ महिलाले गर्भ जाँच गराएकी छन् । जसमा १६२ महिला २० वर्ष मुनिका छन् । बडिमालिका नगरपालिका महिला विकास शाखा प्रमुख केशरी रोकाया भने बालविवाह हुनमा थुप्रै कारण भएको बताउँछन् । ती मध्ये बढ्दो सञ्चार र सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग , उमेर नपुग्दै भागेर विवाह गर्ने चलनका कारण जिल्लामा दिन प्रतिदिन बालविवाह बढेका छन् । त्यस्तै नागरिकता बनाउँदा र स्कुल भर्ना गर्दा तिन देखि पाँच वर्ष सम्म उमेर घटाउने प्रचलन छ । यसले पनि जिल्लामा बालविवाह गर्ने सङ्ख्यामा बढी भएको बुझाई उनको छ ।
खास गरी बालविवाह उजुर नै पर्दैनन् ,गाउँघरमै गुपचुप हुन्छन् । यो वर्ष जम्मा दुई उजुरी आएका थिए , मैला सेभहाउस र प्रहरीको रोहवरमा अभिभावकको जिम्मा लगाएका छौँ रोकायाले भने ।
जिल्लामा कुल गर्भवतीमा २५ देखि ३० प्रतिशत महिला २० वर्षमुनिका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी गराए । उमेर नपुगी विवाह गर्दा अपरिपक्व प्रजनन अङ्गमा असर पर्ने जोखिमले बाल तथा मातृ मृत्यु बढी हुने , बच्चामा कम तौल र कुपोषणले मृत्युको जोखिम बढ्छ, पढ्ने लेख्ने उमेरमा बच्चाको स्याहारसुसार गर्नु परेकोले पछि आर्थिक तथा शैक्षिक जीवनस्तरमा नराम्रो असर पर्छ । विद्यालय, अभिभाव। पालिका, र धामी झाँक्री र आम सञ्चारमाध्यम बाट जनचेतना दिन सके क्रमिक रूपमा बालविवाह घटाउन सकिने धारणा स्वास्थ्य प्रमुख पन्तको छ ।
छाउपडी प्रथा सदरमुकाम लगायत अछामसँग सिमाना जोडिएका बस्तीमा अलिक बढी देखिन्छ । तर ग्रामीण भेगमा बाल विवाहको अवस्था हेर्दा कहाली लाग्दो देखिन्छ सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले भने । नागरिकता लिन आएका प्राय महिलाले, उमेर नपुगेर विवाह गरेका देखिन्छन् । “बाल विवाह कानुनी रूपमा अवैध त हो नै यसले मानिसको वृद्धि विकासमा समेत नराम्रो असर पार्छ । ” त्यसैले अभिभावक र विद्यालय स्तरबाट जनचेतना दिनु पर्ने सुझाव सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको छ ।
बाल विवाह गैर कानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहरबाट वञ्चित नगराउन राज्यले कानुनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कन्जुस्याइँ गर्नहुँदैन ।