arrow

कमेनीस्थित लोहन्द्रा पुलको विकल्पमा मोतिपुरमा अर्को पुल

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असार १७ बिहिबार
lohondra.JPG

मोरङ ।  २०७४ साउनमा आएको बाढीले बगाएको मोरङ बेलबारी ५ र ग्रामथान जोड्ने पुल अझै निर्माण भएको छैन । जसका कारण बाढीको समयमा सर्वसाधारण वारिपारि गर्न वञ्चित बनिरहेको बेला त्यसको विकल्पको रूपमा ग्रामथान ४ मोतिपुरमा ८ करोड बढीको लगानीमा अर्को पुल निर्माण भएको छ । 

पूर्वमा बेलबारी ५ र पश्चिममा ग्रामथान ४ मा पर्ने उक्त पुलले दुहबी-तेतरिया-मोतिपुर-चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने स्थानीय बताउँछन् । सङ्घीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि भद्रपुरदेखि इनरुवासम्म जान तथा नयाँ बजार-मोतीपुर- सिद्रहा हुँदै बेलबारीसम्म जानका लागि पनि उपर्युक्त मानिन्छ । 

धरानको सूर्या एन्ड सन्स प्रा.ली. नामक निर्माण कम्पनीले २०७५ वैशाख १३ गतेदेखि काम सुरु गरेको थियो । झन्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याट बाहेक ८ करोड ३५ लाख ४५ हजार ७७८ रुपैयाँ लगानी गरेको छ । कसेनीमा बाढीले बगाएको पुलभन्दा झन्डै ७ किलोमिटर दक्षिणमा पर्ने उक्त पुल निर्माण भएपछि आवतजावतमा धेरै सहजता भएको ग्रामथान ४ का स्थानीय खिलेश्वर सुवेदी बताउँछन् । 

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुरेश झाका अनुसार अबको डेढ महिनाभित्र शतप्रतिशत पुल निर्माण हुने बताए । हाल ९५ प्रतिशत काम सम्पन्न भइसकेको उनको दाबी छ । बेलबारी र ग्रामथान गाउँपालिका जोड्ने पुल यसअघि लोहन्द्राको खोलामा आएको बाढीले बगाएको र त्यहाँ बनिनसकेको कारण यो बाटो एकदमै उपयुक्त रहेको त्यस क्षेत्रका निवर्तमान सङ्घीय सांसद अमनलाल मोदीको भनाइ छ । आफूले निर्वाचनको बेला प्रतिबद्धता जाहेर गरेअनुसार ठुलो मेहनतले पहल गर्दा पुल निर्माण भएको उनको दाबी छ । 

पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए । ‘बाढी आयो भने खोलाबाटै तर्नुपर्ने बाध्यता किसानलाई थियो, पुल बनेपछि खेतीपातीमा जान आउनका लागि पनि किसानलाई सहज भएको छ,’ उनले भने, ‘बेलबारी, कसेनी, मोतिपुर जोड्न मात्रै नभएर झापाको भद्रपुरबाट विराटनगरसम्म आउजाउका लागि पनि यो पुल महत्त्वपूर्ण रहेको छ ।’

‘खेती पारी छ, घर यता छ, यता स्कुल छ उता घर छ, हाटबजार जान आउन पनि असहज अवस्था थियो,’ ग्रामथान-४ का स्थानीय खिलप्रसाद दाहालले बताए, ‘पुल निर्माण भएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’सोही पुलको सुरक्षाका लागि बाँध निर्माण पनि धमाधम भइरहेको छ । ४८ लाख रुपैयाँ लागतमा यस वर्ष बाँध निर्माणको काम भइरहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनियर कृष्णप्रसाद खतिवडाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ