ओली-नेपाललाई भेटाएर मन माझामाझ गराइने, सहमतिको खाका तयार
दोस्रो पुस्ताका एमाले नेताहरूलाई भविष्यको चिन्ता
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार १७ बिहिबार
957
Shares
फाइल तस्बिर
काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीले आन्तरिक विवाद मिलाउने क्रममा पार्टीको पुरानै संरचना फर्काउन तयार भएपछि माधव नेपाल पक्ष केही लचक भएको छ। वार्ता र छलफलकै माध्यमबाट विवाद सुल्झाउन तयार रहेको सन्देश प्रवाह गर्दै उनीहरू लचक भएको सङ्केत गरेका हुन्।
एमालेको आन्तरिक विवाद निरूपण गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षले महाधिवेशन आयोजक कमिटी भङ्ग गरेपछि वरिष्ठ नेता नेपाल समूहले राखेको स्थायी कमिटी सदस्यहरूको बैठकमा मिलेरै जाने तर ओलीले अझै पनि विधिको पालना नगरेका कारण शुक्रवारको बैठकमा सहभागी नहुने भए पनि वार्ता र संवादलाई बढी नै जोड दिने पक्षमा उभिएका हुन्।
बिहीवारको बैठकमा धेरै जसो नेताहरूले मिलेरै जानु पर्ने विषयमा जोड दिएको तर ओलीले अझै पनि नवौँ महाधिवेशनको विधान पालना नगरेका कारण विधान अनुसार नै बैठक बोलाउनु पर्ने , केन्द्रीय कमिटीको बैठक बस्नु अघि नेपालसहितका नेताहरूको स्थायी कमिटी बैठक बोलाउनु पर्ने भन्दै नेताहरूले असार १८ गते अर्थात् शुक्रवारको बैठकमा नजाने भएका हुन्।
विधिको शासन पालना गर्ने पार्टीले अन्यथा निर्णय नभएसम्म अदालतको आदेश पालना गर्नु कर्तव्य भएकाले फैसलालाई समेत ध्यानमा राखेर आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने र केन्द्रीय कमिटीकै तहबाट सञ्चालित हुने निर्णय बैठकले गरेको छ। यसअघि आयोजक कमिटी र स्थायी कमिटीले गरेको कारबाहीका निर्णय निष्प्रभता बनाएको तथा त्यसले पार्टीलाई एकताबद्ध बनाउने नयाँ आधार सिर्जना गरेको ओली पक्षले बताएपछि नेपाल पक्षले एक प्रकारले जीत भएको महसुस गर्दै वार्ता र संवादमा जोड दिएको हो।
नेपाल समूहभित्रै यो विषयमा निकै बहस भएको स्रोतले जनाएको छ। एक थरी नेताहरूले ओली अब सच्चिन तयार भएको र त्यहीभित्र प्रवेश गरेर ओलीलाई कमजोर पार्नुपर्ने धारणा राखेका थिए। ‘एमाले पार्टी हामीले पनि बनाएको हो, खुरुक्क छाडेर किन हिँड्ने? ओली पक्षलाई मात्रै मैदान खाली गर्ने कुरा आउँदैन ओलीको भन्दा बढी मेहनतपूर्वक पार्टी बनाएका कारण अहिलेकै स्थितिमा पार्टी छाड्न हुँदैन भन्ने मत बलियो रह्यो’, एक नेताले बैठकमा भनेका थिए। उनले पार्टी बनाउने बेलाको दुःखको स्मरण गर्दै ओलीलाई थपक्क छाडेर जान नहुने धारणा राखेका थिए। तर केही नेताहरूले भने त्यहाँ गए पनि ओलीले पेलेर राख्ने भएकाले जान नहुने तर्क राखेको थिए।
भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, प्रमेश हमाल लगायतका नेताहरूले जोडतोडका साथ पार्टी विभाजन गर्न नहुने धारणा राखेका थिए। उनले पार्टीभित्रै अन्त्र सङ्घर्ष गरेर सधैँ नेपाल समूहमै रहन सकिने समेत सङ्केत गरेका थिए। उनीहरूको सो धारणापछि नेपाल पनि गम्भीर भएका थिए।
पार्टी बनाउन सहज नहुने र ७० वर्ष लगाएर बनाएको पार्टी समेत छाडेर जाने हो भने अब बन्ने पार्टी नाम मात्रै बन्ने दोस्रो पुस्ताका नेताहरूको धारणा थियो। उनीहरूले भावनामा बगेर पार्टी विभाजन गर्न नहुने समेत बताएका थिए। नेता नेपाल पनि उनीहरूको कुरामा कन्भिन्स भए पनि ओलीले विधि र नवौँ महाधिवेशनले पास गरेको विधान मान्न तयार नभएकाले शुक्रवारको बैठकमा भने सहभागी हुन नहुने जिकिर गरेका थिए।
बैठकमा सुरेन्द्र पाण्डे लगायतका नेताहरूले ओली पक्षका नेताहरूसँग गरेको वार्ताको विषयमा पनि जानकारी गराएका थिए। पार्टीका सबै साङ्गठनिक संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएर एकताबद्ध रूपमा अगाडि बढाउने ओलीको घोषणापछि नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू अहिले पनि विवाद मिलाउने विषयमा छलफल जुटेका छन्।
तर नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्नु हुँदैन भन्दै नेपाललाई घेराबन्दीमा राख्न खोजेको विषयमा पनि बिहीवारको बैठकमा हलुका छलफल भएको थियो। नेपाल समूहका नेताहरू मध्ये सुरेन्द्र पाण्डे घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य बुधवार साँझ र बिहीवार, साँझ पनि ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमालसँग छलफल गरिरहेका थिए।
युवराज ज्ञवाली, जगन्नाथ खतिवडा, बेदुराम भुसाल, विजय पौडेल, मेटमणी चौधरी, रामकुमारी झाँक्री लगायतका नेताहरूले नेपाललाई घेराबन्दीमा राखेका भए पनि बिहीवारको बैठकमा नेपाल निकै शान्त भएका थिए। नेपाल शान्त भएपछि संवादमा सहभागी नेताहरू निकै उत्साही भएका छन्।
बिहीवार साँझको छलफलमा नेपाल पक्षका नेताहरूले शुक्रवार बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेका छन्। केन्द्रीय कमिटी बैठकको पूर्व सन्ध्यामा संवादमा बसेका उनीहरूले यस्तो आग्रह गरेको स्रोतको दाबी छ। छलफलको क्रममा ओली–नेपाल भेटघाट हुनुपर्ने र मन माझमाझ गर्नु पर्ने नेपाल पक्षका नेताहरूले कुरा उठाएपछि ओली–नेपालको भेटघाट गराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।
‘अहिले साँझको छलफलमा सहमतिको खाका करिब करिब तयार भएको छ। यो खाकासँगै ओली–नेपाल भेटघाट गर्नुपर्छ भन्ने कुरामा पनि हामी सहमत भएका छौ’, नेपाल पक्षका नेता भीम आचार्यले भने। त्यसको जवाफमा ओली पक्षका नेताहरूले अध्यक्ष ओलीसँग छलफल गरेर जवाफ दिने बताएका छन्। समिट होटेलमा बसेको कार्यदलको बैठकमा शङ्कर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए। नेपाल पक्षका नेताहरूले बैठकमा पर्याप्त गृहकार्य नभएको भन्दै शुक्रवार हुने भनिएको बैठकलाई पछि सार्नसमेत आग्रह गरेका हुन्।