- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । केन्द्रमा सञ्चालन भएका कार्यक्रमहरु कोही प्रधानमन्त्रीको नाममा, कोही राष्ट्रपतिको नाममा सञ्चालन भए पछि प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश २ ले सञ्चालन गरेका ठूला वजेटका कार्यक्रममा आफनो नाम जोड्न लोभ जागेको छ ।
प्रदेश २ ले सुरु गरेका ३ वटा ठूला कार्यक्रम विगत ३ वर्षदेखि राउतको नाम जोडेर सञ्चालन भइरहेका छन् । आगामी आर्थिक वर्षदेखि राउतले अर्को एउटा ठूलो कार्यक्रममा पनि आफनो नाम जोड्न लगाएका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ देखि प्रदेश २सरकारले मुख्यमन्त्री हरित अभियान कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रदेश २ले ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्री हरित अभियान कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ ।
उक्त कार्यक्रम झण्डै ५० करोड वजेटको हुनेछ । सो अभियान अन्तर्गत आगामी आर्थिक बर्षमा १ करोड विरुवा रोप्ने योजना बनाइएको छ । एक हेक्टर जमिनमा १लाख २५ हजार विरुवा रोप्न सक्ने अनुमान गरिएको छ ।
विगत ३ वर्ष प्रदेश २मा मुख्यमन्त्री स्वच्छता अभियान र मुख्यमन्त्री बेटी पढाऔ, बेटी बचाऔ अभियान कार्यक्रम सञ्चालन गरिएको छ । मुख्यमन्त्री बेटी पढाऔ, बेटी बचाऔं कार्यक्रम अन्तर्गत मुख्यमन्त्री छात्रा विमा र मुख्यमन्त्री साइकल वितरण गरी २ वटा कार्यक्रम सञ्चालन गरिएका छन् । यी ३ वटै कार्यक्रम ठूला वजेटका हुन् । मुख्यमन्त्रीको नामबाट कार्यक्रम सञ्चालन गरिए पनि यी कार्यक्रमको प्रभाविकारिता माथि महालेखा परिक्षकको सन्ताउनौं वार्षिक रिपोर्टले प्रश्न खडा गरेको छ ।
प्रदेश २का सांसद तथा निवर्तमान उद्योग,पर्यटन तथा वन राज्यमन्त्री सुरेश मण्डलले प्रदेश २मा मुख्यमन्त्रीको नाममबाट सञ्चालन भएका सबै कार्यक्रम लथालिंग अवस्थामा पुगेको बताए ।
प्रदेश २मा ३ वटा ठूला वजेटका कार्यक्रम मुख्यमन्त्रीको नाममा सञ्चालन भइरहको बेला प्रदेश २ सरकारले ल्याउन लागेको हरित अभियान कार्यक्रममा पनि आफनो नाममा राख्न मुख्यमन्त्रीलाई लोभ जागेको उनले बताए । ‘म मन्त्री हुँदा हरित अभियान कार्यक्रम वन मन्त्रालय अन्तर्गत सञ्चालन गर्ने तयार गरेका थियौ तर मुख्यमन्त्रीलाई यस कार्यक्रममा आफनो नाम राख्ने चाहना थपियो’ मण्डलले भने ।
मुख्यमन्त्री स्वच्छता अभियान कुल एक अर्व वजेटको कार्यक्रम हो । चालु आर्थिक वर्ष २०७७र७८मा मात्र करिब २२ करोड वजेट खर्च भएको छ । मुख्यमन्त्री स्वच्छता अभिायन कार्यक्रमा सार्वजनिक स्थल, ऐतिहासिक स्थल, मठ मन्दिर,पोखरीको संरक्षण र सौन्दर्यकरण गर्ने भनिएको छ ।
एउटा पोखरीको संरक्षणमा मात्र १० करोडको हाराहारीमा वजेट छुट्टयाइएको छ । गत आवमा मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत जानकी मन्दिरको स्तरोन्नतीकोलागि ७ करोड २१ लाख ५४ हजार, वीरगञ्जस्थित नागपोखरी सौन्दर्यकोलागि ९करोड ९८ लाख १५ हजार, पर्साको मुरली पोखरी स्तरोन्नतीकोलागि ७ करोड ९८ लाख ७०हजार, छिपटाइ पोखरी स्तरोन्नतीकोलागि ४८लाख ६५ हजार खर्च भएको महालेखाको रिपोर्टमा जनाइएको छ ।
प्रदेश २मा बाटोघाटो, कृषि, पर्यटन, वनमा प्राथमिकता दिनुपर्नेमा अनुत्पादनक ठाउँमा मुख्यमन्त्रीको नाममा वजेट छुट्टयाइएको मण्डलले गुनासो पोखे । प्रदेश २का मुख्यमन्त्री कार्यालयका एक प्राविधिक उच्च कर्मचारीले भने मुख्यमन्त्रीको नामबाट सञ्चालन भएका सबै कार्यक्रम प्रभावकारी भएको दावी गरे । तर पनि उनले आफनो नाम खुलाउन चाहेनन् ।
मुख्यमन्त्री साइकल छात्रा वितरण कार्यक्रम अन्तर्गत गरिएको साइकल वितरणको मौजाद र वितरणको अभिलेख उपलब्ध नगराइएकोले यस कार्यक्रमको प्रभावकारिता एकिन हुन नसकेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
महामारीको कारण प्रदेश २मा लकडाउन भइरहेकै बेला मुख्यमन्त्री साइकल वितरण अभियान कार्यक्रमको नाममा प्रदेश २का छात्रालाई साइकल वितरण गरियो । कोरोनाको बेला भ्याक्सिन वितरण गर्नु पर्नेमा साइकल बाडियो भन्दै यस कार्यक्रमको ठूलो विरोध भयो । पछि यो कार्यक्रम स्थगित गरियो । महामारीको बेला कति मात्रामा साइकल वितरण गरियो यसको लेखाजोखा हुनुपर्ने विपक्षीहरुको माग छ ।
गत आवमा १४ मात्र हजार छात्रा साइकल वितरण गरिएको रिपोर्ट तयार गरिएको छ । साइकल खरिद मूल्य पनि प्रत्येक वर्ष फरक फरक राखिएको छ । यसैगरी मुख्यमन्त्री स्वच्छता अभिायन अन्तर्गत प्रदेश २मा बनाइएका सार्वजनिक तथा छात्रा शौचालयको मापदण्ड तथा गुणस्तरमा पनि प्रश्न खडा भएको छ । एक ठाउँमा शाौचालय बनाउन १५ लाख रुपैयाँसम्म खर्च भएको विवरण बनाइएको छ ।