arrow

अदालतभित्रै विमलाको हत्या : न्यायाधीशका सुरक्षा गार्डले गरेको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
bimala.jpg

इलाम । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको  छ । जिल्ला प्रहरी कार्यालय इलामले मंगलवार पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।  सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उनहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

मृतक महिलाको दाँहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको बताएको प्रहरी प्रमुख श्रेष्ठले बताए । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत थिइन् । अर्धनग्न अवस्थामा फेला परेकी उनी अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेकी थिइन् । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । 

स्थानीय तथा महिला अधिकारकर्मीले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खटिने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता व्यक्त गरेका छन् । इलामका प्रहरी प्रमुख श्रेष्ठले आपराध गर्ने व्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस््याई नगर्नेसमेत दाबी गरे । महिलाको शारीरिक परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ