arrow

कांग्रेसका १० युवा नेताको पार्टी नेतृत्वलाई आग्रहः पार्टी भित्रै अन्याय हुन नदिऔं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टी भित्रै अन्याय हुने अवस्थाको अन्त्य गर्न कांग्रेसका १० युवा नेताले नेतृत्वसँग माग गरेका छन् ।

काँग्रेसका १० युवा नेताहरुले मंगलबार संयुक्त वक्तव्य जारी गरेर क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमुलक कार्यक्रमहरु भइरहेकोप्रति नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले पार्टी भित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि वक्तब्यमार्फत पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

युवा नेताहरु डा.चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा सदस्यता सम्वन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरिएको हो । १४औंं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथीहरुका गतिविधिले आफुहरुको ध्यान तानेको वक्तव्यमा भनिएको छ ।

‘मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशील सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा कृयाशील सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन । पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन’ वक्तव्यमा उल्लेख छ ।

प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशील सदस्यतालाई आफ्नो ठूलो राजनीति पूँजी ठान्ने भएकाले कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न पनि वक्तब्यमा आग्रह गरिएको छ ।

काँग्रेका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु क्रियाशील सदस्यता सम्बन्धी बिवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनसनमा बस्दै आइरहेका छन् ।

‘विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका क्रियाशील सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका क्रियाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ । र आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ’ नेताहरुको आग्रह छ ।

वक्तव्यमा ‘पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथीहरुको विस्थापन हुने गरि जथाभावी गर्नु हुदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ ।’

सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न पनि युवा नेताहरुले आग्रह गरेका छन् ।

वक्तव्यमा बितेका साढे तीन बर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुँदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आश्वास्त तुल्याउनु नयाँ सरकारको दायित्व भएको समेत उल्लेख गरिएको छ ।



नयाँ