arrow

बिपी कोइरालाको शवयात्राको दुर्लभ भिडियो

logo
सन्तोष खडेरी
प्रकाशित २०७८ साउन ६ बुधबार
bp.JPG

३९ बर्ष आजैका दिन वि.स. २०३९ साउन ०६ (तदनुसार सन् १९८२ जुलाई २१) का दिन नेपालका पूर्वप्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोइरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो। बिपी कोइरालाको जन्म वि.सं. १९७४ (सन् १९१४ सेप्टेम्बर ०८) मा पिता कृष्णप्रसाद कोइराला एवं माता दिब्या कोइरालाको कोखबाट भएको थियो। सन् १९१९ ताका बिपीका पिता कृष्णप्रसाद कोइराला राणा शासनको वक्रदृष्टिमा परि भारतमा निर्वासित भएपछि बिपीको अध्ययन र राजनीतिक जीवनको प्रारम्भ भारतमा नै भयो। सन् १९३७ मा कलकत्ता विश्वविद्यालयबाट बिपीले प्रथम श्रेणीमा विएल उतिर्ण गरेका थिए। त्यसपछि सन् १९३९ ताका उनी केही समय वकालतको अभ्यास गर्न दार्जिलिङ समेत पुगेका थिए।

दार्जिलिङबाट पटना फर्किएर त्यहींको सोशलिस्ट राजनीतिमा लागेका बिपी कोइराला सन् १९४२ को २५ नोभेम्बरमा शान्ति सुरक्षा कानुन अन्तर्गत बिहारको बाँकेपुराबाट गिरफ्तार भए। कोइरालालाई केही समय त्यहींको स्थानीय जेलमा राखिएपछि सन् १९४३ को १२ जुनमा हजारीबाग जेल चलान गरिएको थियो।

सन् १९४४/४५ को हजारीबाग जेलको अभिलेख अनुसार बिपी कोइराला सन् १९३४ ताका कलकत्तामा अध्ययनरत हुँदा उनलाई पहिलोपटक घाँटीको समस्या त्यतिबेलै देखिएको थियो। पछि हजारीबाग जेलमा १३ जुलाई १९४३ मा त्यही समस्या दोहरियो। उनलाई घाँटीको समस्याले भने जीवनका आखिरी बर्षहरु सम्म पनि सताइरह्यो। जेलको अभिलेख अनुसार बिपी कोइरालाले त्यतिबेला जेलमा निकै धेरै पुस्तकहरु पढ्ने गरेको भेटिन्छ।

सन् १९४५ को शुरूवात तिर जेलबाट रिहा भएका कोईरालाले अर्को बर्षको अक्टोबर महिनामा भारतबाट नै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अगाडी बढाउने संकल्प लिए। सन् १९४७ को जनवरीमा 'नेपाली राष्ट्रिय कांग्रेस' को स्थापना भयो र उनी त्यसको कार्यकारी अध्यक्षमा चयन भए। त्यसको दुई महिनामा नै विराटनगर जुट मिलमा मज्दुर हड्ताल भयो र त्यसमा सहभागी हुन उनी भारतबाट विराटनगर आए। २५ मार्चका दिनमा राणा सरकारले जुट मिलमा हड्तालको अगुवाई गर्ने गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी लगायतका अन्य आन्दोलनकारी त्यस्तै आन्दोलनमा सहभागी हुन आएका बिपी लगायतका अन्यलाई पक्राउ गरि काठमाडौं जेल चलान गर्यो।

सन् १९४७ को मे महिना देखि सेप्टेम्बर सम्म उनी काठमाण्डौंमा पद्म शमशेरको जेलमा रहे। उनलाई छुटाउन गान्धी समेतको आग्रह पछि उनी सेप्टेम्बरमा रिहा भएर भारततर्फ प्रस्थान गरे। सोही नोभेम्बर ०५ मा उनले दिल्ली पुगेर महात्मा गान्धी र पण्डित जहवारलाल नेहरुलाई भेटे। दोश्रो पटक सन् १९४८ को अक्टोबरतिर काठमाण्डौं आएका बिपी कोइराला सोही डिसेम्बरको मध्यतिर मोहन शमशेरको सरकारबाट गिरफ्तार भएर जेल चलान भए। डिसेम्बरको मध्ये देखि मे महिनाको अन्त्य सम्म जेलमा रहेका कोईराला जुनको शुरूवात तिर रिहा भइ पुनः भारत पुगे। वि.सं. २००७ सालको राणा बिरुद्ध सशस्त्र क्रान्तिको नेतृत्व गरेका कोइराला त्यसपछि बनेको अन्तरिम सरकारमा करिव ९ महिना गृहमन्त्री भए।

वि.सं.२०१५ सालमा सम्पन्न मुलुकको पहिलो आमनिर्वाचनबाट दुईतिहाई बहुमत हासिल गरि २०१६ जेठमा उनी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीमा नियुक्त भए। २०१६ जेठ देखि २०१७ पुस ०१ सम्म करिव १६ महिना नेपालका प्रधानमन्त्री रहे। २०१७ साल पुस ०१ गते तत्कालीन राजा महेन्द्रले शैन्यबलका आधारमा संसद र सरकार सहित प्रजातान्त्रिक ब्यवस्था नै खारेज गरेर जेल चलान भएका उनी ८ बर्षसम्म जेलमा रहे। वि.सं. २०२५ सालमा नेपालको जेलबाट रिहा भए पछि कोईराला भारत निर्वासनमा गए।

२०३३ साल पुषमा राष्ट्रिय मेलमिलापको नीति भन्दै नेपाल फर्किएका कोइरालामा विमानस्थलबाटै गिरफ्तार गरि पुनः जेल चलान गरियो। उनी र गणेशमानलाई राजद्रोह सहितका ०८ मुद्दा  लगाइयो। वि।सं। २०३४ साल बैशाख जेठताका उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि राजाले उनलाई रिहा गरि उपचारका लागि अमेरिका पठाए। अमेरिकाबाट फर्किए लगत्तै उनलाई पुनः गिरफ्तार गरि जेल चलान गरियो र केही महिनापछि अदालतको।आदेशबाट जमानतमा रिहा भए र पछि उनले ती सबै मुद्दामा सफाई समेत पाए। त्यो साढे दुई बर्षको अवधिमा उनी उपचारका लागि तीनपटक सम्म अमेरिका पुगे

वि.सं.२०३६ सालको जनमतसंग्रहमा उनले बहुदलको पक्षमा मुलुकभर प्रचार गरे। जनमतसंग्रहमा बहुदल पराजित भएपछि पनि उनले त्यसको नतिजा स्वीकार गर्ने प्रजातान्त्रिक संस्कार देखाए। नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रमा रहेर आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेका बिपी कोइरालाको वि.सं.२०३९ साउन ०६ मा निधन भयो।  बिपी कोइरालाप्रती हार्दिक श्रद्धासुमन । (सन्तोष खडेरीको फेसबुक वालबाट साभार गरिएको यो भिडियो बिपी कोइरालाको शवयात्राको हो।)



नयाँ