arrow

के हुँदैछ मुलुकमा ? 

logo
नारायण पौडेल, 
प्रकाशित २०८० पुष २८ शनिबार
narayan-poudel-2080-09-28.jpg

मुलुकमा चौतर्फी बेथिती बढिरहेको छ, थिति बस्न सक्ने अनुमान गर्न सकिएको छैन । लोकतन्त्र, विधिको शासन, नागरिक स्वतन्त्रता, गरिबी उन्मुलन लगायतका विशेषणहरूको प्रयोगसहित मुलुकमा धेरै आन्दोलन तथा निर्वाचन सम्पन्न भयो । जुन आन्दोलनका क्रममा हजारौँ सर्वसाधारण नेपालीहरूको बलिदानीपूर्ण संघर्ष रह्यो । 

तर नेपाली समाजको वृहत्तर हित हुने कार्य अहिलेसम्म भएन । देश विकासको मूल अजेन्डामा केन्द्रित हुनुपर्ने राजनीतिमा लुछाचुँडी छ, बाँडिचुँडी खाने मामिलामा सबैको स्वरमिलान हुन्छ । खर्बौँ रकमका घोटालामा दोषी देखिएका उच्चपदस्थ व्यक्तिहरू उपर छानबिनसमेत हुँदैन । कारबाही हुने गुञ्जायस त हुँदै भएन ।

लोकतन्त्र र निर्वाचनको धज्जी उडाउँदै सत्तासिन हुने तथा संसदमा प्रतिनिधित्व गर्नेहरूको हालीमुहाली देखिन्छ । सर्वसाधारणको दुःखजिलो बचत स्वाहा पार्न मुख्य भूमिका खेल्नेहरू नै सडक तथा सदनमा गर्जिरहेका छन् । विभिन्न आपराधिक प्रकरणहरूमा जेल जानेप्रतिको रोदन र जेलमुक्त हुनेहरूका लागि स्वागतार्थ विजयी उत्सव मनाउनेहरूको घुइँचो अहिले पनि लागिरहेको छ । 

न्यायालय राजनीतिक तथा आर्थिक प्रलोभनमा नराम्ररी फस्नुका साथै कुन मुद्दामा कस्तो फैसला हुन्छ भनी अनुमान गर्न नसकिने भएको छ भने विचाराधीन मुद्दाको सन्दर्भमा राज्यका उच्चपदस्थ भनिने व्यक्तिहरूले भाषणमा नै न्याय अन्यायको किटान गर्दै हिँडेका छन् । राजनीतिक दल आफ्ना नेता तथा कार्यकर्ताहरूलाई लागेको फौजदारी अभियोगमा समेत सामान्य नसिहत दिनसमेत आनाकानी गरिरहेका छन् ।

जनताले जनताका लागि जनताहरूद्धारा गरिने शासन पद्धतिलाई लोकतन्त्र भनिन्छ । जहाँ बहुमतको सदर र अल्पमतको कदर हुने गर्दछ । तर नेपालको सन्दर्भमा यो विशेषता कहिल्यै लागू भएन । अहिले २७५ सिट संख्यामध्ये जम्मा ३२ सिट संख्या भएको पार्टीको नेतृत्वमा सरकार छ भने अर्को २१ सिटे पार्टीलाई सम्पूर्ण सत्ता चाहिएको छ । संसदमा पहिलो र दोस्रो दल बनेका पार्टीहरू मूकदर्शक देखिन्छन् । 

पछिल्लो एक वर्षमा भएका विभिन्न काण्डहरूमा यी सबै साक्षी छन् र दोषी पनि यिनीहरू नै हुन् । तर यिनीहरू आफूलाई दोषी मान्न तयार छैनन् भने आफूहरू चोखिन एउटै डम्फु एउटै तालमा बजाइरहेका छन् । एउटालाई दोषी ठहर गर्दा अर्को तानिने डरले यिनीहरूबीच सन्तुलनको सम्बन्ध स्थापित भइरहेको छ ।

यति छिटै नयाँ जोगीहरू साधु भइसके कि सत्ता पाए अर्को निर्वाचन चाहिँदैन भन्न थाले । बहुचर्चित भगवानको कर्तुत त दिनहुँजसो मिडियाहरूमा प्रमाणसहित छापिन थाल्यो । तर भगवान् भन्नुहुन्छ, ‘मलाई नचलाउनुस् ।’ उहाँले नै करोडौँ रकम चलाइसक्नु भएको रहेछ त । अब उहाँलाई किन चलाउनु, किन अप्ठेरोमा पार्नु ? 

नेपाली जनताले कसको विश्वास गर्ने ? न कानूनले छिनोफानो गर्ने न राजनीतिले, अबको निकास के हो र कसरी सम्भव हुन्छ ? हजारौँको संख्यामा दिनहुँजसो युवाशक्ति विदेश पलायन भइरहेको छ । मुलुक चरम बेथिति, भ्रष्टाचार, महँगी, कालाबजारी, बेरोजगारी जस्ता जटिलताहरूले गाँजिएको छ । देशमा विद्यमान समस्याहरूको समाधानका लागि निकास खोज्नुपर्ने कसले र कहिले हो ?

एकमहिना मात्रै गृह प्रशासन चलाउँदा कस्ता कस्ता काण्ड भए ? आफ्नै सवारी चालक किन र कसरी मारिए ? नागरिकता र विवाह सम्बन्धी विवाद के भयो ? चौतर्फी ऋण असुली गरिएका काण्डहरूमा प्रमाणसहित देखिएका विवादहरूको अन्र्तय के हो ? बनाइन्छ यसरी मुलुक अनि जनताका विश्वास जित्ने तरिका यस्तै हो ?

प्रधानमन्त्रीको पालो कुरेर बसेका पहिलो दलका सभापतिलाई भ्रष्टाचार विरोधी अभिव्यक्ति निकै अप्रिय लाग्छ र उनी कहिँकतै भ्रष्टाचार विरोधी शब्द सुन्न तथा हेर्न सक्दैनन् । उनकै विश्वासपात्र केही समय जेलमा रहँदा उनलाई आफैँ जेलमा बसेजस्तो भयो । जेलमा बस्ने त अरु पनि छन् । तर अरुका प्रति उनलाई कुनै चिन्ता छैन । 

यता पहिलोपटक आफू प्रधानमन्त्री हुनु अगावैदेखि कारोबार थालेको एनसेल प्रकरणमा अहिले आफैँ तेस्रोपटक प्रधानमन्त्रीमा बहाल रहिरहेको अवस्थामा त्यसबारे कुनै जानकारी नै रहेनछ भनेर पत्याइदिनुपर्ने छ ।

उता कथित राष्ट्रवादी दोस्रो ठूलो दलका अध्यक्ष प्रधानमन्त्री पदकै दाउपेचमा कहिले बस्नेत वाला संघ त कहिले प्रसाईँलाई सडकमा उतारेर रमिता हेरिरहेका छन् ।

ललिता निवास प्रकरण समेतमा स्वघोषित रुपमा चोखिएका समाजवादी अध्यक्ष नेपाललाई अझै प्रधानमन्त्रीको धोको छँदैछ भने पूर्व माओवादी विद्धान् भट्टराई त विश्वविद्यालयको उपकुलपतिसम्म प्रतिस्पर्धा गर्न झरिसकेछन् । 

हुनत अझै केही समयसम्म मुलुकको नेतृत्व देउवा, ओली र प्रचण्ड वरिपरी नै घुम्ने जस्तो देखियो । किनकि युवा तथा नयाँशक्ति वा वैकल्पिक शक्ति भन्नेहरू यिनीहरू भन्दा बढी बदमास देखिन थाले । 

कुनै काण्ड बेगरको त नेता नै भएनन्, खोजी कति जनाको भयो भन्ने मात्रै हो । जतिसुकै योग्य र क्षमतावान भए पनि कोही कसैको फेरो नसमाति कुनै पनि व्यक्ति बन्ने वा केही पाउने भएन । यही स्वार्थका कारण अयोग्य व्यक्तिहरूको भजनमण्डली ठूलो हुन गइ दक्ष जनशक्ति विदेशिन बाध्य हुनु परेको छ । 

कम्तीमा पनि दुई चार पटक जाँचिएका व्यक्तिहरूले नयाँ पुस्तालाई अवसर दिने खालको वातावरण मुलुकमा बनेन । यस्तो प्रवृत्तिबाट परिवर्तन सम्भव छैन ।

गत स्थानीय निर्वाचनमा बालेन र हर्क तथा आमनिर्वाचनमा रविको लहर आयो । निर्वाचन पूर्व गगन र विश्वप्रकाशको लहर आउन सक्ने भनी गरिएको अनुमान असफल भयो । यद्यपि गगन र विश्वप्रकाशको व्यक्तिगत रुपमा मतदाताले राम्रो कदर गरे । 

फलस्वरुप अहिलेसम्म पनि बालेन, हर्क, रविहरू चर्चामा नै छन् भने गगन र विश्वप्रकाशको ओझेलमा पर्न थालेका छन् । यद्यपि उनीहरू पार्टीभित्रै आन्तरिक संघर्षमा रहेकाले पनि छायाँमा परेको देखिन गएको हो । 

आखिर जीवनभर राजनीतिक लडाइँ गरेका गगन र विश्वप्रकाशप्रतिको आकर्षण घट्नु र भर्खरै उदाएका बालेन, हर्क तथा रविप्रतिको आकर्षण बढिरहनुको कारण के हो ? यस्तै माहौल अगाडि बढिरहने हो भने मुलुकले निकास तथा विकास पाउँछ कि पाउँदैन ? अब सच्चिनुपर्ने के हो र को हो ? आखिर सबैको साझा एजेण्डा विधिको शासन, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जनालगायत नै हुन् । तर फरक कहाँ र किन पर्यो ?

एउटा निर्वाचन सम्पन्न नहुँदै अर्को निर्वाचनको चिन्ता गरिन्छ । निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धताहरू निर्वाचनको भोलिपल्टै भुलिन्छ । अघिल्लोपटक त्यस्तै भयो, काम गर्न दिएनन्, अब यसपटक ढुक्क हुनुस्, खोला नभएको ठाउँमासमेत पुल हाल्ने काम मेरो भयो भन्नेजस्ता अभिव्यक्ति नेपाली जनताले कहिलेसम्म विश्वास गर्ने ? 

निर्वाचनमा विजयी भएका गगन, विश्वप्रकाश, रवि, बालेन, हर्क लगायतहरूबाट कानून बमोजिम जनहितका कार्यहरू कहाँ कहाँ कति भए, मतदाताले उनीहरूलाई आफ्ना समस्याहरू राख्नका लागि भेट गर्न पाए कि पाएनन् ? उनीहरूबाट जनप्रतिनिधिकै हैसियतमा कामहरू भएका छन् कि छैनन् ? कि फेरि उनीहरू अघिल्लोपटक गर्न दिएनन् अब गर्छु, मलाई एकपटक विश्वास गर्नुस् भन्न आउनेवाला छन् ? 

अब सम्पूर्ण नेपाली जनता पनि आफ्नो स्तरबाट देश विकासका लागि चिन्तित हुनुपर्ने बेला आएको हो कि विचार गरौँ । सँधैभरि लहडका भरमा अगाडि नबढौँ ।

अन्त्यमा, देशका कुनै पनि क्षेत्र थितिमा छैनन् । थिति बेगर स्थिति मजबुद बन्दैन । जबसम्म हाम्रो स्थिति बलियो हुँदैन, तबसम्म हामी दास सरह हुन्छौँ । देशको राजनीतिक, न्यायिक, शैक्षिक आर्थिकलगायत स्वास्थ्य तथा सुरक्षासमेत हाम्रो नियन्त्रणमा छैन । 

यस्तो अवस्थामा हामी अब पनि जता घाम लाग्छ, त्यतैमात्र दौडिने हो भने देशको अस्तित्व नरहन पनि सक्छ । हुनत यस्तै अराजकतामा फस्टाउने वर्गको बाहुल्यता हुँदै गएकाले मुलुक तथा समाजमा दण्डहीनताले प्रश्रय पाउँदै गएको हो । 

त्यसैले मुलुकमा व्यवहारिक रुपमै नैतिकता देखिने कार्यहरूको वृद्धि नहुने हो भने थप जटिलता उत्पन्न हुन सक्नेमा सबै सचेत हुनुपर्ने बेला भएको छ । (लेखक अधिवक्ता हुन्) ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ