arrow

कसका बाख्रा, कसका गाई ?

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
badri-ojha-81-01-11.jpg

एउटा गज्जबको कथा छ । 

कुनै गाउँमा एक जना उदार उद्योगपति थिए । ऊ बेला आज झैं बिजुलीको सुविधा थिएन । उद्योग चलाउन धेरै पानी लाग्ने । ती उद्योगपतिले विचार गरे । 

यी छिमेकी गाउँलेहरुलाई कति पानीको समस्या होला । विचराहरुले कहाँबाट पानी ल्याउलान् । बरु धर्म पनि हुने कर्म पनि चल्ने एउटा कल गाढिदिनुपर्यो । कल गाढिदिए । सारा गाउँले गद्गद् भए । 

उद्योगपतिले १० प्रतिशत पानी गाउँतिर र ९० प्रतिशत पानी आफ्नो ट्यांकीमा जम्मा हुने व्यवस्था गरेका थिए । 

गाउँका बूढाबूढी, केटाकेटी, अशक्त सबै आएर कल पेल्थे । थोरै पानी आउँथ्यो । जे भए पनि यति त खान पाइयो । धन्य साहुजी, तपाईंको जय होस् भन्थे । साहुजीको सधै जय नै हुन्थ्यो । चाहिँदो पानी पाएका थिए नै ।

अब अर्को कथा हालौँ । 
एउटा नयाँ पार्टीका सभापतिले भनेः मलाई बहुपत्नीको आरोप र उनलाई बाख्रा अपचलनको आरोप सधैंका लागि लाग्छन् । 

हो पनि उल्लेखित नेता मानौं उनको नाम रहेछ, ं श्यामसुन्दर । उनी माननीय हुनुअघि कुनै बाख्रा फार्म चलाउँदा रहेछन् । पछि उनले सरकारी कृषि अनुदानका लागि आवेदन दिए । उनको आवेदन छनोट पनि भयो । जब पैसा लिने बेला भयो, उनी सांसद भए । 

सांसदको हैसियतले उनी संसदको कृषि समितिका सभापति पनि भए । कृषि समिति अन्तर्गत देशका सबै कृषि कार्यक्रम चल्ने भएकाले सोही समितिको सभापतिले अनुदान लिँदा स्वार्थ बाझिने तथ्यलाई कृषिकै कुनै कर्मचारी सुझाएछन् । 

उपआयोजना जसले अनुदान पाउँदै थियो, त्यसका प्रबन्धकले हाम्रो संस्थाका अध्यक्ष माननीय फलाना सम्मानित सदनको कृषि समितिको सभापति चयन भएकाले हाम्रो संस्थाले अनुदान लिँदा स्वार्थ बाझिने हुँदा हाम्रो उपआयोजना रद्द गरीपाउँ भन्ने निवदेन दिए । 

आयोजनाको क्षेत्रीय कार्यालयले उक्त आवेदनमाथि निर्णय दिई उपआयोजना रद्द गरिएको जानकारी केन्द्रमा पठायो । 

कुरा यत्तिकैमा सकियो ।

रहँदै बस्दै जाँदा चुनाव आयो । चुवानी प्रोपागान्डा शुरू भयो । एकजना वाम नेताले उल्लेखित नेतामाथि सरकारी अनुदान अपचलनको आरोप लगाए । 

जुन सरकारी निकायले अनुदान दिने थियो, उसले अनुदान नलगेको जानकारी सार्वजनिक गर्यो तर त्यसमाथि वास्ता गरिएन । 

अब अर्को एउटा प्रसंग जोडौँ ।
सोही सरकारी निकायबाट अर्का वाम व्यवसायी मानौँ उनको नाम रहेछ रे हरिसुन्दर । माथिका उदार उद्योगपति झैं लाग्ने । उनले पनि आवेदन हाले । 

अझ श्यामसुन्दरभन्दा अघिल्लै साल । पास पनि भयो । त्यसताका किसानको सुविधाका लागि भनेर सरकारले पेश्की दिने प्रचलन थियो । 

पेश्की पाएपछि किसानले आफ्नो पक्षको हिस्सासहित मिलाएर काम फत्ते गरेपछि पेश्की फर्छ्योट गरी अर्को किस्ता वापतको फेरि पेश्की दिइन्थ्यो । 

बरु श्यामसुन्दरका पालामा आइपुग्दा सो प्रचलन बन्द भइसकेको थियो । याने कि उनले पेश्की पाएनन् । 

यसअघि नै हरिसुन्दर जस्तै धर्मात्मा दुईचार जनाले सरकारी पेश्की अपचलन गरी नेटो काटेपछि सरकारले पेश्की प्रचलन बन्द गरिदियो । 

ती नेटो काट्नेबाट सरकारी बाँकी उठाउन निकै कसरत गर्नुपरेको थियो । एकदुई चलाकका कारण सारा कृषि पेशा नै वक्रदृष्टिमा पर्यो । 

फेरि कुरा गरौँ वाम व्यवसायीको । कुरो भो समाजवादको । उनले सामूहिक गाईपालन गरी सो क्षेत्रकै गरिबी न्यूनीकरणमा योगदान दिने घोषणा सहितको प्रस्ताव हालेका थिए । 

चिटिक्कका मान्छे । अति मीठो बोल्ने । अति मृदुभाषी तिनी । त्यसमा पनि पूर्वमन्त्री । कसले विश्वास नगर्ने र ? लेखाइ उस्तै राम्रो । फिल्ड हेर्न जाँदा पनि बिछट्टै काम होला झैँ लाग्ने । कसको कुन साइनो पर्नेले रोक्न सक्ने उनलाई ? अनुदानका लागि छनोटमा परे । 

निकै लामो अवधि बित्दा पनि पूर्वमन्त्रीले काम गरेको जानकारी पाइएन । एक दिन हिम्मतै गरेर सरकारी कर्मचारीले चिठी काटे – यति दिनभित्र पेश्की फिर्ता गर्नु नत्र वैकल्पिक मार्ग प्रशस्त गरिनेछ । 

झट्का लाग्यो कृषिका नेतालाई । हतारहतार लिखित जवाफसहित सरकारी निकाय धाए । दुई महिनाभित्रमा काम पूरा गर्ने वचन दिए । यस्तै एक डेढ महिना के बितेको थियो— सरकारी निकायमा खबर आयो । 

ए, आज त ती वाम व्यवसायीको नयाँ गाई फार्मको उद्घाटन रे । कृषि मन्त्री जाने रे । मिले जाओ है । 

विभागीय मन्त्री नै जाने भएपछि कर्मचारीले जानै पर्यो, गए । 

खुब भाषण भए । जो कार्यक्रमका सञ्चालक थिए, उनी फोटोग्राफरलाई क्लिक गर्न संकेत गर्थे । सरकारी निकायमा कार्यरत भिडियोग्राफरलाई भिडियो डाउनलोड गरेर यतै छोड्नु कहाँ कहाँ प्रसारण गर्नुपर्छ हामी गरौंला भनेर आदेश पनि दिनपछि परेनन् । 

सहकारी संस्था गठन गरियो । साधारण सभा पनि भयो । नयाँ गोठ । राम्रा गाई । दैनिक चार पाँचसय लिटर दूध उत्पादन । सहकारीले खरीद गर्ने । सब ठीकठाक । कति राम्रो । 

विज्ञ टोली अनुगमनमा गयो । सोधखोज । कागजपत्र । खरिद प्रक्रिया । बनिबनाउ । सब ठीकठाक । भुक्तानीका लागि सिफारिस आयो । भुक्तानी भयो । सब ठीकठाक । 

कहीं कतै उता ट्यांकीमा जाने पाइप देखिएन । 

उपआयोजना सम्पन्न भयो । 

पाँच सात महिना वा वर्ष दिन नै पछि होला । अख्तियारबाट पत्र आयो । हरिसुन्दरको गोठमा अपचलनको आरोपमा निवेदन परेको छ । अब शुरु भयो लफडा ।

फलानो झ्याल, बयान, अनुसन्धान, तहकिकात, प्रविवेदन यस्तै यस्तै । 

भएको के रहेछ भने त्यो अघिल्लो साल उद्घाटन गरिएको गोठ कुनै महिलाको रहेछ । ती महिला पनि हरिसुन्दर कामरेडकै कार्यकर्ता रहिछिन् । हरिसुन्दरले वर्षको निश्चित रकम दिने भनेर करारनामा  गरी गोठ भाडामा लिएका रहेछन् । 

अनुदान पचाएपछि देखाजाएगा । बीचमा पैसामा के किचलो निक्सियो राम जाने, महिलाले मुद्दा हालिन् । पछि मुद्दा कसरी मिल्यो, सायद केही रकम फिर्ता भयो होला सरकारी कोषमा ।

यो कुरो कुनै दिन मिडियामा आएन । कसैले चुनावी मुद्दा बनाएन । थाहा भएका कतिपय राजनीति मिल्ने भएर चुप लागे । कतिपयले प्रोपागान्डा नगर्ने भनेर चुप लागे । जसलाई मसला चाहिएको थियो, उसले सुइँको नै पाएन । 

जो सरकारी रकम अपचलन गरेर पछि हर्जना तिरेर सफेद भयो, ऊ अझै ठमठम हिँड्छ, मुसुमुसु हाँस्छ । 

चस्मामाथिबाट पुलुक्क हेर्छ र देशको अवस्थामा फिस्स हाँस्छ । ऊ सधैं ओभानो हुने भो । आखिर गाउँलेलाई पानी जो ख्वाएको छ । 

जो  भविष्यमा प्रश्न उठ्ला भनेर सजक रहन्छ, ऊ सधैं घोचपेचमै जीवन बिताउँछ । कहिलेकाहिँ जंगिन्छ, अनि मत्थर हुन्छ । ती माथिका सोझा गाउँहरुले कल पेल्दा बल परे झैं । 

गाउँलेहरुले कहिले उदार उद्योगपतिको सक्कली रुप देख्न पाउलान्  ? ऊ बेला ठूलो हंगामा हुँदो हो ।  समाल्न निक्कै हम्मेहम्मे पर्दो हो । 

अहिले त तैँ चुप मैँ चुप । आमसञ्चारवालाहरु कहिलेकाहिँ सो गाउँमा जान्छन्, मन छुने फिचर लेख्छन्, मनछुने भिडियो बनाउँछन् । रेडियोमा बुलेटिन बज्छ । हैट गाउँलेहरु त पीडित पो रहेछन् त । 

फेरि चुनाव आउँछ । सक्रिय सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टीआरपी । फेरि बाख्रा ब्युँझिए । बोकाहरु जोसिए । 

साँझ बिहान । गफगाफ । दुईचार चुस्की । सरसापटी । यता ड्रप । उता पिकअप । 

कामरेड फलाना । फलानो गुटका । फलानो दाइ । फलानो भाइ । फलानो गुटको । ठीकै छ । यस्तो हुनैपर्छ । यस्तै यस्तै । 

यो बेलामा कसले ती गाउँलेको पक्ष लिन्छ र ? अहिले जस्तो मौसम छ त्यस्तै बाँसुरी बजाऔं न भैगो नि । किन बढी जान्ने हुनुपर्ने ? 

 क्या मज्जा । क्या दामी गणतन्त्र, क्या दामी संघीयता, क्या दामी लोकतन्त्र । 

हो हाम्रोमा साँच्चिकै संघीयता जस्तै जस्तै देखिने संघीयता लागू भएको छ । झण्डै लोकतन्त्रकै शैलीको लोकतन्त्र व्याप्त छ । करिब करिब गणतन्त्र जस्तै मोडलको गणतन्त्र छ । 

त्यसैले त टिकटक चल्छ । बन्द भएकै निकायमा चल्छ । बन्द गर्नेकै भाइभतिजाबाट चल्छ । उनकै सुन्दर छोरीबेटीबाट चल्छ । मुख छोपेर पिलिक्क हेर्दा रमाइलै लाग्छ, कतै हेरेको अरुले नदेखोस् । 

त्यसैले चस्मा लगाउने हरिसुन्दरहरु फिस्स हाँस्छन् । श्यामसुन्दरहरु मुरमुरिन्छन् । अब फेरि चौरासीमा बाख्रा कराउलान् । बोका जोसिएलान् । टिकटक बन्लान् । फेरि सुन्न पाइने होला । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ