arrow

कांग्रेस पदाधिकारी बैठक : वडा अधिवेशन सार्ने सहमति

सदस्यताको विवादमा अनसन बसेका नेतासँग वार्ता गरिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ८ शुक्रबार
duba-home.jpg
तस्बिर : प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास

काठमाडौं । महाधिवेशनका विषयमा छलफल गर्न भन्दै १० बजे शुरु भएको नेपाली कांग्रेसको पदाधिकारी बैठक वडा तहको अधिवेशन सार्ने सहमतिपछि सकिएको छ । 

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा भएको बैठकमा नेताहरुबीच वडा तहको अधिवेशनको मिति संशोधन गर्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति बनेको हो । 

वडा तहको अधिवेशन कहिले गर्ने भन्ने विषयमा भोलि (शनिवार) बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

‘बैठक सकियो, वडा तहको अधिवेशनलाई सार्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा छलफल र सहमति भयो, थप निर्णय भोलि हुन्छ ।’ नेता केसीले हाम्राकुरासँग भने । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान तर्फ नेतृत्वले ध्यान नदिएको प्रति गुनासो गरेका थिए । उनले नयाँ सदस्यता दिने नाममा पुरानालाई पाखा लगाइएको भन्दै आपत्ति जनाएका छन् । 

यस्तै समायोजनका नाममा विधि र प्रक्रिया मिचिएको र क्रियाशील सदस्यतामा देशभरि गडबडी गरिएको भन्दै पौडेलले सभापतिको ध्यानाकर्षण गराए । 

यसैगरी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी कार्यालयमा जारी धर्ना तथा अनसनको अन्त्य गर्नेतर्फ ध्यान दिन सभापति देउवालाई आग्रह गरेका छन् । 

बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले राजनीतिक अवस्थाका विषयमा धारणा राखे भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नेता रमेश लेखकले सदस्यता छानबिनमा भएका प्रगति र देखिएको समस्याका बारेमा नेतृत्वलाई जानकारी दिए । 

बैठकमा सदस्यताको विवाद जिम्मेवारी तोक्ने विषयमा पनि नेताहरू सहमत भएका छन् । सकेसम्म आज नै अनसनमा बसेका जिल्ला तहका नेताहरूसँग वार्ता र सहमतिको प्रयास गर्ने नेताहरुबीच सहमति बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ