arrow

अन्तिम समयमा कस कसले धोका दिए ठाकुरलाई ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ११ सोमबार
Mahanta_Thakur.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सबैले बलेको आगो ताप्छन् भने झैँ जनता समाजवादी पार्टीको आधिकारिकताको विवादमा अन्तिम समयमा आफ्नै मान्छेले महन्थ ठाकुरलाई धोका दिएका छन्। उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने निश्चित भए पछि यसअघि ठाकुरलाई साथ दिएका केही कार्यकारिणी सदस्यहरूले सोमबारदेखि ठाकुरको साथ छाडेका छन्। 

आयोगले सोमबार जसपाका ५१ जना कार्यकारिणी सदस्यहरूको हेडकाउन्ट गरेको थियो। हेडकाउन्ट गर्न जसपाका दुवै पक्षका कार्यकारिणी सदस्यहरूलाई आयोगमा बोलाइएको थियो। 

उपेन्द्र यादव पक्षले आफू निकट कार्यकारिणी सदस्यहरू रातारात कित्ता परिवर्तन गर्न नसकुन् भनी गोदावरीस्थित एक रिसोर्टमा राखेको थियो। यादव पक्षका कार्यकारिणी सदस्यहरू सोमबार बिहान रिसोर्टबाट सोझै निर्वाचन आयोग पुर्‍याइएको थियो । तर महन्थ ठाकुर पक्षले आफू निकट कार्यकारिणी सदस्यहरूलाई रिसोर्टमा राख्ने काम गरेन । कमसेकम १९ जनाले साथ दिन्छन् भन्ने ठाकुरलाई विश्वास थियो । 

आइतबारसम्म जसपाका कार्यकारिणी सदस्य मनिष सुमन ठाकुरकै पक्षमा थिए । सोमबार बिहान उनले अकस्मात् कित्ता परिवर्तन गरे । आफूले कित्ता परिवर्तन गरेको जानकारी निर्वाचन आयोग पुग्नुभन्दा केही क्षण अघि मात्र उनले राजेन्द्र महतोलाई जानकारी गराएका थिए । यसै गरी ठाकुर पक्षबाट केपी ओली नेतृत्व सरकारमा सहभागी भएका राज किशोर यादवले पनि उपेन्द्र यादवको पक्षमा सनाखत गरे । 

जेलमा रहेका रेशम चौधरीले आफूलाई सहयोग गर्छन् भनी ठाकुरलाई पूरा विश्वास थियो । किनभने उनी पहिले राजपाका थिए । त्यो भन्दा पहिले उनी राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा थिए । चौधरी निर्वाचन आयोग त गए तर ठाकुरको पक्षमा खुलेनन् । बरु तटस्थ बसेको घोषणा गरे । चौधरीबाट पनि ठाकुरलाई धोका भयो । आइतबारसम्म उपेन्द्र यादवको पक्षमा ३२ जना र ठाकुरको पक्षमा १९ जना कार्यकारिणी सदस्यहरू उभिएका थिए तर आयोगमा हेडकाउन्ट हुँदा दोब्बर भन्दा बढी सदस्य यादवको पक्षमा देखिए । 

त्यसो त, ओली सरकारमा सहभागी भएकी प्रतिनिधि सभा सांसद रेणुका गुरुङले ठाकुरलाई पनि धोका दिएकी छन् । गुरुङले पनि कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेकी छन् । गुरुङ कार्यकारिणी सदस्य भने होइनन् । 

यसै गरी अर्का प्रतिनिधि सभा सांसद प्रमोद साहले खुलेरै ठाकुरलाई धोका दिएका छन् । उनले पनि कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ