arrow

जीप दुर्घटनामा परी ज्यान गुमाउने तीनैजना गुल्मीका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
accident-final_1618120153.jpg

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका-४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका-५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका-२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनीहरूको घटनास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रकोट गाउँपालिका-६ की विनिता परियार, ७ की मुना भण्डारी, ४ का गगन क्षेत्री, ५ का जीप चालक बमबहादुर विक, ८ का सुशील विक, ७ का गोकुल भण्डारी र रेसुङ्गा नगरपालिका-२ की रमिला भण्डारी रहेका छन् । घाइतेमध्ये गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने अन्य चार जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । घाइतेमध्ये पाल्पा लगिएका दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । 

बुधबार बिहान चन्द्रकोट गाउँपालिका-४ अन्र्तगत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नंको जीप बुधबार बिहान ११ बजे मुसिकोट नगरपालिका-४ अन्तर्गत इन्द्रेगौँडाको दोभान नजिकै दुर्घटना भएको थियो । 

दुर्घटनामा परेकालाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । “जिल्ला प्रशासन कार्यालयमा कामका लागि बिहान रुपाकोटबाट जीपमा चढेर आउँदै थिए, त्यहाँ नजिकै आउँदै गर्दा सडक कुनामा थोरै पहिरो खसेको थियो । बाटो सजिलै थियो, अचानक कसरी दुर्घटना भयो थाहै भएन”, दुर्घटनाका घाइते गोकुल भण्डारीले सुनाए । 

दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ