arrow

जिपिएस प्रयोग सुरु गरेपछि काभ्रे–सिन्धु एकीकृत एम्बुलेन्स सेवा प्रभावकारी

logo
राजकुमार पराजुली
प्रकाशित २०७८ साउन १५ शुक्रबार
Ambulance-tracking-ek-solut.jpg

काभ्रेपलान्चोक। पिसाब बन्द भएर सिन्धुपाल्चोकको बाह्रबिसेबाट उपचारार्थ बुधवार काभ्रेपलान्चोकको धुलिखेल अस्पताल आउने क्रममा एम्बुलेन्समै ७६ वर्षीय एक वृद्धलाई निकै पीडा भइरहेको थियो । एम्बुलेन्सकै तालिमप्राप्त स्वास्थ्यकर्मीले ‘क्याथेटर’ हालेर पिसाब बाहिर निकालिदिएपछि ती वृद्ध सन्चो मानेर निकै खुसी भए ।

“स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवाले निकै सुविधा प्रदान गर्न सक्छ”, धुलिखेल अस्पतालका मुटुरो विशेषज्ञ डा राजेन्द्रमान कोजूले भने । उनका अनुसार उपचारका लागि बिरामी बोक्ने एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मी हुनु आवश्यक छ । बाह्रबिसेको एम्बुलेन्सबाट धुलिखेल आउँदै गरेका ती बिरामी वृद्धले काभ्रेपलान्चोक र सिन्धुपाल्चोकद्वारा सञ्चालित एकीकृत एम्बुलेन्स सेवा लिइरहेका थिए ।

दुई छिमेकी जिल्लाबीचको एकीकृत एम्बुलेन्स सेवा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख महिनादेखि पुनः सञ्चालन गरिएको थियो । यो सेवाले हाल निरन्तरता दिइरहेको छ । कोरोनाका बिरामीलाई उपचारार्थ अस्पताल जान एम्बुलेन्सको अभाव हुन थालेपछि दुई जिल्लामा रहेका एम्बुलेन्स समेटेर गत वर्ष नै ‘एकीकृत एम्बुलेन्स सेवा’ सुरु गरिएको हो ।

एकीकृत सेवा सञ्चालनार्थ काभ्रेपलान्चोकको धुलिखेल सामुदायिक अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मक रूपमा सञ्चालन गरिएको थियो । केन्द्रका अनुसार सेवाको सङ्ख्या गत सालदेखि हजार पुगेको छ । “एम्बुलेन्सका लागि फोन आउँदा नजिकको एम्बुलेन्सलाई समन्वय गरी पठाउने गरिएको छ, यसबाट समयको बचत र सेवा दुरुस्त हुन मद्दत गर्दछ”, कोजूले भने । उनका अनुसार दुई जिल्लाका अन्य स्वास्थ्य संस्थाबाट यस्तो सुविधाका लागि निकै दबाब आइरहेको छ ।

काभ्रेपलान्चोकका ४२ र सिन्धुपाल्चोकको ३१ एम्बुलेन्समा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमणको फैलावटका आधारमा विशेष गरी एम्बुलेन्स अभावको वर्तमान समयमा यो सेवा निकै प्रभावकारी मानिएको छ ।

उक्त जिपिएस प्रणाली जडान र सफ्टवेयर मार्फत एम्बुलेन्सहरूको वास्तविक स्थिति थाहा पाउन सजिलो उपाय  ईके सोलुसन्स प्रालीले गरेको हो। इके सोलुसन्सका अनुसार सबै एम्बुलेन्सहरूमा जिपिएस जडान गरे पछि उनीहरूलाई 'ट्रयाक' गर्न सजिलो हुने र नजिकको एम्बुलेन्सलाई बिरामीसम्म पुर्‍याउन सहज भएको छ। ईके सोलुसन्सले यो सेवा देशैभरि सञ्चालन गर्न सके बिरामीहरूले समयमै उपचार पाउने एवं एम्बुलेन्सहरूको उचित प्रयोग हुने बताएको छ। 

बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको छ । काभे्रपलाञ्चोकमा ‘क’ वर्गको (भेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवन रक्षा सामग्री भएको) एक, ‘ख’ वर्गको (प्यारामेडिक्ससहित श्वासप्रश्वास बन्द भएमा र मुटुको धड्कन बन्द भएको अवस्थामा डिफिब्रिलेशन गर्नसक्ने दक्ष जनशक्तिसहित) पाँच एम्बुलेन्स रहेका छन् । श्रेष्ठका अनुसार जिल्लामा ‘ग’ वर्गका सामान्य एम्बुलेन्स ३६ वटा छन् ।

यस्तै सिन्धुपाल्चोकमा रहेका ३१ एम्बुलेन्समध्ये तीन ‘ख’ वर्गका र बाँकी २८ ‘ग’ वर्गका सामान्य रहेका छन् । सबै एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएपछि दुवै जिल्लाका एम्बुलेन्सको गतिविधि धुलिखेलस्थित डिस्प्याच सेन्टरले गर्दै आएको श्रेष्ठले जानकारी दिए । उनले भने, “बिरामीलाई अस्पताल ल्याउने सवालमा कुनै कमी गरिएको छैन ।” उनका अनुसार दुवै जिल्लाका एम्बुलेन्समा हाल तालिमप्राप्त चालक र प्यारमेडिक्स परिचालन गरिएको छ ।

सरकारको निर्देशिकाअनुसार धुलिखेल अस्पतालमा सेन्टर स्थापना गरी काभ्रेपलान्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गरिएको नेपालमै पहिलो मानिन्छ । सरकारले गत वर्ष एकीकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ जारी गर्दै देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो–छरितो रूपमा कोरोनाका बिरामीलाई सेवा प्रदान गर्न भनेको थियो । उक्त निर्देशिकामा तीन अङ्कको टेलिफोन नम्बरको व्यवस्था गरी सञ्चार प्रणाली र डिस्प्याच सेन्टर स्थापना गरी उक्त केन्द्रमार्फत एकीकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ