arrow

कुर्कुच्चाको जोर्नी  मर्किएमा प्लास्टर लगाउन पर्छ कि पर्दैन ?

logo
डा कपिलमणि केसी,
प्रकाशित २०८१ जेठ ५ शनिबार
kapilmani-kc-81-2-5.jpg

खुट्टा अथवा कुर्कुच्चाको जोर्नी मर्किने आम समस्या हो। हामीहरुमध्ये धेरैजसोलाई जीवनको कुनै पनि समयमा यो समस्या भएको हुन सक्छ। आधुनिक उपचार पद्दति शुरु हुनु भन्दा पहिला कुर्कुच्चाको जोर्नी मर्किएमा प्लास्टर लगाउने प्रचलन खासै थिएन । 

घरेलु उपचार पद्दतिहरु जस्तै तातो चिसोले सेक्ने, काप्रो बान्ने अथवा लेप लगाउने गरिन्थ्यो । यद्यपि लेप लगाउने र तातोले सक्ने काम आजको दिनसम्म पनि गर्ने प्रचलन छ । वैज्ञानिक रुपमा लेप लगाएर केही बेफाइदा नभए पनि तातोले खुट्टा सेक्दा धेरै नै नकारात्मक असरहरु  देखिन्छ । 
 
प्लास्टर लागाउने प्रविधि खुट्टा मर्किएको अवस्थामा प्रयोग हुने महत्वपूर्ण उपचार पद्दति हो। प्लास्टर लगाउनु भन्दा पहिला मर्किएको खुट्टा कुन ग्रेडको हो भनेर जान्नु जरुरी छ। सामान्य रुपमा मर्किएको खुट्टालाई गरम पट्टि (क्रेप ब्यान्डेज) लगाउने, केही समयको लागि रेस्ट गर्ने, खुट्टा उठाएर राख्ने र चिसो अथवा आइसले सेक्ने । 

यो उपचार पद्दतिलाई राइस थेरापी भनिन्छ । मध्यम र गम्भीर प्रकृतिको खुट्टा मर्किएमा प्लास्टर लगाउन जरुरी हुन्छ। कहिलेकाहिँ गम्भीर प्रकृतिको खुट्टा मर्किएमा शल्यक्रिया पनि गर्नु पर्ने हुन सक्छ।  

प्लास्टर लगाउँदाको अवस्थामा च्यातिएको लिगामेण्ट चल्न पाउँदैन र लिगमेन्ट छिटो जोडिने हुन्छ। प्लास्टर लगाइसकेपछि दुःखाइ पनि निकै कम हुन्छ र दीर्घकालीन रुपमा दुःखाइ बल्झिने सम्भावना कम हुन्छ। 

तर महत्वपूर्ण कुरा के छ भने प्लास्टर लगाइसकेपछि जति सक्यो छिटो खुट्टाले टेकेर हिँड्नु पर्दछ। दुःखाइको मात्रा अनुसार बैशाखीको सहायता बिना हिँड्नु अझ उत्तम हुन्छ। 

प्लास्टर लगाइसकेपछि खुट्टा टेक्न हुँदैन भन्ने धेरै जसोको बुझाइ छ। शल्यक्रिया गर्नु नपर्ने टाइपको कुर्कुच्चाको लिगामेन्टमा प्लास्टर लगाएर हिँड्दा आफ्नो शरीरको तौलले लिगमेण्टलाई प्रेसर दिन्छ र त्यो छिटो हिल हुन्छ।

प्लास्टर निकालेपछिमात्र टेकेर हिँड्ने प्रयास गर्दा लामो समयसम्म खुट्टा सुन्निने, दुख्ने जस्ता समस्या हुन्छन् । कहिलेकाहिँ प्लास्टर नलगाइकन भन्दा प्लास्टर लगाएर लामो समयसम्म टेकेर नहिँड्दा दुख्ने, सुन्निने बढी हुन सक्छ । 

लामो समयसम्म प्लास्टर लगाएर नहिँड्दा पछि गएर खुट्टा सुन्निने, दुख्ने, छालाको रंग परिवर्तन हुने अवस्थालाई रिफ्लेक्स सिम्पाथेटिक डिस्ट्रोफी (आरएसडी) भनिन्छ। यो अवस्था सम्म आइपुग्नु आफैँमा दुर्भाग्यपूर्ण हो । 

कुर्कुच्चाको जोर्नी मर्किएमा गरिने उपचार ट्रिकी हुन्छ । सही तरिकाले उपचार गरेमा छिट्टै सामान्य अवस्थामा पुगिन्छ। कहिलेकाहिँ उपचारको बाटो सही नहुँदा लामो समयसम्म खुट्टा दुख्ने सुन्निने हुनुको साथै अरु जटिल समस्याहरु पनि हुन सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ