arrow

बाँकेमा पत्रकारको आवरणमा प्रहरीसँग पैसा बार्गेनिङ गर्ने दुई पक्राउ 

logo
सौरभ गिरी,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
banke-police.jpg

नेपालगन्ज । बाँकेमा पत्रकारको आवरणमा प्रहरीसँग बार्गेनिङ गर्ने दुई जना पक्राउ परेका छन् । नेपालगन्जमा कार्यालय रहेको एबिपी क्राइम न्युज अनलाइन मिडियाका सञ्चालक आशिष् मल्ल ठकुरी र राजन वैश्यलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 उनीहरू विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए । 

वैश्यले प्रहरीसँग 'तपाईँले पैसा लिइरहेको भिडियो मसँग छ’ भन्दै होटेलमा बोलाएर एक लाख ६० हजार मागेपछि वैश्यसहित ठाकुरलाई बिहीबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताए । वैश्यले सबैका सामु प्रहरीसँग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् । 

यसैबिच नेपाल पत्रकार महासङ्घ बाँके शाखाले पत्रकार आचारसंहिताभित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारहरूलाई अपिल गरेको छ । महासङ्घ बाँके शाखाले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारिता पेशाको बदनाम हुने गरी भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पेशाको हुर्मत लिने गरी भइरहेको अवाञ्छित क्रियाकलापको महासङ्घले घोर भर्त्सना गरेको छ । 

'पत्रकार हौँ भन्दै भन्सार, सीमा नाकाहरूमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती विभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ गर्ने जस्ता कार्य गरेको भनी महासङ्घ बाँकेमा जनगुनासाहरू धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर समाचार सङ्कलन एवं प्रकाशन, प्रसारण गर्न सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासङ्घ बाँके अपिल गर्दछ', विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्ति मार्फत पत्रकार हौँ भन्दै धम्काउने, पैसाको बार्गेनिङ गर्ने जस्ता कार्यले वास्तविक पत्रकारको पेसागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेसा नै बदनाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न सबैमा अनुरोध गरिएको छ ।

 उता,नेपालगन्ज ४ का वडा अध्यक्ष मो. सफिक बेहनाले यस्तो घिनलाग्दो कार्य गरेर पक्राउ परेका दुवै जनालाई कडा कारबाही बाँके प्रहरीसँग आग्रह गरेका छन् । बारम्बार यस्ता गलत प्रवृत्ति दोहोर्‍याउने समाजमा पत्रकार बनेर आतङ्क सृजना गर्नेलाई प्रहरीले तह लगाउनै पर्ने अध्यक्ष बेहनाले भने। आफ्नो बारेमा समेत गलत समाचार प्रवाह गर्ने ठकुरीलाई प्रहरीले पक्राउ गर्दा न्याय मिलेको अध्यक्ष बेहनाले बताए।



नयाँ