- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय सी झिवीलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैध रूपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरी अवैध मदिरा उत्पादन तथा बिक्री गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । उक्त होटेलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरासमेत प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरीले काठमाडौंको ठमेलबाट चिनियाँ नागरिकले मेसिन नै राखेर सञ्चालन गर्दै आएको अवैध रक्सी उद्योग फेला पारेको छ । प्रहरीले शुक्रवार बिहान ठमेलको ज्याठाबाट चीनको जियांङ्सु प्रान्तका ५६ वर्षीय सी झिवेइलाई अवैध रक्सी उद्योग सञ्चालन गर्दै आएको पुष्टि भएपछि पक्राउ गरेको हो ।
उनलाई केही समय अघिदेखि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले निगरानीमा राख्दै आइरहेको थियो । उनी शुक्रवार बिहानैबाट प्रहरीको निगरानीमा परेका थिए । उनले शुक्रवार बिहानै २० लिटरको पानी राख्ने जारमा रक्सी बोकेका थिए ।
त्यो जारमा राखिएको रक्सी उनले एक रेष्टुरेन्टमा लगेर १५ हजार नेपाली रुपैयाँमा बेचेका थिए । त्यसपछि प्रहरीको टोलीले उनको पिछा गरेको थियो । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार उनले अवैध रूपमा रक्सी बनाइरहेको सूचना प्रहरीले पहिले नै पाएको थियो ।
उनले काठमाडौं महानगरपालिका वडा नम्बर २६ ज्याठास्थित छिन्ता लामाको पाँच तले घरमा फ्ल्याट भाडामा लिएरै रक्सी बनाउने गरेको खुलेको छ । सोही घरमा गत वैशाखबाट मात्रै ती चिनियाँ नागरिकले होम स्विट स्मेल होटल एन्ड रेष्टुरेन्ट पनि खोलेका थिए ।
प्रहरीका अनुसार सो स्थानबाट करिब १ सय १३ ड्रममा राखिएका रक्सीका कच्चा पदार्थ र रक्सी बनाउने चार वटा मेसिन पनि फेला परेको छ । प्रहरीले ती चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको जनाएको छ । सो मेसिनबाट रक्सी बनाएर तीन थरी बोतलमा उनले प्याकेजिङ गर्ने गरेको प्रहरीले जनाएको छ ।
बोतल बाहिर भने चिनियाँ अक्षरले लेखिएका छन् । ती अक्षरमा कोदोको रक्सी, जडीबुटी राखेको रक्सी भनिएको छ । ती चिनियाँ नागरिक गत अप्रिल २७ मा पर्यटक भिसा लिएर नेपाल आएको खुलेको छ ।
प्रहरीले सो रक्सी उद्योग सञ्चालनमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै प्रहरीले सो फ्ल्याटलाई सिल गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ भने उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व कार्यालयलाई बुझाएको छ ।