arrow

सुरभी फाउन्डेसनद्वारा धादिङको गजुरीमा खेलकुद सामग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
suravi.jpg

काठमाडौं । समाजसेवी कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले धादिङको गजुरी गाउँपालिकाको गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

खेलकुदको विकास र खेल क्षेत्रमा सक्रिय युवाहरुलाई लक्षित गरी समाजका अध्यक्ष कवि बर्तौलालाई फुटबल, भलिवल, ब्याटमिन्टनलगायतका आवश्यक खेल सामाग्री सुरभी फाउन्डेसनका अध्यक्ष कविन शाक्यले हस्तान्तरण गरेका हुन् ।

गजुरी गाउँपालिका भित्रका विभिन्न स्थानमा राहत सामग्री र स्वास्थ्य उपकरण साथै स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको उक्त फाउन्डेसनले शनिबार खेल सामग्री हस्तान्तरण गरेको हो ।

अध्यक्ष शाक्यले भने,‘आगामी दिनमा गजुरीमा एक जिम सेन्टर स्थापना गर्ने र विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गर्ने सोच बनाएका छौं । सबैको साथ र सहयोगमा आउँदो दशैं या तिहारको अवसरमा भलिवल तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नेछौं ।’ साथै उनले भविष्यमा एम्बुलेन्सको पनि व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

हस्तान्तरण समारोहमा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा बादलले खेलकुदको विकास हुँदा राष्ट्रिय विकास हुने भएकाले खेल क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने बताए । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य भरत भट्टलगायतका स्थानीय नेता तथा समाजसेवीहरुको उपस्थिति थियो ।

यसअघि सुरभी फाउन्डेसनले नै गजुरी गाउँपालिका-१ मा निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न १ सय ११ परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नुन, माक्सलगायतका सामाग्री वितरण गरेको थियो । त्यस्तै गजुरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन र महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गरेको थियो । 



नयाँ