arrow

उज्यालो पर्खदै मनाङ

logo
नवीन लामिछाने
प्रकाशित २०७८ साउन २४ आइतबार
lode-seding1.jpg

मनाङ । विगतमा सबेरै उठेर भान्छाको काम थाल्ने सदरमुकाम चामे गाउँपालिका–४ की समिरा गुरुङ ढिलो गरी उठ्ने गरेकी छन् । विगतमा सबेरै उठेर भान्छाका केही काम सकेर बारीमा तरकारी गोडमेल गर्न समेत भ्याउने गरेपनि अहिले त्यसो गर्न सकेकी छन् ।

विगतमा विद्युत आपूर्ति सहज थियो र सबेरै उठेर भान्छाका केही काम छिटो सकी अन्य काम गर्न सहज हुन्थ्यो । तर, अहिले उज्यालोका लागि दिन नै कुर्नुपर्ने भएको छ । विद्युत आपूर्ति नहुँदा अन्धकारमा काम गर्न समस्या भएको समिरा बताउँछिन् । “बिहान सबेरै उठेर भ्याइने काम विद्युत नहुँदा ढिलो गरी गर्न बाध्य भएका छौं, बिजुली हुँदा बत्ती बालेर समयमा काम गरी अर्को गर्न भ्याउथ्यौं, तर, अहिले उज्यालो पाउने भनेकै दिन भएको छ,”उनले भनिन् ।

“पहिला भान्छाको काम भ्याएर अरु पनि काम भ्याइन्थ्यो, उज्यालोको लागि दिन नै कुर्नुपर्ने हुन्छ, रात पर्नु भन्दा पहिले नै साँझको खाना तयार गर्नुपर्ने बाध्यता छ, उज्यालो छँदै खाना बनाउन भ्याइएन भने रातमा खान नै समस्या हुन्छ, अध्यारोमा बसेर खाँदा खानामा किरा आएर बसेपनि पत्तै पाइदैन, समस्या छ नि सरकारले कहिले उज्यालोका लागि व्यवस्थापन गर्देला भन्दै पर्खेर बस्न बाध्य छौं,” समिराले भनिन् ।

समिरा जस्तै मनाङका मालती घले, सीता गुरुङ जस्ता गृहिणी महिलाहरुलाई भान्छाको चटारो र उज्यालोमा काम भ्याउनुपर्ने हतारोमा हुन्छन् । पर्यटन व्यवसायसँग समेत जोडिएका गृहिणी महिलाहरुलाई अहिले परिवारका लागि मात्रै खाना बनाउने जिम्मेवारी भएपनि उज्यालो नहुँदा समस्या भएको बताउँछिन् गृहिणी सीता गुरुङ ।

उज्यालो नहुँदा भान्छामा मात्रै नभई अन्य कार्यमा समेत समस्या सिर्जना भएको स्थानीय पासाङ लामा बताउँछन् । मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले लघु जलविद्युतमा मात्रै निर्भर रहेको मनाङमा बाढीपहिराले क्षति पुर्‍याएपछि पूर्ण रुपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । विद्युत सुचारु गर्नका लागि हालसालै मर्मत सम्भार गर्न सक्ने अवस्था छैन । सडक सञ्जालबाट मनाङ पूर्ण रुपमा विच्छेद हुँदा विद्युत मर्मत तथा सम्भारका लागि सामग्री ल्याउन नसक्दा कुनै पनि काम हुन सकेको छैन ।

विद्युत आपूर्ति नहँदा रातीमा हिड्न र खाना खान समेत मोबाइलको टर्ज प्रयोग गरेर खानुपर्ने अवस्था रहेको स्थानीय दावा छिरिङ गुरुङ बताउँछन् । “सडक सञ्जाल सहज पनि छैन, तर खोला नदीले क्षति पुर्‍याएको पुलहरुमा काठ राखेर हिड्ने बाटो बनाएका छौं, अध्यारोमा हिड्नुपर्ने भएमा मोबाइलको टर्च बालेर हिडेका छौं,” उनले भने, “बिजुली नहुँदा मोबाइल समेत चार्ज गर्न मुस्किल पर्छ, मोबाइलमा चार्ज नभए अझ अन्धकारमा पुग्छौं, सरकारले मनाङलाई छिटो उज्यालो बनाउने प्रयास गरे हुने थियो, सुनुवाई कहिले होला खै ?” 

मनाङवासी अहिले दैनिकी चलाउनका लागि सहज रुपमा उज्यालो पाए राहत पाउने अपेक्षामा बसेका छन् । तर कहिले यहाँका विद्युत मर्मत तथा सम्भार होलान् र उज्यालो पाउलान् भन्ने निश्चित भने छैन । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले विद्युत आपूर्तिका लागि संघ सरकार र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउँछन् । प्रदेश सरकारले सरकारी कामकाज गर्न सहज बनाउने उद्देश्यले सोलार जडान गरेपनि स्थानीयवासीलाई उज्यालो दिन नसकिएको उनले बताए ।

एक त सडक सञ्जालबाट विच्छेद हुँदा मनाङवासीलाई सकस भएको छ । सडक सञ्जालबाट टाढा भएपछि विद्युत मर्मतका सामग्री ल्याउन सकिएको छैन भने अर्को सरकारले प्राथमिकताका साथ सहज विद्युत आपूर्तिलाई जोड नदिएको स्थानीयको गुनासो छ । मनाङवासीको गुनासोको छिट्टै सुनुवाई हुने नेतृत्व वर्गले बताइरहेपनि कहिलेसम्म सुनुवाई हुन्छ निश्चित छैन । छिटो अन्धकार भएको मनाङमा उज्यालो आउने आशामा स्थानीयवासी पर्खाइमा रहेका छन् ।

सडक सञ्जाल विच्छेद हुँदा अहिले मनाङ आवतजावतका लागि हेलिकप्टर बाहेक अन्य सवारीसाधन उपयोग गर्न सकिदैन । खाद्यान्न, स्वास्थ्य सामग्री लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि पनि हेलिकोप्टर मात्रै प्रयोग भइरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ