arrow

मेसी बिनाको बार्सिलोना बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
barcelona-athletic-bilbao.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा वर्षौंसम्म बागडोर सम्हाल्दै आएका लियोनल मेसी बिनाको बार्सिलोना बराबरीमा रोकिएको छ । लामो समयको यात्रा टुंग्याउँदै मेसीले बार्सिलोना छाडेपछि क्लबले कस्तो परिणाम निकाल्ला भन्ने कौतुहलता कायमै छ । 

शनिबार राति भएको आफ्नो दोस्रो खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो ।

खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई शुरुआती अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्जुरी समयमा इरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर बिल्बाओले कुनै फाइदा उठाउन सकेन । 

यस बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

शनिबार रातिका अन्य खेलमा रियाल बेटिस र काडिज तथा ग्रानाडा र भ्यालेन्सियाले समान १–१ को बराबरी खेले । स्पानियोल र भिल्लारियलले गोलरहित बराबरी खेल्दा मयोर्काले भने जित निकालेको छ । 

मयोर्काले डेपोर्टिभो एलाभेसलाई उसकै मैदानमा १–० गोल अन्तरले हरायो । 

यो जितपछि मयोर्का २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । भ्यालेन्सिया पनि ४ अंकबाट तेस्रो स्थानमा छ । 

अहिलेसम्म रियाल मड्रिड, सेभिया र एथलेटिको मड्रिड १ खेलबाट ३ अंकसहित सत्प्रतिशत नतिजा बोकिरहेका छन् । तीनै टिम क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । 

दुवै खेल हारेको डेपोर्टिभो पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ