arrow

छिनछिनमा बत्ती जाने गुनासोपछि कुलमानले थाले पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
kulman-meeting.JPG

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीय गर्न,वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

विना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने भएको छ ।  

प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याहरूका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन् ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने,‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखाउनु पर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’

उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले भने, ‘विद् युतको माग बढाउन ग्राहकले माग्नसाथ थ्रि फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’

खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मरहरूको मर्मत समयमै आफ्नै वर्कसपमा गरिने छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेसनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइकासाथ पालना गरिने छ ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।

सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले  उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्ने लगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।  

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका कार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीय, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिए । उनले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ