arrow

नेपालगञ्ज नाकाबाट  एक अर्ब ५२ करोडको गेडागुडी आयात

logo
रासस,
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
gedagudi.jpg

बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६-७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६-७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो । 

आव ०७७-७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६-७७ मा रु ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो । आव ०७५-७६ मा रु ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ । 

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताउनुभयो । आव ०७६-७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । “पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,” उनले भने ।

कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६-७७ को तुलनामा धेरै हो । उक्त आवमा रु एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा रु ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आव ०७६-७७ मा रु ४१ करोड ९३ लाखका क्लिङकर आयात भएको थियो । “सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,” कार्यालय प्रमुख भण्डारीले भने, “लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।” 



नयाँ