arrow

हेटौँडामा विद्यालय, ट्युसन सेन्टर खोल्न कोरोनाको डर : नेता कार्यकर्ताको सभालाई छुट 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
makwanpur-cdo.jpg

हेटौँडा । सरकारले केही हप्ता अगाडी काठमाडौँ उपत्यकामा राति ८ बजेपछि अत्यावश्यकबाहेक सबै सवारी साधन चलाउन नपाइने निर्णय गर्‍यो । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय त गर्‍यो, तर विज्ञहरूले भने सरकारको उक्त निर्णय अव्यवहारिक भएको बताए । 

हुन पनि हो, सामान्यतया कोरोनाको जोखिम भिडभाडमा बढी हुन्छ तर सिडिओ सावहरुको यस्तो निर्णयले बाटोमा हिँडेका आम नागरिकलाई सास्ती दिने भन्दा केही गरेन ।

अब कुरा गरौँ मकवानपुरका सिडिओ सावको । यहाँ पनि यस्तै भइरहेको छ । कहिले १० देखि ५ बजेसम्म कोरोना भाइरस नै निष्क्रिय हुने जस्तै गरी बजार सबै खुल्ला छाडिदिने र ५ बजेपछि सङ्कटकालको झल्को दिने गरी पुलिस प्रशासनले आम नागरिक र व्यवसायीलाई गिरफ्तार गर्ने, बैङ्कमा भिडभाड बढ्यो भनेर २ घण्टा मात्र बैङ्क खोल्न आदेश दिने तर ग्राहक भने ठेलमठेल लामो लाइनमा बस्नुपर्ने । यस्ता थुप्रै कुरा हेटौँडाका नागरिकले भोगिसकेका छन् । तर प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेको अव्यवहारिक आदेश र निर्णयका कारण यहाँका आम नागरिक तथा व्यवसायीहरू पिडामा छन् ।

जिल्लामा हाल निषेधाज्ञा कायमै छ । केही व्यवसाय बाहेक अन्य सबै व्यवसाय सञ्चालन गर्न प्रशासनले छुट दिएको छ । १० देखि ५ सम्म बजार खुल्ला तर त्यसपछि बाटोमा बस्नै नहुने गरी प्रहरीले पक्राउ गर्ने तथा दुर्व्यवहार गरेका समाचार बाहिर आउन थालेपछि र प्रशासनको निर्णयको चौतर्फी आलोचना हुन थालेपछि अहिले प्रशासनले बिहानदेखि बेलुकासम्म पसल सञ्चालन गर्न पाइने भनेको छ ।

तर शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सिनेमा हल, सार्वजनिक पुस्तकालय, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिम खाना लगायत हेल्थ क्लब, स्ट्रिट फुड पसल, फुटसल पूर्ण रूपमा बन्द राख्नुपर्ने सिडिओको आदेश छ । यस्ता व्यवसाय अनुमति बिना खोलेको प्रशासनले भेट्टाए सधैँका लागी बन्द गरिदिने प्रशासनको चेतावनी छ ।

तर मकवानपुरका विभिन्न राजनैतिक दल र तिनका भातृ सङ्गठनलाई भने सयौँको सङ्ख्यामा मानिस जम्मा पारी भिडभाड गर्न र कार्यक्रम गर्न मज्जाले पाउँछन् । 

कहिदिन अघि नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घको जिल्ला भेला गर्‍यो । हेटौँडामा भएको भेलामा सयौँको सहभागिता थियो । प्रमुख अतिथि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नै उपस्थित थिए । यो कार्यक्रम प्रशासनले देखे नदेखेझैँ गर्‍यो ।

अर्को दिन नेपाली काँग्रेस मकवानपुरले पनि ठुलै कार्यक्रम गर्‍यो । विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गर्नेका लागि स्वागत कार्यक्रम विभिन्न स्थानमा चलाइरहेको छ । मान्छे जम्मा पारी भिडभाडसहितको स्वागत तथा अनेक कार्यक्रम काँग्रेसले गरिरहेको छ । तर यस्ता कार्यक्रम प्रशासनले देखेको छैन । 

अब बजारकै कुरा गरौँ । माथिका केही व्यवसायबाहेक अन्य व्यवसाय बिहानैदेखि खुल्ला छन् । हेटौँडा बजार कोरोनाको कहर सुरु हुनुभन्दा पहिला जस्तो थियो त्यस्तै नै छ । केही फरक छैन । यातायातका सार्वजनिक सवारीमा कोचाकोच यात्रु हुन्छन् । बजारमा हरेक ठाउँमा भिडभाड छदै नै छ । बैङ्कमा लाइन बस्नुपर्ने बाध्यता उस्तै छ । सरकारी कार्यालयमा सेवाग्राहीहरूको भिड उस्तै देखिन्छ । तर विद्यालय, कलेज, ट्युसन सेन्टर,सैलुन तथा ब्युटी पार्लर जस्ता ठाउँबाट मात्र कोरोना फैलने जस्तै गरी प्रशासनले निर्णय गरेको छ ।

प्रशासनको यस्तो निर्णय अव्यवहारिक भएको भन्दै चौतर्फी विरोधसमेत भइरहेको छ । प्रशासनको यस्तो निर्णय सच्याएर सम्पूर्ण स्वास्थ्य सुरक्षाका विधि अपनाएर शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने अभिभावक सङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा बताउँछिन् ।

हेटौँडाका व्यवसायी कैलाश ढकालले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यात्मक तरिकाले प्रशासनको निर्णयको विरोध गरेका छन् । उनले लेखेका छन्, "सिनेमा घर, जिम खाना जहाँ जति बेला पनि कोरोना सर्छ त्यसैले बन्द हुनुपर्छ । रेस्टुरेन्टमा कुर्सिमा बसेर खाना खादा कोरोना सर्छ । फुटसलमा फुटबल खेल्दा कोरोना सर्छ । ट्युसन सेन्टरमा पढ्न जाँदा कोरोना सर्छ । तर पक्ष र प्रतिपक्षमा रहेका नेता कार्यकर्ताहरूले बुद्ध चोकमा बसेर भिड जम्मा गरेर जिन्दाबाद मुर्दावाद गर्दा सर्दैन । मकै रोप्दा एउटा पार्टीमा गोड्ने बेलामा अर्को पार्टीमा अनि मकै भाँच्ने बेलामा अर्को पार्टीमा पुग्नेहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रममा पनि कोरोना सर्दैन"।

त्यस्तै शैक्षिक क्षेत्रकै व्यवसाय सञ्चालन गरेका किशोर अर्यालले पनि प्रशासनले शैक्षिक क्षेत्रमा मात्र कोरोना फैलिन्छ जस्तो गरेर निर्णय गरेकाले यो अव्यवहारिक निर्णय सच्चिनु पर्ने बताउँछन् ।

 मकवानपुरमा हाल कोभिड १९ का सक्रिय सङ्क्रमित साढे २ सय भन्दा मुनि छ । जिल्लामा हालसम्म ७५ हजार ६ सय भन्दा बढीले पूर्ण खोप लगाइसकेका छन् त्यसमा सम्पूर्ण व्यवसायी, शिक्षक, कर्मचारी, १८ वर्ष भन्दा माथिका बिद्यार्थीलगायतले लगाइसकेका छन् । बढी भिडभाड हुने ठाउँमा भने नियन्त्रण गरेर शैक्षिक संस्था तथा अन्य क्षेत्र पनि सञ्चालन गर्दा कुनै फरक नपर्ने जानकारहरू बताउँछन् ।

अत्यधिक भिडभाड नगर्ने र स्वास्थ्य सुरक्षामा मापदण्ड पालना गरे कुनै डराउनुपर्ने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू पनि बताउँछन् ।

तर जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने अव्यवहारिक निर्णय गर्दा यहाँका शैक्षिक क्षेत्रमा निकै असर परिरहेको त छदै छ, अन्य व्यवसाय पनि मारमा परिरहेको छ ।

प्रशासनले यस्ता अव्यवहारिक निर्णय सच्याएर व्यवसाय लक्षित गर्दै खोल्ने र बन्द गर्नेको समय निर्धारण भन्दा आवश्यकता अनुसारको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराई, अनुगमन गरी अत्यधिक भिडभाड हुन नदिई अन्य क्षेत्र पनि सञ्चालन गर्न दिनुपर्ने सबैको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ