arrow

कांग्रेस जिल्ला सभापतिहरुले अनसन तोड्ने

३५ जिल्लाका सभापति निर्वाचित भएपछि महासमिति सदस्यका लागि प्रतिष्पर्धा गर्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
congress-anasan.jpg

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी अनसन तोड्ने भएका छन् । सभापतिहरुको अनसन तोडाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला सानेपा जाँदै छन् ।

कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले अहिले केहीबेरमा नै अनसन तोड्ने कार्यक्रम रहेको र नेता सिटौला पार्टी केन्द्रीय कार्यालय आउँदै गरेको जानकारी दिए ।

उनका अनुसार देशभरका क्रियाशिल सदस्यताको सूची सार्वजनिक गर्न पार्टी नेतृत्व तयार भएपछि अनसन तोड्न लागिएको हो । यस्तै वडा अधिवेशनसमेत देशैभर एकै दिन गर्ने सहमती शीर्ष तहमा भएपछि अनसन तोड्न लागिएको उनले जानकारी दिए ।

यस्तै जिल्ला सभापतिहरुका लागि विधानसँग बाझिने गरी निर्वाचन निर्देशिकामा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिलाई क्षेत्रीय प्रतिनिधि भए पनि सभापतिमा उठ्न पाउने व्यवस्था गरिएको प्रतिसमेत उनीहरु आन्दोलनरत थिए । सो विषयमा उनीहरुले एकरुपता कायम हुनु पर्ने बताउँदै आइरहेका थिए ।

शुक्रबार राती सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको सहमती अनुसार ३५ जिल्लाका एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिहरु सभापति पदमा निर्वाचित भएपछि महासमिति सदस्यका लागि प्रतिष्पर्धा गर्न पाउने सहमती भएको थियो । 

कांग्रेसको विधानको दफा १२ को उपदफा ५ (क) को (१), (२) र (३)मा जिल्ला सभापति निर्वाचित हुने मापदण्ड उल्लेख छ । सो दफामा जिल्ला सभापतिका लागि समान व्यवस्था अपनाएको छ ।

उपदफा ५ (क) को (१) भनिएको छ, ‘जिल्ला अधिवेशनले कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन गर्नेछ ।’

विधानको व्यवस्था विपरित निर्वाचन निर्देशिकामा भने एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउने तर, विजयी उम्मेदवारले महासमिति सदस्यमा उम्मेदवारी दिन नपाउने प्रावधान राखिएको थियो । यो व्यवस्थालाई शीर्ष तहबाट सच्याउने सहमति भएको हो ।



नयाँ