arrow

मेलम्ची पीडितको पीडा : अहिले विद्यालयले आश्रय दिएको छ भोलि के गर्ने ?

logo
मनोज लामिछाने,
प्रकाशित २०७८ भदौ २४ बिहिबार
melemchi-basi.JPG

मेलम्ची । मेलम्चीको आलो घाउ निको हुन् नपाउँदै पछिल्लो पटक आएको वर्षाले नवलपरासी जिल्ला लगायत देशका अधिकांश भागमा ठुलो धनजनको क्षति हुन पुग्यो । नवलपरासी जिल्ला, धारापानी टोल वडा न २ कि बेसरी माया ठेंगाको परिवार अहिले हुप्सेकोट गाउँपालिकाको श्री जनता मा. बी. बेलुवाको चिसो कोठामा बस्न बाध्य छन् । 

आफ्नो बसिरहेको घरलाई पहिरोले पुरिदिए पछि उनले यो अवस्था भोग्नु पर्‍यो । त्यस्तै वार्ड न ५ टेटेन टोलकी आइती सरा रजाली मगरको परिवारको पिडा पनि उस्तै छ । बर्सो देखि भईखाई आएको घरबारी वर्षाले सोतर पारिदिए पछि उनको यो हालत भएको हो । अहिले श्री जनता मा. बी. को १८ वटा कक्षा कोठामा १८ घरका करिब ७२ जनाको परिवार आफ्नो आगामी दिनको गुजारा कसरी गर्ने भन्ने चिन्ता बिच दिन काटिरहेका छन् । 

आफ्नो घर पहिरोले लगिदियो । कतै ओत लाउने ठाउँ छैन । यी कलिला बालबालिकालाई कुन छहारीमा लगेर राख्ने हो ? दलबले नि गरिबलाई नै पछाउँदो रहेछ । अहिले विद्यालयले आश्रय दिएको छ भोलि के गर्ने ? । हुप्सेकोट वडा न ४, गुरुङ घाटका धन सिङ खाम्चाको पिडा हो यो । हुप्सेकोट गाउँपालिकाको ९४ घरका करिब ४७० परिवारहरू अहिले बेघर भएका छन् । पछिल्लो समय आएको बाढीले हुप्सेकोट वडा न २ मा २ वटा घर, वडा न ४ मा १५, वडा न ५ मा २६ घर र वडा न ६ मा १ घर गरी जम्मा ४४ घर पूर्ण रूपमा क्षति भएको छ भने हुप्सेकोट गाउँपालिकाको नै वडा न २ को १९ घर, वडा न ४ को २५ घर र वडा नम्बर ६ को ६ घर गरी जम्मा ५० घर आंशिक रूपमा क्षति पुगेको छ । आंशिक रूपमा क्षति भए पनि त्यस भेगका अधिकांश भागहरूको जमिन चर्किएको कारण त्यस गाउँमा फेरी गएर बस्न सक्ने अवस्था छैन ।  

वर्षाका कारण भएको क्षतिबारे हुप्सेकोट गाँउपलिकाकी अध्यक्ष लक्ष्मी पाण्डे भन्छिन्, अहिले पछिल्लो पटक आएको बाढीले मेलम्चीको पीडाको झल्को दिएको छ । हुप्सेकोट गाउँपालिकामा विगत ४ वर्षमा भएको विकासका कामहरूलाई पूर्ण रूपमा क्षति गरिदिएको छ । झोलुङ्गे पुल बगाइदिएको छ । जमिनहरू चर्किएका छन् । ३ जनाको ज्यान नै गएको छ । घरहरू भत्किएका छन् । अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाहरूलाई कसरी संरक्षण गर्ने भन्ने चिन्ताले सताएको छ । 

अहिलेसम्म भएको क्षतिको पूर्ण विवरण आउन वाकी छ । अहिले गाउँपालिका र गैर सरकारी संस्थाको केही सहयोगले पीडितलाई केही राहत वितरण गरिएको छ तर यो पर्याप्त छैन । अहिले प्रदेश सरकार, गैर सरकारी संस्थाहरूसँग ९४ घर परिवारको गाँस, बास र कपासका लागि गुहार माग्दै हिँडिरहेकी छु । सरकारले विद्यालय खुलाउने निर्णय गरेको छ । अहिले १८ वटा घरका पीडित परिवारलाई विद्यालयमा राखिएको छ । पीडित परिवारलाई आश्रय दिने ठाउँ छैन । उनीहरूका लागि टिनको पाताले बनाएको सामान्य घर मात्र बनाउन सकिए पनि आगामी दिनमा विद्यालय सञ्चालन गर्न सकिन्थ्यो । अध्यक्ष पाण्डे थप्छिन्, कोरोना भाइरसले सताइरहेको छ । सबै जनताहरूलाई खोप उपलब्ध गराउन सकिएको छैन । अहिले यो विपद् आइलाग्यो । यी जनताको सुरक्षाका लागि सबैसँग गुहार माग्नु बाहेक अरू कुनै उपाय छैन । 

अध्यक्ष पाण्डेको भनाइलाई सापटी लिएर भन्ने हो भने, कोरोना भाइरसले थिलथिलो पारिरहेको बेलामा यो विपत्ति लाग्नु यो वास्तवमा कहाली लाग्दो अवस्था हो । अहिलेको अवस्था हेर्दा पीडित परिवारहरूलाई सुरक्षित स्थानमा दिगो रूपमा नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ । यसका लागि केन्द्र, प्रदेश र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरूको एकीकृत सहयोगको खाँचो छ । अहिले तत्काल पीडितहरूको राहतका लागि खाद्यान्न,औषधि,लत्ताकपडाका साथै महिला, बालबालिकाहरूको स्वास्थ्य जाँच पहिलो प्राथमिकता हो भने बासको दीर्घकालीन व्यवस्था गर्नुपर्ने दोस्रो प्राथमिकता हो । यसतर्फ सबैको ध्यान जाओस् ।    



नयाँ