arrow

विहारसँग पारस्परिक मौसमी विद्युत् आदान-प्रदानको प्रस्ताव

दुई मुलुकबिच विद्युत् कारोबारको कोशेढुंगा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
Nepal-Electricity-Authority.jpeg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको विहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान-प्रदानको प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि विहार स्टेट पावर होर्डिङ कम्पनी लीसँग पारस्परिक मौसमी विद्युत् आदान-प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबिच सन् १९७१ देखि विद्युत् आदान-प्रदान हुँदै आएको छ ।

बर्खाका ६ महिना नेपालबाट विद्युत् विहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदान-प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबिच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ’ घिसिङले भने ।

 ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ,यदि पारस्परिक विद्युत् आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबिच विद्युत् कारोबारको कोशेढुंगा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौँ, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ ।’

घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा विहारलाई दिन सकिने छ । हिउँद याममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा बर्खामा खेर जाने विद्युत्को उच्चतम प्रयोग हुने छ ।

अहिले विहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदान प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर-मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ विहार पावर डिष्ट्रिब्यूसन कम्पनी लिलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालनमा रहेका दुई मुलुकबिच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुने छ ।

बर्खामा उत्पादित विद्युत् आन्तरिक रूपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएको थियो । बुधवार, बिहीबार र शुक्रवार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनले इन्जिनियर राजु महर्जन थिए ।

टोलीले बिहीबार विहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध-निर्देशक सञ्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान-प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको सङ्ख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था,दुई मुलुकबिचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरूसँग विस्तृत छलफल गरेको थियो ।

प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरूसँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा छन् । आयोजनाहरूको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन् । १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरू वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिको लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरू, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारीहरू एवम् नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय, एनटिपिसी विद्युत् व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी)का पदाधिकारीहरूसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भने, ‘यसको नतिजा केही दिनमा आउन सक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ