- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको देशभर रौनक छ । वडा तहदेखि गाउँ नगर, क्षेत्र तथा जिल्लास्तरमा अधिवेशनको सरगर्मी छ । बाजुरामा पनि जिल्ला सभापतिका लागि नेताहरुको दौडधुप बाक्लिएको छ । बाजुरामा मुख्यगरी कबिराज पण्डित र रामसिंह रावलको प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै महां नेपाली, धनराज पण्डित र दिपकबिक्रम शाह सभापतिको रेसमा छन् । उनीहरु यतिबेला गाउँमा कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधि भेटघाटमा ब्यस्त छन् ।
नेपाली कांग्रेस जिल्लाकार्य समिति बाजुराका हालका सभापति कबिराज पण्डितले समाज रुपान्तरणका लागि एक पटक पुनः पार्टी सभापतिमा आफ्नो उम्मेदवारी भएको बताएका छन् । आगामी सातौं जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्वका आकांक्षी बढीरहेको बेला पार्टी सभापति पण्डितले सहमतिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
सभापति पण्डितले शनिबार सदरमुकाम मार्तडीमा पत्रकार भेटघाट कार्यक्रममा उक्त अभिब्यक्ती सार्वजनिक गरेसँगै पुनः सभापतिमै रहेर काम गर्ने इच्छा देखाएका हुन् । जिल्लाका आफ्ना अग्रज नेता देखि कार्यकर्ता सबैको धारणा एकपट दोहोर्याउने सुुझाब आएपछि सातौं जिल्ला अधिबेशनमा पार्टी सभापतिमा सर्बसम्मतिको उम्मेदवार बनेको दाबी गरेका छन् ।
त्यस्तै यसअघि जिल्ला सभापतिमै पराजित रामसिंह रावलले पनि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । रामचन्द्र पौडेल निकट मानिने उनी २०४६ सालमै शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका हुन् । त्रिबेणी नगरपालिकाको नगर प्रमुख समेत रहेका उनी यस पटक जिल्ला सभापतिको कुर्सीमा बसेरै छाड्ने दाबी गर्छन् । यता कांग्रेस केन्द्रीय सदस्य एवम राष्ट्रिय सभा सदस्य बद्री पाण्डेको जिल्ला भएकाले पनि बाजुरामा कांग्रेसको भावी नेतृत्व कस्तो आउने हो भन्ने कुराले विशेष अर्थ राख्ने बुझिएको छ ।
कबिराज पण्डित
बाजुरामा हालका अन्य प्रतिस्पर्धी भन्दा पुराना र अग्रज मानिएका कबिराज पण्डित जिल्ला पार्टीमा पुनः दोहोर्याउने मनसायका साथ कार्यकर्ता भेटघाटमा व्यस्त छन् । शेरवहादुर देउवा निकट मानिने पण्डित २०४३ सालदेखि नेविसंघको राजनीतिबाट राजनीति यात्रा तय गरेका हुन् । काठमाडौं–बाजुरा सम्पर्क समिति कोषाध्यक्ष, २०५१ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०५७ सालदेखि पटक पटक महासमिति तथा महाधिवेसन प्रतिनिधि भएका उनी यस पटक पनि सभापतिका बलिया दाबेदार हुन् ।
छैटौं जिल्ला अधिबेशनबाट जिल्ला सभापति र २०७४को संघीय निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उनी बाजुराको पहिलो अधिबक्ता पनि हुन् । २०४८ सालदेखि नै बाजुराका राजनीति मुद्दाका अधिवक्ता एवम पार्टी सभापति पण्डितले हेर्दै आएका छन् । हालसम्म राज्यको कुनै पनि लाभको पदमा नरहेका उनी विधानतः एकपट सभापतिमा दोहोरिन पाउने व्यवस्था अनुसार सकभर सर्वसम्मत नभए प्रतिस्पर्धाबाट जिल्ला सभापतिमा विजयी हुने दाबी गर्छन् ।
रामसिंह रावल
२०४६ साल शिक्षण पेशा त्यागेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका रामसिंह रावल यस पटक जिल्ला सभापतिका अर्का बलिया दाबेदार हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने उनी २०४९ सालमा कैलाशमाण्डौं गाविस अध्यक्ष, २०५४ सालमा गाविस उपाध्यक्षबाट जिविस सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन् । पार्टीको महाधिवेशन प्रतिनिधि, जिल्ला सचिव, महासमिति सदस्य पनि भइसकेका उनी छैटौं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । २०७४ को स्थानीय निर्वाचनमा त्रिबेणी नगरपालिकाको नगरप्रमुखमा विजयी भएका उनी यस पटक पार्टीको जिल्ला सभापतिमा विजयी भएर पार्टीलाई सुदृढ र शसक्त बनाएर अघि बढ्ने मनसायमा छन् ।
महां नेपाली
२०४६ सालदेखि नेपाली कांग्रेसमा रही २०५४ को स्थानीय निर्वाचनमा निर्बिरोध वडा अध्यक्ष भएका महा नेपाली यस पटक पार्टीको जिल्ला नेतृत्व हत्याउने दौडमा छन् । २०५७ सालमा तरुण दल सदस्य २०६०-०६१मा जिल्ला दलित नेटवर्क अध्यक्ष, २०६२/०६३मा कांग्रेस जिल्ला सदस्य २०६४ सालमा समानुपातिक सभासद, दलित संघ केन्द्रीय सदस्य कांग्रेस विधान मस्यौदा समितिमा समेत रहेर काम गरिसकेकाले स्वभाविक रुपमा आफू जिल्ला सभापतिको उम्मेदवार रहेको बताउँछन् । शेर बहादुर देउवा निकट मानिने उनी अन्ततः देउवा प्यानलबाट एक जना उम्मेदवार रहने बताउँछन् । कांग्रेसको जिल्ला हाँक्न आफू सक्षम र योग्य भएकाले उम्मेदवारी दिने बताउँदै आएका छन् ।
दिपकबिक्रम शाह
कांग्रेसको बाजुर जिल्ला सभापतिका रुपमा खुलस्त प्रकट भइनसकेका दिपक विक्रम शाहले पनि जिल्लाको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले आफू सभापतिको उम्मेदवार भनेर सार्वजनिक रुपमा बताइनसके पनि सामाजिक संजालमा सभापतिको दाबेदार रहेको बताउँदै आएका छन् । पार्टीको जिल्ला सचिब एवम बुढिगंगा नगरपालिकाका नगर प्रमुख भइसकेका उनी विद्यार्थी जीवनबाट सक्रिय राजनीतिमा आएका हुन् ।
धनराज पण्डित
नेविसंघ पूर्वपार्टी सचिव धनराज पण्डित पनि पार्टी सभापतिको बलियो उम्मेदवारको रुपमा आफूलाई उभ्याएका छन् । गाउँका धेरै युवाहरुको प्रतिनिधि पात्रका रुपमा उनले आफूलाई उभ्याएको नेविसंघका बाजुरा अध्यक्ष जनकबहादुर थापा बताउँछन् । युवाहरु धनराज पण्डितको पक्षमा रहेको दावी नेविसंघ अध्यक्ष थापालगायतका युवाको छ । धनराजले यस पटक जिल्लाको नेतृत्व गरेर पार्टीलाई संगठित र सुदृढ बनाउने अभियानमा छन् ।
क्षेत्रीय सभापतिमा को-को ?
एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा क्षेत्रीय सभापतिको उम्मेदवारमा भने अहिलेसम्म कसैले सार्वजनिक गरिसकेका छैनन् । यद्यपी, प्रदेश ‘क’मा रामबहादुर बोहरा र नारायण पाध्याय (तिमिल्सिना)को नाम चर्चामा छ । प्रदेश ‘ख’मा देवबहादुर रोकाया र सुरेन्द्र सिंहको नाम चर्चामा छ । यता कांग्रेस महासमिति सदस्य एवम अग्रज नेता जनकराज गिरी भने आपसी छलफल नगरी नेतृत्वका लागि उम्मेदवारी दिनुको तुक नभएको बताउँछन् ।
क्षेत्रमा सहमति, सहकार्य र उपयुक्त ठाउँमा उपयुक्त ब्यक्तीको उमेदवारी हुनुपर्ने आवाज उठेको छ । त्यसैगरी कांग्रेस महासमिति सदस्य, नेता, संविधान सभा सदस्य एबं पूर्वसांसद देबराज जोशी पनि नेतृत्वको लागि आ-आफुले उम्मेदवारी दिएपनि आपसी सहमति र छलफलका आधारमा साझा धारणा आउने बताउँछन् । बाजुर कांग्रेसको इतिहासमा जिल्लाका शीर्ष नेता जनकराज गिरी र देवराज जोशी लगायतका नेताहरुले एकआपसमा सहमति गराएर सफलता हासिल गरेकाले यस पटक पनि सर्वसम्मतीमै नेतृत्व चयन हुनुपर्ने आवाज उठेको छ ।