- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,‘भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन।’ करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन्। यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्त्व पुग्दैन भने कुरा भन्छन्। यो गलत तथ्य हो। औषधिमा दिने कमिसनका कारण नचाहिने औषधि दिने, बढीभन्दा बढी औषधि दिने प्रवृत्ति अहिले जताततै फस्टाउँदै गएको छ।
उदाहरणका लागि कसैलाई लामो समय हिँड्दा थकाइ लाग्छ, खुट्टा दुख्छ र त्यो दुखाइ र थकाइ पानी खाएपछि, खुट्टामा मालिस गरेपछि वा आराम गरेपछि आफैं ठीक हुन्छ। तर, कतिजना त्यो दुखाइ मानौं कुनै रोग हो भन्ने ठानेर दुखाइ कम गर्ने औषधि खाइहाल्छन्। लामो हिंड्दा पसिना आएपछि र गलेपछि शरीरबाट पसिना बग्दा पानी जाने भएकाले कमजोरी अनुभव हुँदा पनि हामीलाई हत्तनपत्त कुनै औषधि पसलमा गएर भिटामिनको सिसी वा ग्लुकोज किनेर खानुपर्छ भन्ने लाग्छ।
यसरी भिटामिन वा ग्लुकोज किनेर खाँदा तागत आयो भन्ने ठानिन्छ। तर, हामीहरूमध्ये कतिलाई थाहा छ कि थकाइ लाग्दा आराम गरेरर एक गिलास पानीमा अलिकता नुन, चिनी र कागती हालेर खाइयो भने थकाइ कम हुन्छ ? यस हिसाबले आवश्यकताबिनै हामीले भिटामिन वा अन्य औषधिको प्रयोग गरिरहेका हुन्छौं। कतिचोटी स्वास्थ्य शिविरमा जाँदा स्वास्थ्य जाँच गराउन आएका महिलाहरूलाई केही औषधि दिइयो भने उनीहरू भिटामिन पनि दिनुस् न भन्छन्।
तपाईंहरूलाई भिटामिन चाहिँदैन घरमा भएको दाल, भात, रोटी, हरियो तरकारी खानुस्, त्यही हो भिटामिन भन्दा कतिजना बिरामी साह्रै असन्तुष्ट हुने गर्छन्। यो भिटामिन दिने हेल्थवर्कर कै प्रवृत्तिका कारण पनि बिरामीमा त्यस्तो मनोविज्ञान देखिएको हो। यस हिसाबले बिरामीहरूको दोष छैन। भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका परिवारले चाहिँ पक्कै पनि यस्ता भिटामिनका झोल खाँदैनन्। किनभने, उनीहरूलाई पनि थाहा हुन्छ कि यसको त्यति धेरै आवश्यकता छैन भन्ने कुरा। तर, अन्य मानिसलाई बेच्दा उनीहरूको अर्थतन्त्र बढ्छ। त्यति मात्र होइन, तुलनात्मक धेरै कमिसन पनि यस्तै भिटामिनहरूमा दिने गरिन्छ।
नेपाल र भारतमा जुनसुकै औषधि पसलमा जाँदा राम्रोसँग सजाइएको विभिन्न किसिमका भिटामिनका सिसी देखिन्छन्। त्यसैगरी भोक बढाउने, खाना पचाउने अनेक किसिमका औषधि सजाइएका हुन्छन् जुन आवश्यक नभए पनि हामी किनिरहेका हुन्छौं। तर, भिटामिनले भरिपूर्ण भएको पौष्टिक खाना ज्वानोको झोल, तरुल, आलु, पालुंगो भने पर्याप्त खाँदैनौं ।
आइरन चक्की र भिटामिन बी का चक्कीको सट्टा दाल, भात, गन्द्रुक, मकै, चनाबाटै त्यो प्राप्त गर्न सकिन्छ। भोजन नै औषधि हो भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन। क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ। ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो। एक चियाचम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ। ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो। ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई फाइदा पुर्याउँछ।
(डा.उप्रेतीको फेसबुकबाट साभार)