arrow

बाँके कांग्रेस सभापतिमा १० जनाबीच रस्साकस्सीः तात्यो अधिवेशनको माहोल

सुशील कोइरालाको अभिभावकीय भूमिकाको अभाव 

logo
सौरभ गिरी
प्रकाशित २०७८ भदौ २९ मंगलबार
banke-congress.jpg

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत देशभरका जिल्लाहरुमा अधिवेशनको रौनक छाएको छ। कोरोना महामारी र बाढी पहिरोको जोखिम मोलेरै नेता कार्यकर्ताहरुले गाउँ गाउँमा अधिवेशनको माहोल तताएका छन्। क्रियाशील सदस्यता विवाद साथै आन्तरिक कलहका कारण कतिपय जिल्लामा वडा अधिवेशन नै हुन सकिरहेको छैन्। यद्यपी, ७७ वटै जिल्लामा कांग्रेसको माहोल भने तातेको छ।

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको विरासत बोकेको जिल्ला बाँकेमा पनि महाधिवेशनको रौनक छाएको छ। क्रियाशील सदस्यता विवादका कारण वडा अधिवशन हुन नसकेपनि जिल्लामा नेतृत्वका आकांक्षीहरुले भेटघाटलाई ब्यस्त बनाएका छन्। सुशील कोइरालाको जिल्ला भएकाले पनि बाँके कांग्रेसमा कस्तो नेतृत्व आउने हो भन्ने कुरालाई महत्वका साथ हेरिएको छ।

केन्द्रीय स्तरका नेताहरुले पनि बाँकेमा कांग्रेसको नेतृत्व कसको हातमा जान्छ भन्ने कुरालाई चासो दिइरहेका छन्। त्यति मात्र नभइ जिल्ला सदरमुकाम नेपालगन्ज साविकको मध्य र सुदुरपश्चिमको ‘ट्रान्जिट’ भएकाले पनि बाँकेलाई चासोका साथ हेरिएको छ। तीन वटा निर्वाचन क्षेत्र, उपमहानगरपालिका समेत रहेकाले पनि बांके सबैको नजरमा परेको छ। विशेष गरेर बाँके सभापतिका लागि बादशाह कुर्मी, राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह, सुरेन्द्रबहादुर हमाल, नारायणप्रसाद गौडेल, तप्त पौडेल, किरण कोइराला ,सुनिलनरसिंह राणा, ज्ञानु केसीको नाम चर्चामा छ । उनीहरु सभापतिमा उम्मेदवारी दिने भन्दै कार्यकर्ता भेटघाटमा ब्यस्त छन् ।

अहिले अघिल्लो अधिवेशनमा प्रतिस्पर्धा गरिसकेका तीन जनासंगै अन्यको पनि कांग्रेस बृत्तमा चर्चा छ। कति त आन्तरिक तयारीमा जुटिसकेका पनि छन्। अघिल्लो प्रतिस्पर्धामा उत्रेका सिजापति, गौडेल र शाहले यस पटक पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्। उनीहरु फेरि लड्ने ‘मुड’मा छन्। यी बाहेक १२औं महाधिवेशनमा पूर्वसभापति स्वर्गीय अरुण कोइरालासंग प्रतिस्पर्धा गरेका राजकुमार बर्माको पनि चर्चा छ। पार्टी जिल्ला सचिव युवा नेता तप्त पौडेललाई पनि सभापतिका सशक्त दाबेदारका रुपमा हेरिएको छ। अहिलेका जिल्ला कार्यसमितिका उपसभापति सुनिलनरसिंह राणा पनि सभापतिमा उठ्ने चर्चा छ। पुर्व सांसद ज्ञानु केसी पनि लड्ने ‘मुड’मा छन्

संविधानसभा सदस्य बादशाह कुर्मी पनि उम्मदेवार बन्ने चर्चा छ। वर्तमान सभापति कोइराला पनि ‘रिपिट’ गर्ने मनसायमा छन्। तर, त्यो सम्भावना निकै कम रहेको कांग्रेस नेताहरु बताउँछन्। त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालको पनि नाम चर्चामा रहेको छ। यद्यपि औपचारिकरुपमा कसैले पनि मुख खोलेका छैनन् । सबै ‘पर्ख र हेर’को रणनीतिमा देखिन्छन्।

यी मध्ये को नेता केन्द्रमा कुन समूहमा नजिक छ भन्ने कुराले अन्तिम उम्मेदवारी निर्धारण हुने स्थानीय नेताहरु बताउँछन् । सुशील कोइराला जिवितै रहँदा बाँकेको राजनीतिमा उनको निर्णयलाई ‘क्रस’ गर्ने विरलै भेटिन्थे । असन्तुष्टि भएपनि हत्तपत्त विमति जनाइहाल्ने अवस्था थिएन। तर, अहिले अभिभावकीय भूमिकाको अभाव हुँदा कसैले कसैलालाई नटेर्ने अवस्था छ। यद्यपि केन्द्रको आफ्नो टीमको समर्थन जसले पाउँछ उसले नै प्रतिष्पर्धा गर्ने सम्भावना बढी रहन्छ।

अहिले चर्चामा रहेका नाम मध्ये कुर्मी, बर्मा, सिजापति र शाह र हमाल देउवा निकट हुन् भने पौडेल, राणा, गौडेल र केसी संस्थापन इतरका नेता हुन् । सभापति देउवा पक्षीय उम्मेदवार बढी भएका कारण बाँकेमा देउवा पक्षलाई उम्मेदवार टुंग्याउन सकस हुने देखिन्छ । तर, संस्थापन इतर समूहमा भने कम दावेदारी देखिएको छ ।

बाँकेमा ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा अहिलेसम्म क्षेत्रीय सभापतिमा संस्थापन इतरका  पोषण केसी र देउवा निकटका माधब राम खत्रीको नाम चर्चामा छ भने क्षेत्र नम्बर २ मा बिरेन्द्र बहादुर शाह, उमा थापा मगर, रमेश गुप्ता, सुदिप राणा र राजकुमार साह चर्चामा छन् । शाह, राणा र गुप्ता देउवा निकट हुन भने थापा मगर र  साह संस्थापन इतरका हुन् । क्षेत्र नम्बर ३ मा भने संस्थापन इतरका प्रकाश शाह र देउवा निकट नक्की खाँको नाम चर्चामा  रहेको कांग्रेस नेताहरु बताउँछन् ।

त्यस्तै नेपालगन्ज नगर  सभापतिमा देउवा निकटका  बर्तमान सभापति प्रशान्त बिष्ट र बिनोद रिजालको चर्चा भएपनि  संस्थापन इतर समूहबाट कसैको नाम बाहिर आएको छैन् ।  थापा मगर  क्षेत्र नम्बर २ मा  क्षेत्रीय सभापतिमा सहमति नभएमा नगर सभापति मै भिडने  संस्थापन इतर समूहका नेताहरु बताउँछन् ।

थापा मगर नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख हुन् । त्यस्तै कोहलपुर नगर सभापतिमा  टेक नारायण भुसाल, बिरेन्द्र कुमार शाह, राजेन्द्र श्रेष्ठ ,भुम भण्डारीको नाम आएको छ। भुसाल र शाह  संस्थापन इतरका हुन्  भने श्रेष्ठ देउवा निकट रहदै आएका छन् । भण्डारी भने आफू कुनै पक्षको नभइ स्वतन्त्र कांग्रेस रहेको बताउँछन् ।

यस पटकको अधिवेशनबाट जिल्ला र क्षेत्रको नेतृत्वमा जोसुकै आएपनि आफ्नै पार्टीभित्रको हुने भएकाले अधिवेशनमा आ–आफ्नो गुटबिच चुनावी मैदानमा होमिने भएपनि जसले जितेपनि पार्टीलाई मजबुत र समृद्ध बनाउनतर्फ लाग्नुपर्ने बाँके कांग्रेस नेताहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ