arrow

प्रहरीले अवैध भारतीय रकम बरामद गरी अभियुक्तलाई साक्षी जमानीमा छोडेपछि

logo
नारायण वली,
प्रकाशित २०८१ कार्तिक १० शनिबार
sreaj-gedal.jpg

लुम्बिनी । गत असोज २३ गते नेपालगन्ज बसपार्क क्षेत्रबाट बरामद गरिएको अवैध भारतीय पाँच लाख रुपैयाँको घटना प्रहरीमा नै लामो समय गोप्य राखिएपछि रहस्य बाहिरिएको छ ।

घटनामा संलग्न भएका अभियुक्तहरुलाई बाँके प्रहरीले पक्राउ गरे पनि सुटुक्क हाजिरी जमानीमा छोडेको र १६ दिनसम्म पनि फौजदारीजन्य घटना रहस्यमय बनेपछि प्रहरीमाथि आशंका पैदा भएको हो ।

अवैध भारतीय नोटसहित पक्राउ परेका नेपालगन्ज उपमहानगरपालिका वडा-१६ जैसपुरका सेराज जोलाद र नासिर सैयदलाई जिल्ला प्रहरी कार्यालय बाँकेले हाजिरी जमानीमा छोडेर बरामद गरिएको भारतीय नोटलाई सम्बन्धित राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने भए पनि अभियुक्तहरुलाई जमानीमा छोडेर प्रहरी चुपचाप बसेपछि सरोकारवाला निकायहरुले यसलाई अर्थपूर्ण रुपमा हेरेका छन् ।

अवैध भारतीय नोटमा संलग्न भएका दुई अभियुक्तलाई पक्राउ पश्चात् जमानीमा छोडेर लामोसमय बितिसक्दा समेत कानुनी कट्घरामा नउभ्याउँदा प्रहरीको कामकारबाहीमा केही रहस्य लुकेको हुनुपर्ने स्रोतले बताएको छ ।

स्रोतका अनुसार प्रहरीले नोटसम्बन्धी मुद्धामा कारबाही गर्नुपर्ने स्पष्ट कानुन हुँदा पनि संलग्न भएका अभियुक्तलाई हाजिरी जमानीमा छोडेर बरामद गरिएको नोटलाई सम्बन्धित निकायमा नबुझाउनुमा केही रहस्य लुकेको होकी भन्ने शंका हो ।

जबकि सामान्य घर झगडामा पक्राउ परेकालाई साक्षी हाजिरी जमानीमा छोड्न सकिने तर फौजदारी कसूर गरेकालाई सजिलै छाड्न सकिने प्रावधान छैन ।

प्रहरीले अभियुक्तहरुलाई छोडेर उक्त बरामद रकम अपचलन गर्ने मनसाय थियो । तर मिडियाबाट आएको एक कल फोनले फरार रहेका अभियुक्त सेराज जोलादकी श्रीमतीलाई बुधबार नै घरबाट पक्राउ गरी हिरासतमा राखेपछि बिहीबारमात्रै जोलादले इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका छन् । 

अझै फरार रहेका नासिर सयदलाई प्रहरीले खोजीकार्य अगाडि बढाएको बताइएको छ । नेपालगन्जमा यसअघि सशस्त्र प्रहरीले २० लाख रकमसहित सेराजलाई समातेको थियो । हुन्डी कारोबारमा संलग्न रहेका दुई अभियुक्त अवैध नोट कारोबारीमा कुख्यात मानिने स्रोतको दाबी छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्कीले दशैं विदाले गर्दा राजस्व अनुसन्धान कार्यालय बन्द भएकाले बुझाउन नसकेपछि म्याद थपेर राख्न पनि अदालत बन्द भएकाले बरामद नोटलाई प्रहरीले सुरक्षित राखेर पक्राउ परेकाहरुलाई साक्षी जमानीमा छोडेका बताए । उनले थपे- उनीहरु कामले भारत गएको बुझिएको छ,  केही ढिला भएको हो, प्रहरीले यो घटनामा कुनै शंकास्पद कार्य गरेको छैन । 

तर प्रहरी प्रमुखकै भनाईलाई विश्वास मान्ने हो भने दशैं भित्रिएपनि २३ गतेसम्म कुनैपनि सरकारी कार्यालय बन्द गरिएका थिएनन् ।  अवैध नोट समातेको घटनालाई स्थानीय कुनैपनि सञ्चारमाध्यमलाई जानकारी नगराएर गुमनाम बसेको प्रहरीलाई अहिले छाडिएका अभियुक्तहरुलाई ल्याउन टाउको दुखाइ भएको छ  । 

जिप्रका बाँकेका मुद्धा फाँटका इन्स्पेक्टर नवीन चापागाँईले अभियुक्तहरु आउने विश्वास ब्यक्त गर्दै फरार भएमा साक्षी जमानीलाई कारबाही गरिने बताए । उनले भने- त्यो बेला कार्यालयहरु बन्द भएकाले म्याद थप नगरी हिरासतमा राख्दा बन्दीप्रत्यक्षीकरण पर्न सक्ने भएकाले हामीले जमानीमा छाडेका हौँ । यदि उनिहरु नआए जमानी बसेकालाई ल्याएर कारबाही थाल्छौँ । 

यता एक कानून व्यवसायीका अनुसार अवैध नोट कारोबारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर साक्षी जमानीमा छाड्न नमिल्ने बताएका छन् । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख उमेश रिमालले शुरुमा बोल्न अस्विकार गरेपनि पछि यो विषयमा बाँके प्रहरी प्रमुखसँग टसल परेको बताए । उनले नियम र नीतिमा रहेर कर्तव्य पालना गर्दा आफुसँग चिढिएको हाम्रा कुरासँग बताए ।

प्रहरीले फरार रहेका सेराज जोलादलाई शुक्रबार राजस्व अनुसन्धान कार्यालयमा पेश गरेको छ भने नासिर सैयदलाई भने अझै नियन्त्रणमा लिन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ