arrow

दिनहुँ जसो सडकमा बाघ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
tiger1.jpg

राँझा । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया-कुसुम सडक खण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटे बाघ दिनहुँ जसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका-१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।

उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । 

गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर दुई पाटे बाघले खाएका थिए । मान्छे खानु दुई दिनअघिदेखि नै गाभर सडकको वरपर दुई बाघ घुमिरहेको पाइएको स्थानीयवासी कुमार खड्काले बताए ।

सोमबार छ पटकसम्म राजमार्गको वरपर देखा परेका ती दुई वटै बाघ मङ्गलवार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखा परेको खड्काले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठुलो सङ्ख्यामा सेना परिचालन गरिएको जानकारी दिए ।

ती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए । अधिकृत साहका अनुसार बाघलाई नियन्त्रणमा लिन निकुञ्जबाट प्राविधिक टोली पनि आइसकेको छ । अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक वासस्थानतिर धपाउने काम भइरहेको छ । मान्छे खाएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ ।

आइतबार गाभरमा अन्दाजी ४५ वर्षीय एक पुरुषलाई बाघले खाएपछि यति बेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ । राजमार्गमै बाघको आतङ्क फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ